कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूमा जनशक्तिको अभाव

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०८१, मंगलवार

सुर्खेतः कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूमा जनशक्तिको अभाव देखिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पारेको रिपोर्ट अनुसार स्वास्थ्य सेवा ऐनमा गरिएको व्यवस्था कार्यान्वयनका लागि कर्णालीमा स्वास्थ्य जनशक्ति अपुग रहेको उल्लेख गरेको छ । अहिले प्रदेशमा स्वास्थ्यसँग सम्बन्धित स्थायी कर्मचारीको दरबन्दी जम्मा ९०९ जनाको छ । उक्त दरबन्दीमध्ये ३२७ जनामात्र स्थायी पूर्ति भएको मन्त्रालयले जनाएको छ ।

स्थायी दरबन्दी खाली रहेको स्थानमा करारको माध्यमबाट पूर्ति गरिएको मन्त्रालयले प्रस्ट पारेको छ । करार तथा अस्पताल विकास समितिबाट भर्ना गर्दा पनि स्वास्थ्य संस्थाहरूले दरबन्दी अनुसार कर्मचारी पाउन सकेका छैनन् । मन्त्रालयको तथ्याङ्क अनुुसार करार र अस्पताल विकास समितिका तर्फबाट गरी ८१८ जना पूर्ति गरिएको छ तर प्रदेशको स्वास्थ्य ऐनमा व्यवस्था भए अनुरूपको जनशक्ति छैन । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, ०७८ ले कर्णाली प्रदेशमा कम्तीमा एउटा वडामा एउटा स्वास्थ्य संस्था हुनुपर्ने व्यवस्था गरेको छ । मन्त्रालयका अनुसार प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने संस्था जम्मा ८९२ वटा छन् ।

प्रदेशका कुनै पनि स्वास्थ्य संस्थाले पूर्ण रूपमा दरबन्दी अनुसार जनशक्ति पाउन नसकेको प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । प्रदेशको सबैभन्दा ठुलो प्रदेश अस्पतालमै स्वीकृत दरबन्दी अनुसार जनशक्ति छैन । ३२५ दरबन्दी रहेको प्रदेश अस्पतालमा स्थायी कर्मचारीको संख्या जम्मा १६३ मात्रै छ ।

मन्त्री भण्डारीले औँल्याए दरबन्दी पूर्ति नहुनुका ९ कारण

१.मानव स्रोत साधनको कमी तथा अति दुर्गम भएको कारणले धेरै कर्मचारी प्रदेश राजधानीमा नै बस्न चाहनु ।

२.तालिमप्राप्त जनशक्ति लामो समयसम्म विभिन्न कारण (जस्तै सरूवा, राजीनामा आदि) ले प्रदेशमा नरहनु ।

३. नयाँ अवसरको खोजीमा जनशक्ति पलायन हुनु ।

४. लोक सेवा आयोगले नयाँ दरबन्दी अनुरूप पदपूर्ति नगर्नु ।

५. जनशक्ति व्यवस्थापन गर्दा कर्मचारीको योग्यता, दक्षता अनुरूप नगरिनु ।

६. ऐनमा कर्मचारीको नियुक्ति प्रक्रियाबारे स्पष्ट नहुनु ।

७. दण्ड सजाय तथा पुरस्कारको उचित व्यवस्था नहुनु ।

८.कर्मचारीलाई के–कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा बढी अधिकार संघीय सरकारमा हुनु ।

९. कानुन कार्यान्वयन गर्ने निकाय, अधिकारी तथा पदाधिकारीले कानुनको पालना उपयुक्त तवरले नगर्नु ।

  • १३ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech