रेजीडेन्सी डाक्टरको रूपमा कार्यरत डा. पंकज गुप्ताको मृत्युबारे छानबिन गर्न माग

    • स्वास्थ्य पेज

  • ४ माघ २०८१, शुक्रबार

नेपालगन्ज: धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवासीय (रेजीडेन्सी) डाक्टरको रूपमा कार्यरत डा. पंकज गुप्ताको मृत्युको विषयमा छानबिन गर्न परिवारले माग गरेका छन् ।

प्रतिष्ठानमा उनी कार्यरत डिपार्टमेन्टका अधिकारीका कारण गुप्ताको मृत्यु भएको भन्दै परिवारले छानबिन गर्न माग गरेका हुन् । उनी प्रतिष्ठानको दन्त चिकित्साशास्त्र अन्तरगत २ वर्षदेखि (एमडीएस) अध्ययन गर्दै आएका थिए । एमडीएस अन्तरगत दाँतको शल्यक्रिया विषयमा अध्ययन गरेका डा. गुप्ता प्रतिष्ठानको क्वाटरमा बस्दै आवासीय डाक्टरको रूपमा काम गर्दै थिए । उनी पुस २९ गते क्वाटरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार डा. गुप्ताले सुरुमा बायाँ हातको नाडीमा चक्कुले काटेका थिए । चक्कुले हात काटेपछि उनले सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले नाडी काटेको थाहा पाएपछि प्रतिष्ठानमा रहेका सुरक्षाकर्मीले उनी बसेको क्वाटरको ढोका खोल्न खोजेका थिए ।

तर, ढोका खोल्ने क्रममा नै गुप्ताले सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगु बताउँछन् । उनले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए । उनले भने, ‘उहाँले साथीहरूलाई केही म्यासेजहरू पठाएको देखिएको छ ।

उहाँले पठाएको म्यासेजका आधारमा थप अनुसन्धान भइरहेको छ । अहिले नै यसै हो भन्न सक्ने अवस्था छैन । प्रहरीले घटनाका विषयमा केही व्यक्तिसँग सोधपुछ गरिरहेको जनाएको छ । पोस्टमार्टम रिपोर्टले उहाँले आत्महत्या गरेको देखिन्छ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘परिवारले घटनाका विषयमा डिपार्टमेन्टलाई उद्धृत गर्दै जाहेरी दिनु भएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर-१ घर भएका मृतक डा. गुप्ता शनिवार घरबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएका थिए । परिवारका अनुसार उनले आफूलाई डिपार्टमेन्टमा काम गर्ने वातावरण नभएको बताउँदै आएका थिए ।

मृतकका भाइ अनुप गुप्ताले भने, ‘दाजुले डिर्पाटमेन्टका कारण आफू एक्लो भएको र पढाइ छाडेर आउने बताउँदै आउनुभएको थियो । अरूतिर ध्यान नदिई पढाइ सकेर आउनु भन्दै परिवारले उहाँलाई सम्झाउँदै आएको थियो ।’

उनका बुबा रामअवतार गुप्ताले नेपाल प्रेससँग भने, ‘पढाइमा अब्बल छोराको खबरले तनाव दिएको छ । यस विषयमा निष्पक्ष छानबिन होस् ।’

मृतक गुप्ता आइतबार पढाइपछि काममा गएका थिए । सोमबार काममा नगएका गुप्ता मंगलबार पनि काममा नगएको परिवारले दाबी गरेका छन् । मृतकका भाइ अनुपले इलाका प्रहरी कार्यालय धरानमा दिएको जाहेरीमा मंगलबार काममा नगएपछि दाजुका साथीहरूलाई फोन गरेको तर दाजुहरूले फोन नउठाएको उल्लेख छ । उनले को दाजुहरूले फोन नपठाएको त्यो भने खुलाएका छैनन्।

मृतक गुप्ताले डा. विजय मेहतालाई म्यासेज पठाउँदै आफूलाई एक्लो बनाइएको बताएका छन् । मेहता विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत रहेका छन् । उनी गुप्ताका स्कुलदेखिका साथी हुन् ।

उनले गुप्तालाई पठाएको म्यासेजमा भनेका छन्, ‘मलाई गलत देखाएर मेरो क्यारियरमा नै अवरोध ल्याउन खोजिरहेका छन् । मैले यो कुरा चिर्नलाई मेरो तर्फबाट बेस्ट गर्न खोजिरहेको छु । तर मेरो क्यारेक्टरलाई देखाएर एक्लो बनाउने काम गरिरहेका छन् ।’

उनले कसले एक्लो बनाउन खोजेको हो भन्ने कुरा खुलाएका छैनन् । मृतकका भाइ अनुपले घटनाका विषयमा छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

  • ४ माघ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech