नेपालगन्जः बाँकेमा आजदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुँदैछ । १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइलेको प्रिभेलेन्स देखिएपछि १४औं पटक औषधि खुवाउन लागिएको हो । अभियानको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सुभारम्भ गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले स्वास्थ्य पेजलाई जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ महेन्द्र पार्कबाट अभियानको स्वास्थ्यमन्त्री पौडेलले सुभारम्भ गर्ने कार्यक्रम रहेको छ । विहान ११ बजे आयोजना गरिएको उक्त कार्यक्रममा स्वास्थ्यका उच्च अधिकारीहरु, जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सहभागि हुनेछन् ।
नेपालगन्ज उपमहानगरपालिकामा आजदेखि अभियानको सुरुवात गरिएसँगै डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले बताए । शाहीले एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताए ।
बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ । नेपालगन्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १ सय ७४ जना र नरैनापुरमा ४२ हजार ३ सय ६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९ सय ६२ जना गरी जम्मा २ लाख ५७ हजार ६ सय १ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.५ प्रतिशतसम्म प्रिभेलेन्स (ब्यापकता) देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले बताए । सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको महतोले बताए । सन् २००३ देखि सुरु भएको आम औषधि सेवन अभियानबाट सन् २०२० मै लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो ।
बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि नै खाएका छैनन् ।नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने अध्ययनले देखाएको छ । सर्वेक्षण अनुसार ३३.२८ प्रतिशत मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा ३२.५३ प्रतिशत मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतिका रुपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लाग्न आवश्यक देखिएको छ ।