कोहलपुर: बाँकेको कोहलपुरमा ७ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीका अनुसार कोहलपुर नगरपालिकाका १५ वटा वडाका ७ हजार ४ सय ५८ जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो ।
कोहलपुर नगरपालिकाका विद्यालयमा अध्ययनरत ७ हजार ६ सय ८ सय २० जना र विद्यालय बाहिर रहेका ६ सय ३८ जना किशोरीलाई खोप लगाउन लागिएको ठकुरीले जानकारी दिए । विद्यालय र स्वास्थ्य संस्था गरी ४६ वटा खोप केन्द्रबाट २९ गतेसम्म एचपिभी खोप लगाइने शाखाका जनस्वास्थ्य निरीक्षक अमृत रानाले जानकारी दिए ।
यही माघ २२ गतेदेखि कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने रानाले बताए ।
एचपिभी खोपबारे जनप्रतिनिधि, कर्मचारी तथा संचारकर्मीहरुलाई जानकारी दिन आइतबार कोहलपुर नगरपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप प्रभावकारी भएकाले अभियानलाई सफल बनाउन शाखा प्रमुख ठकुरीले सबैलाई आग्रह गरेका थिए ।
उनले उमेर पुगेका लक्षित बालिकाहरुलाई खोप लगाएर पाठेघरको क्यान्सर हुने जोखिमबाट बालिकाहरुलाई जोगाउन आग्रह समेत गरेका थिए । नेपालमा औंसतमा दैनिक ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्यांक छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा नम्बर १ का वडा अध्यक्ष बद्री जैशी, ६ का अध्यक्ष श्रीकृष्ण थारु, ७ का अध्यक्ष ठग्गा थारु, ८ का अध्यक्ष लाल बहादुर राना, ११ का अध्यक्ष कल्पना शर्मा, १२ का अध्यक्ष बिरेन्द्र कुमार शाह,आर्थिक समिति संयोजक अनिता बुढा, सुशासन समिति संयोजक सुनिता विष्ट लगायतको उपस्थिति रहेको थियो ।