सिकलसेलका बिरामीको औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

भेरी अस्पतालमा हमोग्लोप्याथी वार्ड र अपरेसन थियटरको उद्घाटन


    • स्वास्थ्य पेज

  • ८ पुष २०८१, सोमबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई आवश्यक पर्ने औषधि सरकारले निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालको नवनिर्मित भवनमा हमोग्लोप्याथी वार्ड र अपरेसन थियटरको सोमवार उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेलका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने गरी सरकार लागि परेको बताए । उनले त्यसका लागि भारतले सहयोग गर्न लागेको पनि उल्लेख गरे ।

‘आफु भारत भ्रमणका क्रममा भारतीय समकक्षीसँग सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सहयोगका लागि प्रस्ताव गरेको र भारतीय समकक्षीले सकारात्मक जवाफ दिएको बताउँदै उनले भने-‘प्रक्रियागत हिसावले विषयगत मन्त्रालयसँगको सहकार्यमा तत्काल औषधि उपलब्धताको प्रतिबद्धता आएको छ । आशा गरौं तत्काल औषधि प्राप्त हुनेछ ।’ उनले आफु निरन्तर संवाद र सम्पर्कमा रहेकाले भारतले खरिद प्रक्रिया पूरा गरेर नेपालमा औषधि उपलब्ध गराउने विश्वास दिलाए ।

उनले सिकलसेलका बिरामीका लागि आवश्यक पर्ने औषधि सिकलसेल डे केयर वार्ड संचालनमा रहेका अस्पतालहरुलाई सरकारले उपलब्ध गराउने र त्यहीबाट बिरामीहरुले सहज तरिकाले औषधि प्राप्त गर्ने पनि मन्त्री पौडेलको भनाइ छ । प्रादेशीक अस्पतालहरुमा सिकलसेलका बिरामीलाई लक्षित गरी डे केयर वार्ड संचालनका लागि सरकारले काम गरिरहेको पनि उनले बताए ।

अव छिट्टै बर्दिया अस्पताल, कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा पनि सिकलसेलका बिरामीलाई लक्षित गरेर डे केयर वार्ड संचालन गरिने पनि बताए । उनले सिकलसेल एनिमिया पुस्तान्तरण हुन नदिन बच्चा जन्मने वित्तिकै स्क्रिनिङ गर्ने गरी मन्त्रालयले योजना बनाउने पनि विश्वास दिलाए । अहिलेसम्म उपचारात्मक क्षेत्रलाई मात्रै प्राथमिकता दिएर सरकारले काम गर्दै आएको उल्लेख गर्दै उनले अव निरोधात्मक कार्यक्रमलाई पनि सरकारले प्राथमिकता दिएको उनले बताए । ‘रोग लागेपछि त्यसको उपचार गर्ने सरकारको दायित्व त छदै छ उनले भने-‘अव रोग लाग्नै नदिने गरी सचेतनाका कार्यक्रमहरुलाई पनि सरकारले जोड दिन्छ ।’

फरक प्रसंगमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएको जनशक्ति अभाव पूर्तिका लागि मन्त्रालय लागि परेपनि समाधान खोज्न कठिन रहेको बताए । अहिले देशभर ३२ हजार स्वास्थ्यकर्मी अभाव रहेको वताइन्छ ।  विगतमा भएका ओएनएम सर्भेले देशभरका अस्पतालत तथा स्वास्थ्य संस्थामा ३२ हजार जनशक्ति अभाव भएको देखाउँछ मन्त्री पौडेल भन्छन् तर ३२ सय जनशक्ति पनि थप्ने अवस्था छैन । कम्तिमा १२ देखि १५ सय जनशक्ति थप्ने गरी मन्त्रालय लागि परेको छ । उनले संघीय अस्पतालहरुमा एमडीएमएस कार्यक्रम सुरु भएपछि अस्पतालहरुमा देखिएको जनशक्ति अभावलाई केही हदसम्म टार्ने विश्वास समेत लिए ।

कार्यक्रममा अस्पतालका प्रमुख मेसु डा.निराजन सुवेदीले अस्पतालले गरेका प्रगति र चुनौति तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया रोगको अवस्था, उपचार र निदानका सवालमा भइरहेका कामहरु समेटिएको छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको भेरी अस्पतालको नवनिर्मित भवनमा हमोग्लोप्याथी वार्ड र अपरेसन थियटर उद्घाटन कार्यक्रममा पूर्वमन्त्रीहरु अमरसिंह पुन, गोपाल दहित, प्रतिनिधिसभा सदस्य आशा विक, जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, बर्दिया अस्पतालका मेसु डा.सुभाष पाण्डे लगायत अस्पतालका पूर्वमेसुहरु पूर्वअध्यक्षहरु, प्रमुख कन्सल्टेन्ट चिकित्सकहरु, वरिष्ठ कन्सल्टेन्ट चिकित्सकहरु, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको सहभागिता रहेको थियो । अस्पताल विकास समितिका सदस्य डा.डक्ट धितालले संचालन गरेको कार्यक्रममा अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

 

  • ८ पुष २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech