नेपालगन्जः एचआइभीको रोकथाम, जाँच र लिकेज सेवाहरु सुधारका लागि सम्बद्ध सबैको भूमिका महत्वपूर्ण हुने नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । ए.एच.एफ नेपालको आयोजनामा मंगलवार स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा सहभागि वक्ताहरुले एचआइभीको जोखिम अझैपनि कायमै रहेकाले यसको रोकथामका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राइले एचआइभी संक्रमितहरुलाई हेर्ने दृष्टिकोणमा विस्तारै सकारात्मक परिवर्तन हुँदै गएको उल्लेख गर्दै अव संक्रमित परिवारको जीविकोपार्जनका कार्यक्रमहरु अगाडि बढाउन आवश्यक रहेको बताए । उनले नेपालगन्ज उपमहानगरपालिकाले एचआइभी संक्रमितहरुलाई उपचारको पहुँचमा ल्याउने काम गर्दै आएको बताउँदै रोजगारमुलक कार्यक्रममा समेत समेट्न सकिने योजनामा उपमहानगर रहेको पनि बताए ।
भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.कीर्तिपाल सुवेदीले एचआइभीको संक्रमण नियन्त्रण अहिलेपनि चुनौतिपूर्ण रहेकाले ग्रामीणस्तरमा सचेतना जरुरी रहेको बताए । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पनि संक्रमित परिवारहरुको जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकता दिनु अहिलेको आवश्यकता रहेको बताए ।
ए.एच.एफ नेपालका कार्यक्रम संयोजक संजय कुमार पौडेलले एचआईभी रोकथाम, जाँच तथा लिकेज सेवाहरुमा सुधार गर्ने गरी कार्यक्रमहरु संचालन गर्दै आइरहेको उल्लेख गरे । उनले एचआईभीको सेवा गुणस्तरीय बनाउदै लैजाने र संक्रमितहरुको हेरचाह र सेवाको पहुँचमा बढोत्तरी गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको पनि उल्लेख गरे । उनले संक्रमित विरामीहरुले एआरटी सेवा नियमित नलिएका कारण पनि चुनौति रहेको बताए ।
परियोजनाले उपचारको पहुँचमा ल्याउन संक्रमितहरुलाई यातायात सुविधा, त्यसैगरी पोषण सामाग्री, औषधिमा समेत सहयोग गर्दै आएको छ । बीमामा नसमेटिएका औषधि सहयोग गर्ने गरिएको उनले बताए । यसैगरी आर्थिक आयआयर्जनदेखि शिक्षमा पनि सहयोग गर्ने गरिएको उनको भनाइ छ । रविन्द्र सिंह राठौरले सहजिकरण गरेको उक्त कार्यक्रममा भेरी अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक इश्वरी केसी, कन्सल्टेन्ट फिजिसियन डा.संकेत रिसाल, स्वास्थ्य कार्यालय बाँकेका एचआइभी फोकल पर्सन रविन्द्र कुमार शाह लगायतको सहभागिता रहेको थियो ।