राप्तीसोनारीका ८ सय विद्यार्थीहरुलाई स्वस्थ जीवनशैलीवारे प्रशिक्षण

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम


    • स्वास्थ्य पेज

  • २५ पुष २०८१, बिहीबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकामा करिव ८ सय विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । राप्तीसोनारी गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद शाखाको आयोजनामा ८ वटा विद्यालयका करिव ८ सय विद्यार्थीलाई विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम अन्तर्गत आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको शाखा प्रमुख अञ्जना थारुले जानकारी दिइन् । उनका अनुसार आयुर्वेद स्वास्थ्यबारे जानकारी गराउने, योगको सैद्धान्तिक तथा प्रयोगात्मक सीप सिकाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो ।

सरस्वती माध्यामिक विद्यालय भवानियापुर, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय चिलहरिया, भुवरभवानी माध्यामिक विद्यालय विनौना, दिप प्रकाश माध्यामिक विद्यालय लालपुर, अमर ज्योति माध्यामिक विद्यालय नन्कौपुर, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गुलरी, सरस्वती माध्यामिक विद्यालय पेनारी र जनता माध्यामिक विद्यालय बैजनाथपुरका कक्षा ८, ९ र १० का ती विद्यार्थीहरुलाई आयुर्वेदसँगै स्वस्थ जीवनशैलीका विभिन्न आयामहरुबारे जानकारी गराउने काम गरिएको उनले बताइन् ।

‘खासगरी शाखाले चारवटा थिममा रहेर विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम गर्दै आएको छ थारुले भनिन्–‘पहिलो कुरा विद्यार्थीहरुलाई आयुर्वेद स्वास्थ्यबारे जानकारी गराउने, दोस्रो स्वस्थ जीवनशैली तथा नसर्ने रोग न्यूनीकरण बारेमा जानकारी गराउने, तेस्रो स्थानीय रुपमा पाइने जडिबुटीबारे जानकारी प्रदान गर्ने र चौथो भनेको योगको सैद्धान्तिक ज्ञान सिकाउने र विद्यालयमै योगगुरुबाट प्रयोगात्मक अभ्यास गराउने ।’

अस्वस्थ जीवनशैलीका कारण पछिल्लो समय नर्सने रोगको प्रभाव समुदायस्तरमा फैलिँदै गएपछि राप्तीसोनारीले त्यसबारेमा विद्यालय उमेर समूहकै बालबालिकाहरुलाई जानकारी प्रदान गर्ने र स्वस्थ जीवनशैली अपनाउन उनीहरुलाई प्रेरित गर्न थालेको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले विद्यालय उमेर समूहका बालबालिकाहरुलाई स्वस्थ जीवनशैली अपनाउन विज्ञहरुकै उपस्थितिमा विद्यालय शिक्षा कार्यक्रम सुरु गरिएको बताए । यस्ता कार्यक्रमले बालबालिकाहरुमा स्वस्थ जीवनशैलीबारे जानकारी हुने र आफ्ना अभिभावकहरुलाई पनि सचेतना फैलाउन सहज हुने अध्यक्ष पौडेलको बुझाइ छ ।

गएको पुस १६ गतेबाट सुरु भएको विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम विहीबार सकिएको शाखा प्रमुख थारुले बताइन् । विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रममा शाखा प्रमुख थारुसहित बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका डा.गीता रेग्मी, खजुरा गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख किरण खनाल, नरैनापुर आयुर्वेद शाखा प्रमुख रोशन शर्मा, डुडुवा आयुर्वेद शाखा प्रमुख उर्मिला थारु, कोहलपुर आयुर्वेद शाखाका गौरी शंकर मण्डलले प्रशिक्षण दिएका थिए ।

शाखाले यसअघि राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडामा भान्सा सुधार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । भान्सालाई अस्पतालकै स्वरुप कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा आमा समूह, विद्यालयका प्रधानाध्यापक लगायतलाई अभिमुखिकरण गराइएको शाखा प्रमुख थारुले बताइन् ।चालु आर्थिक वर्षका लागि शाखालाई करिव १७ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा अव तत्काल जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, लागु पदार्थ दुव्र्यसन रोकथाम लगायतका कार्यक्रमहरु गर्ने योजनामा रहेको पनि उनले जानकारी दिइन् ।

  • २५ पुष २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech