निमोनियाको जोखिम कसलाई कति ?

    • स्वास्थ्य पेज

  • ६ माघ २०८१, आईतवार

नेपालगन्जः निमोनिया ब्याक्टेरिया, भाइरस तथा फंगसका कारण हुने श्वासप्रश्वासम्बन्धी संक्रमण हो । जसले मानिसको एकापट्टी वा दुवैतर्फको फोक्सोमा असर गर्दछ । नेपालको हकमा जाडोयाममा निमोनियाका बिरामी धेरै देखिने गरेको विशेषज्ञहरू बताउँछन्, यद्यपि जाडोबाहेक पनि यसका कारकतत्व धेरै छन् ।

जोन्स् हप्किन्स युनिभर्सिटी यूएसएका अनुसार ३० भन्दा बढी कारणले निमोनिया संक्रमण गराउनसक्छ । हावामा भएका जीवाणुहरू श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्ने, फोक्सोको भित्तामा आक्रमण गर्ने र त्यहाँ तरल पदार्थ जम्मा हुन पुग्ने गर्छ, यही अवस्था निमोनिया हो । बालबालिकालाई  नाक र घाँटीमा हुने संक्रमणको जीवाणु फोक्सोसम्म पुगेर निमोनिया गराउनसक्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित बालबालिकाबाट खोकी, हाछ्युँ, थुक र सिँगानको माध्यमबाट अन्यमा निमोनिया सर्नसक्छ । निमोनिया भएका बालबालिकामा ज्वरो आउने, शरीरमा काँढा उम्रिने, कम्पन आउने, छिटोछिटो सास फेर्नेजस्ता लक्षण देखिन्छन् ।

त्यस्तै, सास फेर्दा असामान्य आवाज आउने, कोखा हान्ने आमाको दूध र अन्य झोल पदार्थ राम्रोसँग चुस्न नसक्ने, धेरै सुतिरहने ब्युँझाउन गाह्रो हुने, नाकबाट सिँगान बगिरहने, खोकी लाग्ने जस्ता पनि बालबालिकामा हुने निमोनियाका लक्षण हुन् ।

निमोनिया भएका बालबालिकामा झाडापखाला, औलो, कुपोषणजस्ता अन्य समस्या पनि देखिन सक्छन् । यदि बालबालिकामा यस्ता कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सकको सल्लाह लिने वा नजिकैको स्वास्थ्य संस्था लैजानुपर्दछ ।

निमोनियाको जोखिम कसलाई कति ?
अधिकांशमा भाइरल संक्रमणपछि निमोनिया भएका विभिन्न अध्ययनहरूले देखाएका छन् । यसबाहेक ब्रोङ्काइटीस्को संक्रमणपछि पनि निमायेनिया भएको पाइन्छ । जोन्स् हप्किन्स युनिभर्सिटी यूएसएका अनुसार ब्याक्टेरियाका कारण हुने ब्याक्टेरियल निमोनिया सबैभन्दा (कमन) धेरैमा हुने गर्छ ।

यसले रोग प्रतिरोधी क्षमता कमजोर भएका, दीर्घरोगी, वृद्धवृद्धा, कुपोषण भएका व्यक्तिमा छिटो आक्रमण गर्छ । यस्तै, मदिरा सेवन र धूमपान गर्ने तथा भर्खरै शल्यक्रिया गरेका व्यक्तिमा जोखिम बढी हुन्छ । तर, यसले सबै उमेर समूहमा हुने जोखिम भने हुन्छ । भाइरल निमोनिया विभिन्न प्रकारका भाइरसको कारण हुन्छ । फ्लुका कारण समेत हुने यो प्रकारको निमोनिया एकतिहाइ निमोनियाको कारक हो ।

माइकोप्लाज्मा निमोनिया कम सिकिस्त बनाउने खालको र केही फरक लक्षणसहितको हुन्छ । ब्याक्टेरियाकै कारण हुने यस प्रकारको नियमोनियाले सबै उमेर समूहमा आक्रमण गर्नसक्छ ।

निमोनियाको जोखिम समूहमा विशेषगरी दुई वर्षभन्दा कम र ६५ भन्दा बढी उमेर भएका व्यक्ति भएको युनिभर्सिटीको अध्ययनले देखाएको छ । यसबाहेक धूमपान गर्ने व्यक्तिमा पनि निमोनियाको अधिक जोखिम हुन्छ ।

  • ६ माघ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech