अपाङ्गता भएका बालबालिका लक्षित घुम्ती शिविर

    • स्वास्थ्य पेज

  • १२ फाल्गुन २०८१, सोमबार

नेपालगन्जः शारीरिक अपाङ्गता पहिचान तथा सहायक सामाग्री वितरणका लागि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.१ मा नापजाँच तथा वितरण मिनि घुम्ती शिविर गरिएको छ । राप्तीसोनारी गाउँपालिका र विकलाङ्ग मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा, प्रदेश पुनःस्थापना केन्द्र कोहलपुर नगरपालिका–१५ अकलघरुवाको आयोजना र राप्तीसोनारी गाउँपालिका वडा नं.१ को वडा कार्यालयको समन्वयमा शिविर गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दर्लामीले जानकारी दिइन् ।

शारीरिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त शिविरमा ३२ जनाले सेवा लिएका थिए । त्यसक्रममा २४ जनाले फिजियोथेरापी सेवा लिए । ३ जनालाई अर्थोपेडिक सहायक सामाग्रीका लागि नापजाँच गरिएको छ । उनीहरुलाई कृत्रिम अंग प्रदान गरिनेछ । शिविर उद्घाटनलाई सम्वोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले अपाङ्गता भएका बालबालिकाहरुको सहज जीवनयापनका लागि उक्त शिविर आयोजना गरिएको बताइन् ।

उनले कैयौं अपाङ्गता भएका बालबालिकाहरु अझै पनि कष्टपूर्ण जीवनयापन गरिरहेको उल्लेख गर्दै थोरै सहयोग गरे उनीहरुको जीवनयापनलाई सहज बनाउन सकिने बताइन् । बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले अपाङ्गता भएका बालबालिकाहरुको अवस्था पहिचान गरी उनीहरुको सहज जीवनयापनका लागि आवश्यक पर्ने सहयोग उपलब्ध गराउने भएकाले शिविर महत्वपूर्ण भएको उनको भनाइ छ ।

यस्तै वडा अध्यक्ष यमबहादुर खड्काले पनि वडामा रहेका अपाङ्गता भएका बालबालिकाहरुलाई शिविर उपयोगी भएको बताए । शिविरमा जन्मजात वा पछि खुट्टाको पैतला भित्र वा बाहिर फर्केको, आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, खुट्टा लुलो वा कमजोर भएको, भाँच्चिएको, बांगो भएको वा हड्डी नजोडिएको, शरीरका विभिन्न जोर्नीहरु दुख्ने, सुन्निने, बांगो भएको वा खुस्किएको लगायतका सेवाहरु प्रदान गर्ने गरिएको छ ।

  • १२ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech