नेपालगन्जः आजदेखि देशभरी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाउने अभियान सुरु भएको छ । बाँकेमा दुई चरणमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
दोस्रो चरणमा राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका किशोरीहरुलाई खोप लगाइनेछ । बाँकेमा करिब ३७ हजार किशोरीलाई खोप लगाइने खोप फोकलपर्सन श्रेष्ठ बताउँछन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका आठ स्थानीय तहमा रहेका ३६ हजार ९ सय ५० जना किशोरीलाई खोप लगाइने भएको हो । बाँकेमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन थालिएको जानकारी दिए ।
फोकल पर्सन श्रेष्ठका अनुसार तीन सय ७८ वटा विद्यालयमा अध्ययनरत किशोरीलाई खोप लगाउन जिल्लामा चार सय ५९ वटा खोप केन्द्र तोकिएको छ । जसमा तीन सय ७८ वटा विद्यालयमा र ८१ वटा विद्यालय बाहिर खोप केन्द्र छन् ।
पहिलो चरणमा आजदेखि फागुन १ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाका ९ हजार ३ सय १९, कोहलपुर नगरपालिकाका ७ हजार ४ सय ४८, खजुरा गाउँपालिकाका ५ हजार ८ सय ७२ र जानकी गाउँपालिकाका १ हजार ९ सय ५० जना गरी २२ हजार ५ सय ८९ जना किशोरीलाई खोप लगाइनेछ ।
दोस्रो चरणमा माघ ३० गतेबाट राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका गरी ४ वटा पालिकाका १२ हजार ३ सय ६१ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको पनि श्रेष्ठले बताए ।