नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोजीस्थित मिना मेडिकल हलले अवैध औषधि विक्री वितरण गरेको फेला परेको छ । औषधि व्यवस्था विभाग नेपालगन्ज शाखा र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलिले अनुगमन, निरीक्षण र खानतलासी गर्दा मेडिकलले नेपाल सरकारद्धारा नियन्त्रित औषधि विक्री वितरण गरेको फेला परेको हो ।
औषधि व्यवस्था विभाग नेपालगन्ज शाखाका फार्मेसी निरीक्षक समेत रहेका अनुसन्धान अधिकृत दिपेन्द्र साहका अनुसार मिना मेडिकलले सरकारद्धारा नियन्त्रित ट्रामाडोल समेत विक्रीवितरण गरेको फेला परेको छ । त्यसैगरी मेडिकल एभोर्सन किट, मनोद्दिपक औषधिहरु विक्रीवितरण गरेको तथ्यगत प्रमाण समेत भेटिएको उनले बताए ।
खानतलासी गर्नेक्रममा ७० क्याप्सुल ट्रामाडोल, मेडिकल एभोर्सन किट २, क्लियर साइनक्रिम २ ट्युव, प्रिगाभालिन १३० क्याप्सुल बरामद गरिएको अनुसन्धान अधिकृत साहले बताए ।
मिना मेडिकल हलले सरकार नियन्त्रित औषधिको अवैध विक्रीवितण गर्दै आइइरहेको गोप्य सूचनाका आधारमा अनुगमन टोलि मेडिकलमा खानतलासी गर्न पुगेको थियो । मेडिकलका संचालक व्यवसायी मदन रोकाय हुन् । औषधि ऐन विपरीत औषधिको दुरुपयोग गरेको अभियोगमा रोकायमाथि कारवाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको साहले बताए ।
अनुसन्धान अधिकृत साहले मेडिकलमा विशेष खानतलासी गरी अवैध औषधि बरामद गरिएकोले मिहिनढंगबाट थप अनुसन्धान भइरहेको बताए । उनले औषधि ऐन विपरीत औषधिको दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाइने पनि जानकारी दिए ।