जलनका बिरामी पहिले नभएका होइनन् । तर, उपचार केन्द्रसम्म आउँदैनन् थिए । पछिल्लो समय मिडियाको प्रभाव, मानिसको स्वास्थ्य सेवा बहन गर्ने क्षमता पनि बढ्दै गएकाले बिरामीको संख्या बढी देखिएको हो । समस्या भने पुरानै हो । हामीसँग एकिन तथ्याङ्क छैन । किनभने राष्ट्रियस्तरमा जलनसम्बन्धी अनुसन्धान कमै भएका छन् । अहिलेसम्म पनि २००८ तीरका डाटामा निर्भर रहनु परेको छ । त्यही डाटाका आधारमा भन्ने हो भने बर्सेनि ५१ हजार बिरामी अस्पताल गएर नै उपचार गर्नुपर्ने खालको जलन हुने र २१ सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । अर्को तथ्याङ्क हेर्दा नेपालमा जति पनि अपाङ्गता भएका व्यक्ति छन्, त्यसको पाँच प्रतिशत चाहिँ जलनबाट नै भएको देखिन्छ ।
जलनको उपचार धेरै ठाउँमा उपलब्ध छैन । समुदायस्तरमा पनि जलनको प्रारम्भिक व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सीप विकास भइसकेको छैन । जलनका बिरामी धेरैजसो काठमाडौंमै आइपुग्नुपर्ने अवस्था छ । काठमाडौंमा पनि औँलामा गणना गर्न सकिने अस्पताल छन् । त्यसमै निर्भर हुनुपर्नेछ । समुदायमा कार्यरत स्वास्थ्यकर्मीमा जलन कसरी व्यवस्थापन गर्ने त्यसको पूर्णरूपले जानकारी नभएकाले प्रारम्भिक अवस्थाको उपचार अन्योलमा छ । तर, केही अस्पतालबाट उपचार भइरहेको छ । वीर अस्पताल, टिचिङ, कान्ति बाल अस्पताल, सुष्मा कोइराला मेमोरियल, कीर्तिपुर अस्पताल, काठमाडौं मेडिकल कलेजजस्ता अस्पतालमा जलनका बिरामीले सेवा पाइरहेका छन् ।
काठमाडौं बाहिर जलन उपचार सेवाको स्तरोन्नति गर्न सके राम्रो हुन्थ्यो । स्वास्थ्यको व्यवस्था प्रादेशिक अस्पताल बढिरहेका छन् । सबै प्रादेशिक अस्पतालमा जलनको सेवा सुरु गराउन सकियो भने जिल्लास्तरमा पनि जलनको तालिम प्राप्त व्यक्ति सेवा दिनसक्ने भए काठमाडौंसम्म आउनु पर्दैन थियो । सुदूरपश्चिमदेखि पूर्वसम्मका बिरामी सबै काठमाडौंका अस्पताल खोजेर आउने अवस्था छ । त्यसलाई केही मात्रामा कमी ल्याउन सकिन्छ ।
सबैभन्दा पहिला समुदायमा कार्यगत स्वास्थ्यकर्मीलाई रोकथाम तथा प्राथमिक उपचारको तालिम दिनुपर्छ, जसले गर्दा सानाखाले बिरामी राम्रो उपचार नपाएर अन्योलमा नपरी स्वास्थ्य सेवा बहन गर्न पाउन् । सानो जलन पनि कहिलेकाहीँ समयमा अस्पताल नआउँदा र गलत तरिकाको उपचार पद्धति अपनाउँदा संक्रमण हुने, घाउ ठूलो, गहिरिने समस्या आउन सक्छन् । यस्ता समस्या आउन नदिनका लागि समुदायमा कार्यरत स्वास्थ्यकर्मी, त्यसपछि जिल्ला तथा प्रादेशिक स्वास्थ्यकर्मीलाई उचित तालिम र ठूला अस्पतालमा जलन उपचार गर्ने वार्डको मात्र विकास गर्न सके प्रभावकारी हुनसक्छ ।
साँच्चै भन्नुपर्दा नेपालमा जलन क्षेत्रमा केही भएकै छैनभन्दा फरक पर्दैन । उदाहरणको लागि नेपालमा एचआईभी एड्स भन्नेबित्तिकै धेरै डोनेसन आउने, समुदायस्तरमा कार्यक्रम हुने गरेका छन् । तर, जलनमा त्यस्तो महसुस गर्न पाइएको छैन । यसका लागि नेपालमा सरकारी तबरबाट अलि अगाडि एसिड आक्रमणमा परेकासँग हामी पनि आबद्ध भएर काम गरेका थियौं । त्यसपछि जलन उपचारसम्बन्धी विधेयक पारित गर्ने विषयमा बृहत् छलफल भएको थियो । त्यसमा एसिड पीडितलाई उपचार केही अस्पतालमा निःशुल्क गरिन्छ भन्नेबाहेक अरू सरकारी संयन्त्रमा केही काम भएको छैन ।
उदाहरणको लागि पाल्पाको मिसन अस्पताल, जनकपुरको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अस्पताल उपचार गर्ने भनिए पनि भौतिक संरचनाको काम भइरहेकाले सेवा खुम्चिएको छ । त्यसैले थोरै अस्पतालमा जलनको उपचार हुने गरेको देखिन्छ । हामीले समुदायलक्षित कार्यक्रम चलाइरहेका छौँ । अझै पनि गाउँघरमा आफ्नै प्रकारका उपचारको पद्धति सुनाउनुहुन्छ । अनुसन्धानको क्रममा तराई, पहाड, हिमाल सबै ठाउँमा पुग्यौँ । जलन भएको ठाउँमा जे चिसो छ त्यही दल्ने प्रचलन छ । आगोले पोल्नेबित्तिकै गोलभेँडा, आलु, पोखरीको माटो जे चिसो छ त्यो लगाउने चलन छ । जुन पूर्णरूपमा गलत छ । जसले पछि विकराल रूप ल्याउन सक्छ । जलन भएका व्यक्तिलाई भनेर राज्य कोषबाट उपचारको लागि सहयोग गर्ने भन्ने कुरा अहिलेसम्म भएको देखिँदैन ।
हालैको घटनाको कुरा गरौँ । अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर जलनको घटनामा परे । कहिलेकाहीँ जलनको घटना सानो भए पनि शरीरको कुन अङ्ग प्रभावित भएको छ भन्ने कुराले घटना ठूलो भइदिन्छ । उहाँहरूमाथि त्यस्तो घटना हुनसाथ सामाजिक सञ्जाल, टोल, चिया पसलभरि चर्चा चल्यो । नेपालमा ठूला मान्छेहरूलाई भयो भने त्यो सम्बन्धित विषय अगाडि बढेको देखिन्छ । नेपालको पहिलो जलन अस्पताल गिरिजाप्रसाद कोइरालाको श्रीमतीको नाममा खोलिएको अस्पताल सुष्मा कोइराला मेमोरियल अस्पताल हो । उहाँलाई जलन भएपछि उपचार नेपालमा नहुने रहेछ भनेर अस्पतालको परिकल्पना गरियो भनिन्छ ।
जलन कस्ता व्यक्तिलाई हुन्छ भने जो गरिब छ, जसको घरमा राम्रो व्यवस्था छैन, जसले खाना पकाउने, सुत्ने एकै ठाउँ छ त्यस्ता व्यक्तिहरू धेरै प्रभावित भइरहेका छन् । तल्लोस्तरका व्यक्ति बढी प्रभावित हुने भएर पनि होला माथिल्लो वर्गले अलि महसुस गर्न नसकेको देखिन्छ । संख्यात्मक हिसाबले केन्द्रमा पनि बिरामी आइपुगेका छैनन् । काठमाडौंमा जलनका अस्पताल बढ्दो छन् । जलनका कुराहरू मिडियामा पनि आउन थालेको छ । बिरामी अस्पताल आइपुगे भने नीतिगतरूपमा पनि काम गर्ने अथवा त्यही क्षेत्रमा काम गर्ने मानिसको ध्यान बल्ल जान थालेको छ । यसलाई सबै स्वास्थ्य संयन्त्रले महसुस गर्न नसकेको पनि होला । विश्व स्वास्थ्य संगठनले पनि भन्छ नेपालमा मात्र होइन न्यून आय भएका देशहरूको अवस्था नाजुक छ ।
जलन पनि धेरै प्रकारका हुन्छन् । आगोले पोल्ने, पानीले पोल्ने, केमिकलले पोल्ने, तातो भाँडाहरूले पोल्ने आदि हुन् । अस्ति पोखरामा भएको आगोले पोलेको जलन हो । हाइट्रोजन ग्यासमा छर्रावाल मैनबत्तीको फिलिङगोले बेलुन छोयो र बेलुन विस्फोट भयो । त्यसपछि जलन भयो । बिरामी अहिले निगरानीमा हुनुहुन्छ । त्यसो गर्नुको कारण भनेको सानो जलन पनि प्राण घातक हुनसक्छ भनेर हो । उहाँहरूलाई ६ प्रतिशत जलन भएको मानिन्छ । उहाँहरूको टाउको र संवेदनशील अंगमा जलन भएकाले अस्पतालमा राख्नु परेको हो ।
जलनको प्राथमिक उपचारका विषयमा धेरै कुरा थाहा हुनुपर्छ । जलन हुनसाथ एक्लै भए जमिनका लडीबुडी गर्नाले आगो निभ्छ । त्यसपछि ३० मिनेटसम्म बगिरहेको पानी हाल्नुपर्छ । पानी धेरै चिसो हुनु हुँदैन । पानी हाल्दा घाउ गहिरिन पाउँदैन । त्यसपछि थप उपचारका लागि अस्पताल जानुपर्छ । उपचारको ठाउँ टाढा छ भने पर्याप्त मात्रामा झोलिलो खाना खानु राम्रो मानिन्छ । समयमा अस्पताल पुगिएन भने जलन संवेदनशील अंग जस्तैः जोर्नीहरू, घाँटीको भाग, औँलाको कापहरूमा संकुचन हुने समस्या देखिन्छ । समयमा उपचार गर्न पाइएन भने घरेलु उपचारमा मात्र निर्भर भयो भने र ढिला अस्पताल गइयो अङ्ग नै गुमाउनुपर्ने हुन्छ ।
नेपालमा जलनसम्बन्धी सचेतनाको स्तरको काम नै भएको छैन । म आफैं पनि स्नातकोत्तर गरिसकेको मान्छे हुँ । सन् २०१६ सालबाट जलन क्षेत्रमा काम सुरु गर्दा यो क्षेत्रमा काम गर्न मिल्छ र जस्तो लाग्थ्यो । तर, अहिले सम्झिँदा म सही ठाउँमा आएर काम गर्दैछुजस्तो लाग्छ । किनभने नेपालमा जलनको अवस्था हेर्ने हो भने अगाडि कालो खाल्डो देख्न सकिन्छ । त्यति कामै भएको छैन । त्यही भएर सचेतनाका काम गर्नु जरुरी छ । पछिल्लो समयमा मिडियाको पहुँचले गर्दा कीर्तिपुर अस्पताल, सुष्मा कोइराला अस्पतालमा जलनको उपचार हुन्छ भनेर सूचना फैलाउन सजिलो भएको छ । तर, रोकथामको विषयमा ज्ञान फैलाउने काम गर्नुपर्ने देखिन्छ ।
नेपालका बर्न सेन्टरमा उपकरण चाहिने मात्रामा छन् । तर, एउटा डेडिकेटेड बर्न अस्पताल बनाएर बर्न आईसीयू, बर्नको मात्रै उपचार गर्ने उपकरण कमी भने पक्कै भएको छ । किनभने बर्न समयअनुसार वा मौसमअनुसार हुन्छ । जाडो महिनामा अलि धेरै हुन्छ । जाडोमा आगो धेरै बाल्छौँ अरू बेलामा कम हुन्छ ।
सरकारले तत्कालै गर्नैपर्ने विषय भनेको समुदायस्तरमा जनचेतनामा काम हो । स्थानीयस्तरमा जलनको रोकथामका कार्यक्रम अगाडि बढाउने, प्रारम्भिक अवस्थामा नै उपचार गर्ने माहोल बनाउन सक्नुपर्छ । जलन क्षेत्रमा धेरै अस्पताल चाहँदैन । नेपाल देश सानो छ । पाँचवटा जति अस्पताल बनाउन सके सेन्टरले थाम्न सक्छ । तर, काठमाडौं बाहिर भौगोलिक विकटताले गर्दा मान्छे आउन नसक्ने अवस्था छ । त्यही भएर स्थानीयस्तरमा पहलकदम गरेर जनचेतना फैलाउने, समुदायमा कार्यगत स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरिनुपर्छ ।
जलन हुँदा हाम्रो शरीरमा पानीको ठूलो भूमिका छ । जलन भएको २४ घण्टामा घाउबाट निरन्तर पानी बग्छ । यस्तो सानो कुराहरू सिकाउनु पर्छ । विश्व स्वास्थ्य संगठनले एउटा भन्छ अरू संस्थाले अरू नै कुरा भन्छन् । त्योभन्दा पहिला कस्तो अवस्थामा कुन ठाउँमा भएको छ, त्यसलाई हेर्नुपर्छ । जटिल अवस्थामा जस्तैः अनुहार, जोर्नीहरू सानो भए पनि अस्पताल जानुपर्छ । यदि जलन बिजुलीले, केमिकलबाट भएको छ भने सानो भए पनि अस्पतालमा नै जानुपर्छ ।
नेपालमा अहिले ४० प्रतिशत जलनका बिरामी निको भएर घर गएका छन् । तर, यसमा पनि जलन कुन भागमा भएको छ भन्ने कुरा हो । समयमा नै उपचार गर्न अस्पताल लगियो भने उपचार खर्चमा कमी गराउन सक्छौँ प्राथमिक उपचार गर्यो भने अस्पतालको बसाइ पनि कमी हुन्छ । नेपालमा ४० प्रतिशत सफल उपचार भएको अवस्था देखिन्छ ।
बच्चाहरू जलन हुँदा बाल विशेषज्ञलाई सहभागी गराउनुपर्छ । जलन अरू स्वास्थ्य समस्याभन्दा उपचार गर्न अप्ठ्यारो छ । जलन उपचारका लागि सर्जन, नर्स, फिजियोथेरापिस्ट, डाइटिसीएनको उत्तिकै भूमिका रहन्छ । मनोवैज्ञानिक सल्लाहकारको उत्तिकै जरुरी छ । राम्रो टिम बनाएर उपचार गर्ने हो भने जति पनि जलनको उपचार सम्भव छ । यसका लागि समुदायमा जलनको ज्ञान फैलाउन सकिएन भने केन्द्रमा बसेर यो गर्यौं, त्यो गर्यौं भनेर मात्र अवस्था सुधार गर्न गाह्रो हुन्छ ।
(इन्टरबर्न, नेपालका लागि रिजनल अप्रेसन म्यानेजर अनिल धितालसँगको कुराकानीमा आधारित)