क्षयरोग एउटा ब्याक्टेरियल संक्रमण हो । जसले संक्रमण फैलिंदै गए पछि शरीरको कुनै पनि भागलाई बाँकी राख्दैन। अर्थात, कुनै पनि भागलाई नष्ट पार्ने क्षमता क्षयरोग गराउने ब्याक्टेरिया माईकोब्याक्टेरियममा हुन्छ । ती क्षति हुनसक्ने एक जोखिम पूर्ण भाग मस्तिष्क हो। संक्रमण फोक्सो हुँदै मस्तिष्कसम्म पुगेमा त्यसले क्षयरोग त्यहाँ पनि गराउँछ। जसलाई मस्तिष्क क्षयरोग भनिन्छ।
मस्तिष्क क्षयरोगको तीन अवस्था हुन्छ। माईकोब्याक्टेरियमले मस्तिष्कको झिल्लीहरुमा मात्र (मेडिकल भाषामा मेनिन्जेज) लाई संक्रमित पारेको छ भने त्यसलाई मेनिन्जाइटिस भनिन्छ। सो किटाणुले मस्तिष्कमा पीप जमाएको छ भने त्यसलाई ट्युबर कुलोर आब्सेस भनिन्छ। सो ब्याक्टेरिया मस्तिष्कमा पुगेपछि त्यसलाई क्षेक्न हरसम्भव स्नायुहरुले गर्छ। त्यो क्रममा त्यहाँको भाग सुन्निन्छ। सुन्निएपछि ब्याक्टेरिया डल्लो पारिदिन्छ। जसलाई ट्युबर कोल्मा भनिन्छ। यी अवस्थालाई मस्तिष्क क्षयरोग भन्ने गरिन्छ।
कतिको साझा समस्या ?
नेपालमा वर्षेनी ६० हजार भन्दा बढी क्षयरोगका बिरामी भेटिन्छन्, जसमा दश प्रतिशत बिरामीलाई मस्तिष्क क्षयरोग हुनसक्छ । जुन बच्चादेखि वृद्ध उमेर समूहलाई देखिन सक्छ। मस्तिष्क क्षयरोगबारे जनचेतना कम छ । जसकारण समयमा पहिचान नहुँदा ढिलो मात्रै उपचार हुने भएकाले मृत्युवरण गर्ने संख्या धेरै छ । त्यसैले, क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा तुरुन्तै अस्पताल जानु आवश्यक छ।
कारण
माईकोब्याक्टेरियम नामक ब्याक्टेरिया प्रायः हाच्छिउँ गर्दा र खोक्दा श्वास–प्रश्वासमार्फत फैलिन सक्छ। जब यो ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ, तब यो फोक्सोमा पुगेर वृद्धि हुन्छ । समयमा उपचार भएन भने संक्रमण रगतको माध्यमबाट शरीरका अन्य भाग हुँदै मस्तिष्कको झिल्लीसम्म पुग्न सक्छ। प्राय यो प्रतिरोधात्मक क्षमता कम भएको अवस्थामा एकबाट अर्कोमा सर्ने जोखिम हुन्छ।
लक्षण
शरीरको अन्य भागमा हुँदा संकेतको रुपमा ज्वरो आउँछ। दिमागमा हुँदा ज्वरो नआउन पनि सक्छ। मस्तिष्कमा भएमा विस्तारै होस हराउंदै जाने, शरीरको कुनै भाग कमजोर हुँदै जाने, आँखा र कानमा समस्या, टाउकोमा पानी जम्न सक्छ। छारे रोग लाग्ने, दिमागमा दाग बन्ने, झुक्किने वा बिर्सने, झन्–झन् सुस्त बन्दै जाने, बेहोस हुने, हातखुट्टा कमजोर हुने, पक्षघात वा दृष्टि धमिलो हुने जस्ता गम्भीर लक्षण देखिन्छन् । पिप जमेको अवस्थामा बिर्सने, झन्–झन् सुस्त बन्दै जाने, टाउको दुख्ने, पक्षघात हुनसक्ने, मेनिंनजाइटिस भएको खण्डमा टाउको दुख्ने, बेहोस हुने, हातखुट्टा कमजोर हुने जस्ता लक्षण देखिन्छ।
जोखिम समूह
-क्षयरोग भएका बिरामीमा यसको जोखिम बढी हुन्छ । समयमै क्षयरोगको उपचार नगर्ने व्यक्तिहरूमा मस्तिष्क क्षयरोगको जोखिम बढी हुन्छ ।
-एचआईभी-एड्स संक्रमित, अत्याधिक धूम्रपान र मदिरा सेवन गर्ने व्यक्ति।
– मधुमेह, मिर्गौला र क्यान्सरका बिरामी
-कुपोषित वा रोगप्रतिरोधात्मक क्षमता भएका कमजोर व्यक्ति ।
-एचआईभी÷एड्स भएका व्यक्ति ।
– हाेस्टेल, ब्यारेक, धर्मशाला जस्ता समुहमा बस्नेहरु व्यक्ति ।
परीक्षण कसरी ?
मेरुदण्डबाट तरल पदार्थ निकालेर परीक्षण गरिन्छ । क्षयरोग ब्याक्टेरियाको पहिचान गरिन्छ । एमआरआई र सिटीस्क्यान गरेर मस्तिष्कमा असर कति परेको हेरिन्छ ।
उपचार
यो समस्या पुष्टि भएपछि अवस्था अनुसार उपचार हुन्छ। यदि संक्रमणले झिल्ली मात्र सुन्निएको छ भने औषधिले ठिक हुन्छ। सो औषधी दुई वर्षसम्म दिने गरिन्छ। अर्को भनेको मेनिंनजाइटिस भएमा क्षयरोगको औषधि र स्टोराइड औषधि चलाइन्छ । जसले मस्तिष्क सुन्निएको कम गर्छ ।
ट्युबर कोल्मा सानो छ भने क्षयरोगको औषधिले पीप सुकाएर निको हुन्छ। तर, आकार र मात्रा ठुलो भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ। पानी जमेर छारे रोग भैरहेको छ भने छारे रोग औषधि खानुपर्ने हुन्छ।
निको हुने सम्भावना कति ?
समयमै उपचार पाउने हो भने बिरामी पूर्णरुपमा निको हुन्छन् । संक्रमणले पक्षघात भएमा निको हुन् कठिन हुन्छ।
यसको रोकथाम छ ?
–नवजात शिशुहरूलाई अनिवार्य बिसीजी खोप लगाउने, समयमै क्षयरोगको उपचार गर्ने ।
–क्षयरोग भएकाले पूरा औषधि खानुपर्छ ।
–भीडभाडयुक्त र दूषित वातावरणमा लामो समय नबस्ने । रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खाना खाने ।
उपचार कुन अस्पतालमा हुन्छ ?
मस्तिष्क क्षय रोगको सेवा स्नायु रोगको उपचार हुने नेपालको जुन सुकै अस्पताल वा क्लिनिकमा हुनसक्छ।