नेपालगन्जः बाँकेमा बुधवारदेखि दोस्रो चरणमा एचपीभी खोप अभियान सुरु भएको छ । राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिका नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकामा मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । राप्तीसोनारीमा शिवशक्ती माध्यामिक विद्यालयबाट अभियान सुरु भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए ।
अभियानको सुभारम्भ गर्दै प्रदेश सभा सदस्यहरुले महिलाहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप महत्वपूर्ण भएको बताए । प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णा केसी नमुनाले महिलाहरु पाठेघरको मुखको क्यान्सरजस्तो रोगबाट मृत्युवरण गर्नुपर्ने अवस्था रहेकाले त्योबाट रोक्न अहिलेनै खोप लगाउन उपयुक्त भएको बताइन् । विभिन्न तथ्यांकहरुले नेपालमा पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार जना महिलाको ज्यान जाने गरेको उल्लेख छ ।
क्यान्सर भयावह रोग भएपनि आवश्यक सावधानी र चेकजाँच गरे धेरै क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सरबाट महिलालाई जोगाउन सकिने केसीको भनाइ छ । अर्का प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री दुर्गा प्रसाद चौधरीले पनि नेपाल सरकारको ठूलो लगानी रहेको यो अभियानलाई सफल बनाउन लक्षित समुहले खोप लगाउन आवश्यक रहेको बताए । बालिका र किशोरीहरुले ढुक्क भएर खोप लगाइ सरकारको अभियानमा सहयोग गर्न आग्रह गरे ।
यसैगरी अर्का प्रदेश सभा सदस्य सञ्जु कुमारी थारुले पनि पाठेघरको मुखको क्यान्सरबाट हुन सक्ने जोखिम कम गर्न खोप उपयुक्त विकल्प हुने बताइन् । उनले सबै बालिका र किशोरीलाई खोप लगाउन पनि आग्रह गरिन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पनि खोप अभियानमा सहयोग गर्न पालिकाबासीलाई आग्रह गरे ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले दोस्रो चरणको अभियान सुरु भएको बताए । बाँकेमा दुई चरणमा एचपीभी खोप अभियान भइरहेको जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, वडा अध्यक्ष शालिकराम डाँगी लगायतले पनि आआफ्नो धारणा राखेका थिए ।