कोहलपुरः कोहलपुर नगरपालिका वडा नं.१५ अकलघरुवास्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ८ महिनाको अवधिमा एक हजार बढी बालबालिकालाई सेवा दिएको छ । भवन तथा सामाग्री हस्तान्तरण कार्यक्रम, सहायक सामाग्री निर्माण कार्यशाला भवन र उपकरण तथा फिजियोथेरापी सामाग्री र उपकरण हस्तान्तरण कार्यक्रममा केन्द्रका संयोजक मित्रबहादुर देउजाले ८ महिनाको अवधिमा १ हजार १२ जना अपाङ्गता भएका बालबालिकाहरुले सेवा लिएका बताए ।
बाँकेसहित लुम्विनी, कर्णाली र सुदूरपश्चिमका अपाङ्गता भएका बालबालिकाहरुले केन्द्रबाट सेवा लिदै आएको समेत उनले जानकारी दिए । विकलाङ मित्र समुह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले गएको बैशाख १ गतेदेखि अकलघरुवाबाट सेवा दिन थालेको हो । यसअघि नेपालगन्जबाट सेवा दिदै आएको थियो । २०६२ सालदेखि नेपालगन्जमा कार्यालय रहेर केन्द्रले सेवा दिदै आएको थियो । यो अवधिमा करिव १४ हजार बालबालिकाहरुले सेवा लिएको पनि देउजाले बताए ।
‘अहिले मासिक ७०–८० जना अपाङ्गता भएका बालबालिकाहरु उपचारका लागि केन्द्रमा आइरहेका छन् उनले भने–‘दैनिक ७ देखि १२ जनाको सर्जरी भइरहेको छ ।’ शल्यक्रिया गर्नुपर्ने अवस्थाका अपाङ्गता भएका बालबालिकाहरुको वेष्टर्न अस्पताल नेपालगन्जसँगको सहकार्यमा त्यहीनै शल्यक्रिया हुने गरेको छ । उनले ३–३ महिनामा अर्थोपेडिक सर्जन ल्याएर सेवा दिने गरिएको पनि जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अपाङ्गता भएका बालबालिकाहरुलाई सहज जीवनमा ल्याउन केन्द्रले गर्दै आएको काम अतुलनीय भएको बताए । उनले नयाँनयाँ प्रविधिको प्रयोग गरेर अपाङ्गता भएका बालबालिकाहरुलाई सामान्य जीवनमा फर्काउने कठिन काम भएपनि केन्द्रले गरिरहेको भन्दै खुसी ब्यक्त गरे । उनले स्थानीय सरकारले गर्न सक्ने सहयोगका लागि नेतृत्वदायी भूमिका खेल्न तयार रहेको पनि बताए ।
यस्तै नगर उपप्रमुख संगिता सुवेदीले पनि अपाङ्गता भएका बालबालिकाहरुको सवालमा केन्द्रले गर्दै आएको काम अत्यन्तै प्रशंसनीय रहेको बताइन् । उनले स्थानीय सरकारले गर्न सक्ने सहयोगका सवालमा आफु प्रतिवद्ध रहेको बताइन् ।
सिविएमको आर्थिक सहयोगमा शारीरिक पुनःस्थापना सुदृढिकरण परियोजना अन्तर्गत ६० लाख बढीको लागतमा तीन कोठे भवन, फिजियोथेरापीका लागि आवश्यक उपकरणलगायतको सहयोग गरिएको परियोजनाका म्यानेजर इरोज श्रेष्ठले बताए । २३ लाखको भवन र ३८ लाख ४५ हजारमा फिजियोथेरापी, उपकरण लगायतको सहयोग गरिएको उनले बताए ।
अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका अर्थोपेडिक सर्जन डा.यम प्रकाश गुरुङको सभापतित्वमा भएको कार्यक्रममा वडा नं.१५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, वडा नं.८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नं.१४ का वडा अध्यक्ष नम प्रसाद आले लगायतका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।