नेपालगन्जः पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कर्णाली प्रदेशमा पनि फैलिने बताए । यो प्रणाली विस्तारै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउने उनले जानकारी दिए ।
पूर्व सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिने उनले बताए । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने लामिछानेले बताए ।
उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए ।
महाशाखाले सोमबार साँझ सार्वजनिक गरेको विवरणमा हाल देशमा पश्चिमी वायुको प्रभाव रहेका तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हुने देखिएको छ ।
हाल देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जानकारी गराएको छ ।
मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गरे ।
विभागको अभिलेखमा सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस ७ दशमलव ८ डिग्री सेल्सियस पुगेकामा पुस ४ गते त्यहाँ माइनस ७ दशमलव २ डिग्री सेल्सियस थियो । अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।