काठमाडौं: कमला र सुरज (नाम परिवर्तन) विवाह भएको पाँच वर्षपछि पहिलो सन्तानको अपेक्षामा थिए। लामो प्रयासपछि कमला गर्भवती भइन् । परिवारमा खुसीयाली छायो। तर गर्भावस्थाको दोस्रो त्रैमासिकमा अचानक जटिलता आयो। दुर्भाग्यवश उनले आफ्नो बच्चा गुमाइन्। सिंगो परिवार नै दुःखी भयो। उनले परिवारको सान्तवना पनि पाइन्।
कही समयपछि कमला दोस्रो पटक गर्भवती भइन् । त्यसपछि पनि केही महिना नबित्दै गर्भपात भयो। दुईपटक बच्चा गुमाइसकेपछि उनले तेस्रो सन्तान जन्माउन हिम्मत गर्न सकिनन् । उनलाई स्वस्थ्य बच्चा जन्माउन सकिएला भन्ने आत्मविश्वास रहेन।
‘मैले अरुलाई नदेखाए पनि मन यति भारी भयो की रातमा निद्रा थिएन, दिन बोझिलो भान हुन्थ्यो’ कमला सुनाउँछिन्, ‘अरूका बच्चा जन्मिएको पोस्टहरू सामाजिक सञ्जालमा देख्दा एक्लो र अपूरो महसुस गर्थें।’ त्यो समय घरबाहिर निस्कनसमेत डर लाग्ने गरेको अनुभव छ कमलासँग ।
उनका श्रीमान् सुरज पनि यस घटनाबाट अति दुःखी थिए । बाहिरबाट सामान्य देखिने प्रयास गरेपनि भित्रभित्रै तनावमा थिए। बच्चा गुमाएको पीडाले उनीहरूको वैवाहिक जीवनमा पनि असर ग-यो । संवाद कम हुन थाल्यो, आत्मीयता घट्दैंं गयो।
पीड़ा नपोखर मनभित्र गुम्स्याउँदा–गुम्स्याउँदै उनी डिप्रेसनले ग्रस्त भइन् । सन्तान वियोगको आघातको चपेटामा परिन ।
कमला त एक उदारहण मात्र हो। कमलाको जस्तो अनुभव हजारौं दम्पतीहरूले भोगिरहेका छन् । घरपरिवार र समाजमा यस्ता विषयमा खुल्ला रुपमा कुरा गर्न नसक्दा धेरै महिला मानसिक रोगको शिकार भइरहेका छन्।
यो पनि एक स्वास्थ्य समस्या हो, यसबाट उम्किन उपचार र मद्दत चाहिन्छ भन्ने जानकारी धेरैलाई नहुने मनोविद डा.करुणा कुँवर बताउँछिन् ।
यो कस्तो किसिमको आघात हो ? भन्ने प्रश्नमा मनोचिकित्सक डा.कुँवर भन्छिन्, ‘गर्भधारणमा समस्या, सन्तान जन्म, वा प्रजनन प्रक्रियासँग सम्बन्धित गहिरो मानसिक तथा भावनात्मक पीडा नै रिप्रोडक्टिभ ट्रमा वा मातृत्व सम्बन्धि आघात हो।’
उनका अनुसार गर्भधारणपछि बच्चा गुमाउँदा उत्पन्न हुने भावनात्मक र मानसिक आघात मात्र होइन । बच्चा जन्माउने प्रयास गरिरहँदा पटक–पटक असफल हुँदा गहिरो तनाव हुन्छ । बच्चाको जटिल अवस्थामा जन्म हुँदा वा आईभीएफबाट उपचार गर्दा पनि सफल नहुँदा यस खालको तनाव हुनसक्छ।
गर्भावस्थापछि प्रसव पीडाको डर वा बच्चा जन्माउन मन छ तर परिवारले गर्भपतन गराउन जोड दिइरहेको खण्डमा महिलाले यस्तो किसिमको आघातको शिकार हुने डा.कुँवर बताउँछिन् ।
प्रजनन आघातले महिलाहरूलाई मात्र नभई पुरुषहरूलाई पनि असर गर्ने डा.कुँवरको भनाइ छ। ‘श्रीमानले पनि श्रीमतीको पीडा महसुस गर्छन्, बच्चाको अपेक्षासँग जोडिएको सपना गुमाउनु पर्दा उनीहरूमा पनि तनाव, निराशा र सामाजिक दबाब बढ्न सक्छ’ उनी भन्छिन्।
प्रजनन आघातको मनोवैज्ञानिक प्रभाव
प्रजनन आघातको असर लामो समयसम्म रहन सक्छ। यो अवधिमा धेरै किसिमका मनोवैज्ञानिक प्रभाव देखिन सक्ने डा.कुँवरले बताइन् ।
उदाहरण दिँदै उनी भन्छिन्, ‘नेपाली समाजमा विवाह गरे लगत्तै ‘बच्चा कहिले जन्माउने?’ भन्ने बारम्बार सोधिने प्रश्नले महिलाहरूलाई मानसिक दबाब दिने प्रमुख कारण हो । अनेक प्रयास गर्दा पनि गर्भवती हुन नसक्दा महिलाहरूमा आत्मग्लानि बढ्न सक्छ।’
एकपटक गर्भपात भएपछि महिलामा फेरि गर्भवती हुँदा पनि उही घटना दोहोरिने होकि भन्ने डरले पनि महिला मानसिक तनावमा पर्न सक्ने उनी बताउँछिन् ।
एक अध्ययनअनुसार गर्भपतन वा मृतजन्म भोगेका ४५ प्रतिशत महिलामा आघातका लक्षण देखाएको थियो।
‘यही समय हो श्रीमतीलाई बढी सम्झाउने र साथ दिने’ डा.कुँवर भन्छिन्, ‘साथ दिँदा यसबाट बाहिर निस्कन सक्छन् । तर, उल्टो श्रीमान–श्रीमतीबीच संवाद कम भई अन्तरंग सम्बन्धमा रुखोपन आउन थालेमा महिला विक्षिप्त हुन सक्छन् ।’
आघातले मानसिक स्वास्थ्य बिगार्नमा यस्ता चोट पनि एक हुने देखिएको डा. कुँवर सुनाउँछिन् ।
कस्ता लक्षण देखिन्छ ?
– गहिरो दुःख, निराशा वा डिप्रेसन
-आत्मग्लानि वा अपराधबोध
– रिस, झर्को लाग्ने, वा समाजबाट टाढिन खोज्ने
-अनिद्रा वा अत्यधिक निद्रा
– भोक हराउने वा अनावश्यक रूपमा धेरै खाने
-टाउको दुख्ने, ढाड दुख्ने, वा पेटसम्बन्धि समस्या
-सामाजिक कार्यक्रममा भाग लिन नचाहने
-बच्चा भएका साथी वा परिवारसँग टाढा बस्ने
-सम्बन्धमा उतारचढाव बढ्नु
यदि यी लक्षणहरू दुई हप्ता भन्दा बढी देखिन्छन् भने विशेषज्ञको परामर्श डा. कुँवरको सुझाव छ ।
नेशनल मेडिसिन अफ साइन्स अन्तर्रराष्ट्रिय जनरलमा प्रकाशित एक अध्ययनअनुसार यस्तो आघातले कतिपय अवस्थामा महिलामा ‘पोस्ट टर्माटिक डिसअर्डर’ पनि गराउँछ । कतिपय डिप्रेसन र पोस्ट ट्रमाटिक डिसअर्डर भएको महिलाको पृष्ठभूमि बुझ्दा अधिकांश निःसन्तानपन वा गर्भपातजस्ता समस्याबीच जुधिरहेको पाइन्छ ।
मातृत्व सम्बन्धि आघात कम चर्चामा आएको तर गम्भीर स्वास्थ्य समस्या बनिरहेको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी बताउँछन् ।
‘अस्पतालमा सन्तान वियोग वा प्रजनन् सम्बन्धि आघातले मानसिक रुपमा विक्षिप्त भएका महिलाहरू आइरहेका हुन्छन्’ डा.सुवेदी भन्छन्, ‘अधिकांशलाई हेर्दा वा बुझ्दा न त उसलाई के समस्या भइरहेको थाहा हुन्छ, न अरुले बुझ्न सक्छन्।’
यस्तो समस्यामा उनीहरूलाई औषधि उपचार भन्दा पनि परामर्श र हेरचाहको खाँचो रहेको डा.सुवेदीको भनाइ छ । यस्ता आघातलाई मनमा लिइरहेका महिलालाई बेलैमा साथ नदिई वेवास्ता गर्दा मानसिक अवस्था बिग्रिदै जाने उनी बताउँछन् ।
सन्तान भइरहेको छैन भने के कारणले भइरहेको छैन ? के छ उपचार भनेर पहिल्याउन घरका अन्य सदस्य पनि लागि पर्नुपर्ने उनको भनाइ छ ।
‘अस्पतालमा आउँदा प्रजनन् समस्याले सन्तान भइरहेको छैन भने आईभीएफजस्ता विकल्प दिने वा गर्भपात पटक–पटक भइरहेको छ भने त्यसको कारण पत्ता लगाई उपचार गर्ने गरिन्छ’ डा. सुवेदी भन्छन्, तर प्राय गाम्रिण भेगका महिलालाई यस्ता समस्या पार लाग्छ भन्नेसम्म हेक्का नहुनु दुःखद् छ ।’
आघातबाट कसरी बाहिरिने ? चिकित्सकको यस्तो सुझाव
-यी आघातबाट बाहिरिन वा आघातको रुप लिन नदिन प्रजनन् सम्बन्धि सही जानकारी हुन आवश्यक छ । सही जानकारीले समस्याको पहिचान छिटो र उपचार हुन पाउँछ ।
-गर्भावस्था सम्बन्धि जटिलता आएमा मनमै गुम्स्याउनुको सट्टा राम्रो विशेषज्ञसँग परामर्श लिन सकिन्छ।
-जीवनसाथी वा मन मिल्ने साथीभाइसँग मनको कुरा पोख्ने । यसले मनलाई हल्का गराउँछ । आघातले विकाराल रुप लिन पाउँदैन।
-आघातबाट गुज्रिरहेको अवस्थाले सताइरन सक्छ। यस्तोमा चिकित्सक वा परामर्शदातालाई भेट्न सकिन्छ ।
-निःसन्तान सम्बन्धि समस्या हटाउन चिकित्सकसँग मद्दत लिन सकिन्छ।
-परिवारले पनि दोष महिलालाई मात्र दिने होइन। भावनात्मक साथ र सहयोग गर्नु आवश्यक छ । व्यवहारमा परिवर्तन वा गुमसुम बसेको देखे सम्झाउने । पीडा भुल्न मद्दत गर्ने गर्नुपर्छ।
-कतिपय महिलालाई यस्तो आघातबाट निकाल्न यो पीडाबाट गुज्रिने एक्लो व्यक्ति होइन भनेर सम्झाउन पर्ने हुनसक्छ।