नेपालगन्ज: नेपालगन्ज मेडिकल कलेज नेपालगन्जले तत्काल कर्मचारीहरुको तलब बढाउनसक्ने अवस्था नरहेको जानकारी गराएको छ । संस्थाले अहिले पनि २९ करोड बढी घाटा व्यहोरिरहेको भन्दै अस्पतालले तत्काल कर्मचारीको सेवा सुविधा बढाउनुपर्ने माग सम्बोधन गर्न नसकिने जनाएको हो ।
कलेज व्यवस्थापनले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि आन्दोलनरत कर्मचारीहरुलाई बन्दका कार्यक्रम फिर्ता लिई स्वास्थ्य सेवा सञ्चालनमा सहयोग गर्न आग्रह समेत गरेको छ । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा अवरोध गर्न उचित नरहेको र यो मानवता विरोधी कार्य रहेको भन्दै अस्पतालले सेवा सञ्चालनमा सहयोग पुर्याउन सबैमा आग्रह गरेको हो ।
अस्पतालले हाल कर्मचारीहरुले माग गरेको तलब भक्ताका सम्बन्धमा आगामी आर्थिक वर्ष २०८२ श्रावण देखी लागु हुनेगरी कम्पनीको आर्थिक अवस्था अनुसार छलफल गरी दुवै पक्षको सहमतिमा लागू गर्ने गराउने जानकारी समेत गराएको छ । कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब भत्ता तथा सेवा सुविधा प्रति अस्पताल सजग रहेको र हालको अवस्था अनुसार दिनसक्ने सुविधा उवलब्ध गराउँदै आएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
अहिले अस्पतालमा जारी आन्दोलनका कारण दैनिक ८०० विरामीहरु लिन पाउने स्वास्थ्य सेवाबाट बन्चीत भएको अस्पतालले जानकारी दिएको छ । तलव वृद्धि लगायतका विभिन्न माग राख्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु गएको मंसिर २६ गतेदेखि आन्दोलनमा छन् । आन्दोलनमा उत्रिएका उनिहरुले शुक्रबारदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका छन् । सबै प्रशासनिक कार्यालयहरुमा पनि तालाबन्दी गरिएको छ । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सात बुँदे मागपत्र राखेका थिए ।
यसअघि सोमबार लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघका सभापति यमबहादुर खड्का, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन नेपालगन्जका अध्यक्ष अनिता थापा र लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठनका अध्यक्ष रत्ना गिरीले संयुक्तरुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई यसै विषयमा ज्ञापन पत्र बुझाएका थिए ।
मन्त्री पौडेलले भने कर्मचारीहरुले उठाएका जायज मागहरुको सम्वोधनको लागि आफ्नो तर्फबाट अस्पताल व्यवस्थापन पक्षसँग छलफल गरिने प्रतिबद्धता जनाउँदै आन्दोलनरत कर्मचारीहरुलाई माग राखेर अस्पताल वन्द नगर्न निर्देशन दिएका थिए।