गर्भधारणका लागि सही समय कहिले ?

यस्तो कुनै समय हुँदैन, जुन गर्भावस्थाका लागि सुरक्षित भन्न सकियोस् । महिनावारीको पहिलो दिनदेखि दशौं दिनसम्म गर्भधारणको सम्भावना धेरै कम हुन्छ । १२ देखि १८ दिनको अवधिमा भने गर्भधारणको सम्भावना उच्च रहन्छ ।


    • डा. सविता थापा / प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

  • ७ माघ २०८१, सोमबार

महिनावारी भएको कति दिनपछि गर्भ बस्ने सम्भावना हुन्छ ? यो जिज्ञासा अस्पताल आउने धेरै दम्पतीको हुन्छ । महिनावारी चक्रको विभिन्न चरणले नै महिलाको शरीरमा हुने जैविक परिवर्तन र गर्भधारणको सम्भावना निर्धारण गर्छ । महिना चक्र सामान्यतया २८ दिनको हुन्छ । कसैको बढीमा ३५ दिनको पनि हुनसक्छ । यही मितिलाई नै आधार मानेर गर्भ रहने समय कहिले उच्च छ भनेर अनुमान गर्न सकिन्छ ।

कति दिनपछि गर्भ रहन्छ त ?

सामान्यतया महिनावारी भएको १४ दिनपछि यौन सम्बन्ध राखेमा गर्भावस्थाको सम्भावना धेरै हदसम्म बढ्छ । किनभने अण्डाशयबाट अण्डा निस्कने सही समय महिनावारी चक्र समाप्त भएको १४ दिनपछि हो । गर्भ रहन वीर्यको मिलन अण्डासँग हुन जरुरी छ ।

अण्डाशयबाट निस्कने अण्डा १२ देखि २४ घण्टासम्म बाँच्न सक्छ । सो समयभित्र यौन सम्पर्क भएमा शुक्रकीटले यसलाई निषेचन गर्छ, जसले गर्दा गर्भावस्था हुन्छ । महिलाको शरीरमा वीर्य तीन दिनसम्म जीवित रहन्छ । यस्तोमा अण्डा ननिस्किएको दुई दिनअघि यौन सम्बन्ध राखे पनि गर्भ रहने सम्भावना बढी हुन्छ ।

गर्भ बस्ने प्रक्रिया 

महिनावारीपछि प्रत्येक महिना महिलाको अण्डाशयबाट एउटा अण्डा निस्किन्छ । अण्डा उत्पादन भइरहेको समयमा यौन सम्पर्क हुँदा शुक्रकीटले अण्डालाई निषेचन गर्न सफल हुनसक्छ । र, निषेचित अण्डा पाठेघरमा पुग्छ, तब गर्भ रहन्छ ।

यो प्रक्रियाका लागि शुक्रकीट योनी र पाठेघर हुँदै डिम्ब नलीमा पुग्नु आवश्यक छ । निषेचन प्रक्रियापछि मात्र अण्डा कोषले डिम्बबाहिनी नलीको मद्दतले अण्डाशय छोड्छ । र, आफ्नो सही स्थान अर्थात् गर्भाशयमा पुग्छ ।

गर्भधारणका लागि सही समय

यस्तो कुनै समय हुँदैन, जुन गर्भावस्थाका लागि सुरक्षित भन्न सकियोस् । महिनावारीको पहिलो दिनदेखि दशौं दिनसम्म गर्भधारणको सम्भावना धेरै कम हुन्छ । १२ देखि १८ दिनको अवधिमा भने गर्भधारणको सम्भावना उच्च रहन्छ ।

अण्डा निस्किने समय पत्ता लगाउने एप कति विश्वसनीय ?

याद गर्न सहज होस् भन्ने हिसाबले केही ओभुलेसन एपहरू पनि बनेका छन् । संसारभर ४०० भन्दा बढी प्रजनन एपहरू प्रयोग भइरहेका छन् । यी एपहरूलाई ‘फ्यामटेक’ नाम दिइएको छ । ती एप मार्फत ओभुलेसन कहिले हुन्छ भनेर थाहा पाउन सकिन्छ ।

एपमा महिनावारीको दिन रेकर्ड गर्ने क्यालेन्डर हुन्छ । जसको मद्दतले महिलालाई डिम्बाशय निस्कने समय थाहा पाउन सजिलो हुन्छ ।

यी एपहरू कति सही छन् भन्ने बारेमा धेरै प्रश्न उठेका छन् । ती एपहरुमा भएका अध्ययनले मात्र ४२.७ प्रतिशत एपले मात्र अण्डाशय निस्किने मिति बताउन सक्षम रहेको उल्लेख गरेको छ । अस्ट्रेलियाका अनुसन्धानकर्ताले ३६ वटा प्रजनन् एपहरूको अनुसन्धान गरेकोमा केवल ४२.७ प्रतिशत एपहरूले सही ओभुलेसन मिति बताउन सक्षम रहेको पुष्टि गरेको थियो ।

यही समयमा वाशिङ्टनको जर्जटाउन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ३० वटा एपको अध्ययन गरे । जसमध्ये २४ वटा एपले गलत मिति दिएका थिए ।

यी एपको पछि लाग्नुभन्दा गर्भयोजना बनाइरहेका दम्पतीले क्यालेन्डरमा नै महिनावारी मिति चिन्ह बनाई दिन गन्न सकिन्छ । दिन गनेर अण्डा रिलिज हुने दिन वरपर शारीरिक सम्पर्क गर्दा गर्भ बस्ने सम्भावना उच्च रहन्छ ।

अण्डा निस्किने समयमा महिलामा यौन इच्छा बढ्छ

अधिकांश महिलालाई अण्डा निस्किने केही दिन अघि शारीरिक सम्बन्ध बनाउने इच्छा तीव्र हुनसक्छ । वास्तवमा महिलामा एस्ट्रोजन हर्मोनको स्तर अण्डा निस्कने केही दिनअघि तीव्र रुपमा बढ्छ ।

यही हर्मोन हो, जो यौन इच्छा बढाउनमा भूमिका खेल्छ । यो हर्मोनको स्तर बढ्नाले महिलामा सम्बन्ध बनाउने इच्छा अन्य समयको भन्दा बढी हुन्छ । यसबारे क्यानडाको एक विश्वविद्यालयमा अध्ययन नै भएको छ । सो अध्ययनअनुसार अण्डा निस्किने तीन दिन पहिला महिला एक दिनमा औैसतमा १.३ पटक सोच्ने गर्छिन् । जबकि अन्य समयमा दिनमा औसतमा ०.७७ पटक सोच्छिन् ।

  • ७ माघ २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech