नेपालगन्जः चिसो मौसम छ । खासगरी माघ महिनामा जाडो उत्कर्षमा पुग्ने गर्छ । चिसो मौसमका बारेमा मानिसहरुका आ–आफ्नै धारणा हुन्छन् । कसैले मन पराउँछन् भने कसैलाई मन पर्दैन । जाडोमा आफूलाई न्यानो र तातो बनाएर परिवारसँग समय बिताउन त रमाइलो नै हुन्छ तर यो मौसमले विभिन्न रोगहरु पनि लिएर आँउछ ।
जाडो मौसममा विशेष गरी तीन वटा रोगले मानिसहरुलाई सताउने नेपालगन्ज मेडिकल कलेज कोहलपुरका मेडिसिन विभागका सह प्राध्यापक डा.श्याम विक बताउँछन् । उनी भन्छन्–‘श्वासप्रश्वास, ह्रदयघात तथा पक्षघात चिसोयाममा मानिसहरुलाई धेरै सताउने रोगहरु हुन् ।’ हामीले श्वास लिँदा प्रदूषित हावादेखि लिएर हावामा भएका भाइरसहरु शरीर भित्र प्रवेश गर्छन् । अर्को कुरा चिसो हावा शरीरमा प्रवेश गर्दा शरीरको तापक्रमले त्यसलाई कायम राख्न सक्दैन ।
‘यस्तो अवस्थामा जिवाणुहरुको वृद्धि विकास सजिलै हुन्छ । जसका कारण फोक्सो सम्बन्धी रोग बढी लाग्छ’–डा.विक बताउँछन् । त्यसैगरी दमका दीर्घरोगीहरु चिसोको बढी जोखिममा पर्ने गर्छन् । लामो समयदेखि दमको समस्या भएका बिरामीलाई छिटो संक्रमण हुने भएकाले श्वासप्रश्वासका समस्या बढी हुने गर्छ ।
चिसोयाममा ह्रदयघातको जोखिम पनि उत्तिकै हुन्छ । ‘सुगर र प्रेसरको औषधी खाइरहेको बिरामीहरु चिसोमा बढी एक्सजोज अर्थात विहानै मर्निङवाक गर्ने, चिसोमा खेल्ने गर्नुभयो भने रक्तसंचारमा जाने नसाहरु साँघुरो हुने र मुटुमा जाने रक्तसंचार कम हुँदा ह्रदयघात पनि हुन सक्दछ’ डा.विकको भनाइ छ । यस्तै पक्षघातको खतरा पनि चिसोयाममा बढी हुन्छ ।
‘नियमित प्रेसरको औषधी खाइरहेका बिरामीहरुको चिसोयाममा अन्य महिना भन्दा प्रेसर बढ्ने गर्छ उनी भन्छन्–‘प्रेसर बढेकै कारण अन्य यामको भन्दा चिसोयाममा पक्षघातको समस्या हुने जोखिम बढी हुन्छ ।’ अत्यधिक चिसोमा बाहिर ननिस्कने, तातो हुन कपडा लगाउने, सकेसम्म मौसम अनुकूल आफूलाई राख्नु नै चिसोबाट जोगिने उपयुक्त उपाय भएको डा. विक बताउँछन् ।
‘दीर्घकालिन दम, सुगर, प्रेसर जस्ता रोगका बिरामीहरु चिसोमा हिडड्ल गर्नु भएन । घरबाट निस्कनै परे शरीर छोप्ने कपडा लगाउने र आफुलाई न्यानो बनाइराख्ने गर्नुपर्छ । आफुले खाइरहेको औषधी चिकित्सकको परामर्शमा नियमित खानु पर्छ’–उनको भनाइ छ । त्यस्तै चिसोले बालबालिका र बृद्धवृद्धाहरुलाई पनि धेरै असर गर्छ । उनीहरूलाई धेरै रुघाखोकीले सताउँछ । रुघाखोकी र ज्वरो आउनुको मुख्य कारण भाइरलको संक्रमण हो ।
त्यसैले न्यानो कपडाहरु लगाउने । झोलिलो खाने कुराहरु पर्याप्तमात्रामा खानुपर्ने उनको सुझाव छ । साधारण रुघाखोकी लाग्यो भने घरमै निको हुन सक्छ । तर तीन चार दिनमा पनि ठिक भएन, ज्वरो आयो, सास छिटो–छिटो चल्न थाल्यो, आफूलाई असहज महसुस भयो भने तुरुन्त अस्पताल जाने र चिकित्सकलाई भेट्नु पर्ने डा.विक सुझाव दिन्छन् ।
सुगर प्रेसरको औषधि खाइरहेका बिरामीमा अचानक छातीमा दुखाइ हुन थाल्यो र आफुलाई असहजिलो हुन थाल्यो भने पनि तत्काल चिकित्सकलाई भेट्नु पर्ने डा. विकको सुझाव छ ।