बाँकेको राप्तीसोनारीमा स्क्रिनिङ शिविरः ५ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ

    • स्वास्थ्य पेज

  • २४ पुष २०८१, बुधबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकाले महिलाहरुको पाठेघर सम्वन्धी स्क्रिनिङ स्वास्थ्य शिविर सुरु गरेको छ । गाउँपालिकाले सबै वडामा स्क्रिनिङ शिविर आयोजना गर्ने उद्देश्यले राप्तीसोनारी गाउँपालिका वडा नं. ६ स्थित आधारभूत स्वास्थ्य केन्द्र कमैयाडाँडाबाट बुधवारदेखि शिविर सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिए । एक सय जना प्रजनन् उमेर समूहका महिलाहरुको भिआइए विधिबाट चेकजाँच गर्दा ५ जनामा पाठेघरको मुखको क्यान्सर पोजेटिभ देखिएको केसीले बताए । त्यसैगरी ४ जना महिलाको भने पाठेघर खस्ने समस्या देखिएको पनि उनले बताए ।

शिविरमा १२३ जना महिलाले सेवा लिएका थिए । भेरी अस्पताल नेपालगन्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.नवीन बुढाथोकी, नेपाल परिवार नियोजन संघ बाँकेका स्टाफ नर्स कुसुम श्रेष्ठले महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धी भिआइए परीक्षण गरेका थिए । आर्थिक वर्षको निशर्त तर्फ विनियोजन बजेटबाट स्क्रिनिङ शिविर सुरु गरिएको उनले बताए । कमैयाडाँडाबाट बुधवारदेखि सुरु भएको शिविर माघ ७ गते सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.९ स्थित महादेवपुरी स्वास्थ्य चौकीमा समापन हुने कार्यक्रम तय भएको पनि स्वास्थ्य शाखा प्रमुख केसीले बताए । आज विहीबार वडा नं.८ स्थित आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जमा शिविर आयोजना गरिएको छ ।

यसैगरी २६ गते शुक्रबार वडा नं.३ स्थित आधारभूत स्वास्थ्य केन्द्र भवानियापुर, २८ गते आइतवार वडा नं.७ स्थित फत्तेपुर स्वास्थ्य चौकी, २९ गते सोमवार वडा नं.१ स्थित खासकुश्मा स्वास्थ्य चौकी, माघ ३ गते विहीबार वडा नं.५ विनौना स्वास्थ्य चौकी, ४ गते शुक्रबार वडा नं.४ स्थित राप्तीसोनारी अस्पताल बैजापुर र ६ गते आइतवार वडा नं.२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्क्रिनिङ शिविर राखिएको छ । विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलि शिविरमा परिचालन हुने पनि उनले बताए । महिलाहरुमा पाठेघरको समस्या बढी देखिएको छ । विशेषगरी कामकाजी महिलाहरुमा यो समस्या बढी देखिएको छ । लाज र डरका कारण कतिपय महिलाहरु पाठेघरसँग सम्वन्धी समस्या लुकाउने गरेका छन् ।

पछिल्लो समय अझ पाठेघरको मुखको क्यान्सर सम्वन्धी समस्या महिलाहरुमा विकराल देखिएको चिकित्सकहरु बताउँछन् । समयमै रोगको पहिचान गरे पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सकिने चिकित्सकहरु बताउँछन् । त्यही भएर स्थानीय सरकारले गाउँघरमै शिविर राखेर महिलाहरुले झेल्दै आएका स्वास्थ्य समस्याको परामर्श, उपचार र निदानका लागि उनीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने प्रयास गरिरहेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल बताउँछन् । पाठेघरको मुखको क्यान्सर यस्तो क्यान्सर हो जुन स्क्रिनिङका माध्यमबाट पहिचान गर्न सकिन्छ । र, समयमै पहिचान भए उपचार गरेर निको पार्न सकिन्छ । अन्य क्यान्सर भने पहिचान गर्नै मुश्किल पर्ने चिकित्सकहरु बताउँछन् ।

पहिचान हुँदासम्म त्यसले विकराल रुप लिइसकेको हुन्छ । राप्तीसोनारी गाउँपालिकाले गतवर्ष पनि महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्क्रिनिङ शिविर गरेको थियो । त्यसमा ग्रामीण क्षेत्रका थुप्रै महिलाहरुले लाभ उठाएका थिए । बुधवार आयोजित शिविरमा वडा नं. ६ का वडा अध्यक्ष लवराज खरेल, राप्तीसोनारी स्वास्थ्य शाखा प्रमुख केसी, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख निपामत अलि साई, सहित स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

  • २४ पुष २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech