नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द, विरामी मर्कामा

    • स्वास्थ्य पेज

  • ५ पुष २०८१, शुक्रबार

नेपालगन्जः तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले शुक्रबारदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा समेत माग सम्बोधन नभएको भन्दै यसअघि नै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । आफ्ना मागको अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै उनीहरू आक्रोशित भएका छन् ।

पुस ३ र ४ गते दिउँसो १ बजेदेखि आधा दिन ओपीडी र शैक्षिक कार्यक्रमहरू आंशिक बन्द गरिएकोमा आजदेखि इमर्जेन्सी बाहेक ओपिडी र शैक्षिक कार्यक्रम पूर्णरूपमा बन्द गरिएको आन्दोलन परिचालन कमिटीकी संयोजक एवम् कर्मचारी संगठन सभापति रत्नाकुमारी गिरीले जानकारी दिइन् । सबै प्रशासनिक कार्यालयहरुमा पनि तालाबन्दी गरिएको छ । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सात बुँदे मागपत्र राखेका थिए । आज कोहलपुरमा पत्रकार सम्मेलन गरेर आफ्ना माग र थप आन्दोलनका कार्यक्रमबारे जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा आन्दोलन परिचालन कमिटी सह–संयोजक एवम् कर्मचारी संघ सभापति यम बहादुर खड्का, आन्दोलन परिचालन कमिटी सह–संयोजक एवम् स्वास्थ्यकर्मी युनियन सभापति अनिता थापा लगायतको उपस्थिति थियो । कर्मचारीले उठाएका उक्त मागहरु पूरा गर्ने सवालमा अस्पताल प्रशासन सराकात्मक नदेखिएपछि मङ्सिर २६ गतेबाट कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । मेडिकल कलेजका कर्मचारी आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाहमा असर परेको छ ।

आन्दोलनरत कर्मचारीले आन्दोलनका बेलामा इमर्जेन्सी सेवा भने सुचारु रहने स्पष्ट पारेका छन् । नेपालगन्ज मेडिकल कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्मा संस्था घाटामा चहिरहेकाले अहिले नै कर्मचारीको तलब वृद्धि गर्ने माग पूरा गर्न सकिने अवस्था नरहेको बताए । हाल नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब ११ सय कर्मचारी कार्यरत छन् ।

  • ५ पुष २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech