लुम्विनी प्रदेशका आँखा रोग विशेषज्ञहरु नेपालगन्ज आउँदै, ‘मायोपिया’ मुख्य एजेन्डा

    • स्वास्थ्य पेज

  • १८ माघ २०८१, शुक्रबार

नेपालगन्जः पछिल्लो समय बालबालिकामा ‘मायोपिया’को समस्या बढ्दै गएको छ । अर्थात नजिकको देख्ने तर टाढाको नदेख्ने । यो समस्या विश्व व्यापीरुपमा अहिले बालबालिकाहरुमा बढ्दै गएको छ । स्कुले बालबालिकाहरुमा बोर्डमा लेखेको नदेख्ने र साथीबाट सार्नेजस्ता लक्षण देखिन थालेपछि अस्पताल धाउनेको संख्या बढ्दै गएको चिकित्सकतहरु बताउँछन् । दृष्टि विशेषज्ञ कृष्ण बञ्जाडेका अनुसार बालबालिकाहरुमा टाढाको नदेख्ने समस्या अहिले बिकराल बन्दै गएको छ । उनी भन्छन्–‘अहिले बालबालिकामा चस्मा लगाउनु पर्ने अवस्था यसैको कारण हो ।’

डिजिटल उपकरणको अत्यधिक प्रयोग र अधिकांश समय घरभित्र व्यतीत हुन थालेसँगै मायोपियाको जोखिम बढ्न थालेको चिकित्सक बताउँछन् । आँखाको दृष्टि नजिकको वस्तु मात्रै हेर्ने वातावरणमा अभ्यस्त हुन थालेसँगै मायोपियाको समस्या जोखिमका रूपमा देखिन थालेको हो ।

खासगरी विद्यालयबाट फर्केपछि चारदेखि पाँच घन्टासम्म कोठाभित्र बसेर गृहकार्य गर्न लगाउने, कोठाभित्रै खेल्ने, विद्यालयमा पनि अधिकांश समय कक्षाकोठामा बिताउने र खाली समयमा डिजिटल उपकरण (कम्प्युटर, मोबाइल तथा भिडियो गेम) प्रयोग गर्दा आँखाको नजिक राखेर गर्ने भएकाले बालबालिकामा मायोपियाको समस्या अत्यधिक बढिरहेको चिकित्सकहरु बताउँछन् । ‘अहिले स्कुले विद्यार्थीमा यो समस्या अत्यधिक बढेको छ’ बञ्जाडे भन्छन् ।

डिजिटल प्रविधिको विकाससँगै बालबालिकामा बढ्दो ‘मायोपिया’को जोखिम न्यूनीकरणका लागि नेपालगन्जमा आँखा रोग विशेषज्ञहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । नेपाल दृष्टि विशेषज्ञ संघ लुम्विनी प्रदेशले प्रदेशसहित देशका दृष्टि विशेषज्ञहरुलाई नेपालगन्जमा बोलाएर यसबारेमा विशेषज्ञता शेयरिङ गर्न लागिएको संघका अध्यक्ष समेत रहेका दृष्टि विशेषज्ञ बञ्जाडेले स्वास्थ्य पेजलाई बताए ।

उनका अनुसार नेपाल तथा विश्वमा भइरहेको बढ्दो मायोपियाको समस्या समाधानका लागि अपनाइएका नविनतम् प्रविधिका विषयमा विशेषज्ञ चिकित्सकहरुले तीन वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । भोलि शनिवार विहान मायोपिया व्यवस्थापन सिएमई नाम दिएर आयोजना गरिएको उक्त कार्यक्रममा अप्थाल्मोलोजिष्ट, अप्टोमेटिष्ट, अप्थाल्मिक असिस्टेन्ट र बिद्यार्थी गरी करिव ५० जनाको सहभागिता रहनेछ । मायोपियाको समस्या विश्वव्यापी चुनौतीका रूपमा देखिएको विश्व स्वास्थ्य संगठनले समेत उल्लेख गरेको छ ।

  • १८ माघ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech