नेपालगन्जः भेरी अस्पताल विकास समिति कर्मचारी युनियनले विदाको दिनमा आएर काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन भत्ताको व्यवस्थापन गर्न माग गरेको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै युनियनले विदाका दिनमा आएर सेवा दिएका कर्मचारीहरुलाई एक दिन बराबरको तलव भत्रा दिने व्यवस्था गर्न माग गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौैैं ५ गते संघीय अस्पतालहरुलाई पत्र लेख्दै सार्वजनिक विदाका दिनमा पनि सामान्य दिनमा सरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु गर्न भनेको थियो । सोही अनुरुप आज भेरी अस्पालको सेवा पनि नियमित रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदी बताउँछन् ।
कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदी र सचिव नहकुल थापाद्धारा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ–‘विदाको दिनमा आएवाफत सट्टा विदा दिने भनियो । त्यो जुन व्यवहारिक छैन । स्वास्थ्य संस्था जस्तो संवेदनशील स्थानमा नियमित कर्मचारीहरु विदा बसिदिएमा एउटा पुरै विभागको सम्पूर्ण सेवा वन्द हुने अवस्था आउन सक्दछ । तसर्थ यो समस्या समाधान भनेको बिदाको दिनमा आएर सेवा दिएका कर्मचारीलाई एक दिन बराबरको तलवभत्ता दिने वा एकमुष्ठ वर्षभरीको एक महिनाको तलवभत्ता बराबर दिने व्यवस्था गरियोस् ।’ यसो गर्दा कर्मचारीहरुलाई पनि मार नपर्ने र सेवाग्राहीले पनि नियमित सेवा पाउने युनियनको भनाइ छ ।