चार दिनमा ६५ प्रतिशत बालिकाले लगाए एचपिभी खोप

    • स्वास्थ्य पेज

  • २५ माघ २०८१, शुक्रबार

नेपालगन्जः पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सुरु भएको तीन दिनमै बाँके जिल्लामा ६५ प्रतिशत बालिकालाई खोप लगाइसकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो चरणको खोप कार्यक्रम अनुसार नेपालगन्ज, कोहलपुर, खजुरा र जानकीमा तीन दिनमा १५ हजार ८८३ जना बालिका र किशोरीलाई एचपिभी खोप लगाइएको छ ।

उनले ती चार पालिकामा लक्षित उमेर समूहका २४ हजार ५८९ बालिका र किशोरीहरु रहेकोमा १५ हजार ८८३ जना अर्थात् ६५ प्रतिशतलाई खोप लगाई सकिएको बताए । नेपालगन्ज उपमहानगरपालिकामा ६ हजार ६९ जना, कोहलपुरमा ५ हजार ८१ जना, खजुरामा ३ हजार ५७ जना र जानकीमा एक हजार ६७६ जना बालिकालाई एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए । उनले जिल्लाका चारवटा पालिकामा पहिलो चरणमा २४ हजार ५८९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा चार दिनमा १५ हजार ८८३ जनालाई लगाइएकाले अझै ८ हजार ७०६ बालिकालाई खोप लगाउन बाँकी रहेको बताए ।

जिल्लाका करिब ३७ हजार बालिका र किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्यका साथ माघ २२ गतेबाट खोप अभियान बाट सुरु गरिएको थियो । फागुन ६ गतेसम्म सञ्चालन गरिने सो अभियानअन्तर्गत जिल्लामा कक्षा ६ देखि १० सम्मका बालिका र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेरका बालिका तथा किशोरीहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

  • २५ माघ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech