जथाभावी औषधि सेवन नगरौं, पछि काम नै नगर्ने हुन सक्छ

    • डा सरोज पोखरेल/ जनरल फिजिसियन

  • ९ पुष २०८१, मंगलवार

एन्टिबायोटिकको गलत प्रयोग भइरहेको छ भन्ने कुरा नौलो भएन।हाम्रो देशमा एन्टिबायोटिक किन्न, बेच्न र प्रयोग गर्न अत्यन्तै सहज छ।

सहजै उपलब्ध हुने लगायत अन्य कारणले एन्टिबायोटिकको जथाभाबी प्रयोग बढेको छ। यसले गर्दा एन्टिबायोटिक प्रतिरोधी क्षमता पनि बढिरहेको छ। यो भनेको एन्टिबायोटिकले काम नगर्ने हुँदै जानु हो।

एन्टिबायोटिकको जथाभाबी प्रयोग नेपालका लागि मात्र नभएर विश्वकै चुनौती हो।

आवश्यकता भन्दा कम वा बढी वा नचाहिएका बेला एन्टिबायोटिक प्रयोग गर्दा त्यसले मास्नुपर्ने कीटाणु झन् बलिया हुँदै जान्छन्। भोलिका दिनमा औषधिले काम नै नगर्न सक्छ। त्यस्तो अवस्थामा हामीले त्योभन्दा कडा औषधि दिनपर्ने हुन्छ। अनि यही क्रम चलिरहे, कुनै दिन यस्तो आउन सक्छ, औषधिले कामै गर्दैन। अनि ज्यान नै खतरामा पर्छ।

सबभन्दा मुख्य कुरा, बिरामीको परीक्षण नगरी एन्टिबायोटिक दिनै हुँदैन। कस्ता बिरामीलाई एन्टिबायोटिक चाहिन्छ भनेर डाक्टरले भन्ने हो। औषधि पसल वा बिरामीले होइन।

रोगको लक्षण हेरेर, समस्या पत्ता लगाइसकेपछि बल्ल हामीले कुन औषधि दिने भनेर निर्णय गर्नुपर्छ। कतिपय गम्भीर अवस्थामा परीक्षण नगरी  एन्टिबायोटिक दिन सक्छन्।

भाइरलका कारण बिरामी भएकाले एन्टिबायोटिक खान पर्दैन। भाइरलका कारण थप समस्या आयो भने मात्रै एन्टिबायोटिक खाने हो। ९५ प्रतिशत बिरामीलाई सिटामोलले नै ठीक हुन्छ।

एन्टिबायोटिक खाँदा चट्टै निको हुन्छ वा आफूले खाएको औषधिले अरूलाई पनि ठीक हुन्छ भनेर त्यही खानु भनेर दिने पनि चलन छ। अनि अलिकति निको हुनासाथ एन्टिबायोटिकको मात्रा नपुर्‍याइ खान छोड्दिने पनि हुन्छ। यस्ता लापरबाहीले पनि एन्टिबायोटिकले काम नगर्ने हुँदै जान्छ।

रगत वा पिसाब परीक्षण नगरी एन्टिबायोटिक चलाउन हुँदैन। मेडिकलले पनि डाक्टरको सिफारिसबिना बेच्न हुँदैन।

तल उल्लिखित केही उपाय अपनाइयो भने एन्टिबायोटिकको गलत प्रयोग रोक्न सकिन्छः

– चाहिनेभन्दा धेरै औषधि नखाने

– डाक्टरको लिखित सिफारिस हेरेर मात्र औषधि बेच्ने

– औषधि खान हतार नगर्ने।

– औषधिको मात्रा पुर्‍याएर खाने।

– सम्बन्धित विज्ञ नभए औषधि सिफारिस नगर्ने।

– सबैले सरसफाइमा ध्यान दिने।

यसबाहेक खानपानमा ध्यान दिने, स्वस्थ्य जीवनशैली अपनाउने लगायत गर्दा एन्टिबायोटिक प्रयोगमा कमी आउँछ। योसँगै जथाभाबी प्रयोग पनि कम हुँदै जान्छ।

 

  • ९ पुष २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech