नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जले न्युट्रासियुटीकल विक्री वितरणमा रोक लगाएको छ । अस्पतालको ड्रक एण्ड थेराप्युटीक कमिटीको बैठकले अस्पतालमा न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरण पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको कमिटीका संयोजक समेत रहेका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डेले बताए ।
‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी व्यवस्था विभागको मिति २०८१ पुस २५ गतेको प्राप्त पत्र र कमिटीको बैठकबाट भएको निर्णय अनुसार अस्पतालमा न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरण पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ डा.पाण्डेले भने–‘अव बिरामीले आवश्यक भन्दा पनि न्युट्रामा दशौं गुणा रकम खर्चिनु पर्ने अवस्थाको अन्त्य भएको छ ।’
न्युट्रा अति आवश्यक औषधी नभएपनि चिकित्सकहरुले प्रेस्क्राइव गर्ने र विक्री वितरण पनि भइरहेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड डा.निराजन सुवेदीले अस्पतालमा नीतिगत रुपमै न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरण पूर्णरुपमा बन्द गरिएको बताए । उनले आन्तरिक रुपमा सम्पूर्ण विभाग तथा चिकित्सकहरुलाई सर्कुलर जारी गरिएको जानकारी दिए । अस्पताल फार्मेसीमा पनि न्युट्रासियुटीकल राख्न प्रतिवन्ध गरिएको डा.सुवेदीले बताए ।
यसअघि अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ड हुँदा डा.बद्री चापागाइँले पनि न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरणलाई निरुत्साहित गरेका थिए । सन् २०२३ अप्रिल १२ मा भेरी अस्पतालमा न्युट्रासियुटीकलको प्रेस्क्राइव तथा विक्री वितरण पूर्णरुपमा बन्द गर्ने निर्णय जारी गरेका थिए ।