लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर

    • स्वास्थ्य पेज

  • २४ मंसिर २०८१, सोमबार

बुटवलः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूति सेवाका लागि छुट्टै अपरेसन थिएटर सञ्चालनमा ल्याएको छ । अस्पतालले ८ बेडको रिकभरी वार्ड तथा १५ बेडको पोष्ट अपरेटिभ बेडसहित नयाँ थिएटर सञ्चालनमा ल्याएको हो । योसँगै अब हप्ताको सातै दिन प्रसूति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउन सकिने अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. ढकालले अस्पतालमा आठ शैयाको रिकभरी वार्ड तथा १५ शैयाको पोष्ट अपरेटिभ शैयासहित नयाँ शल्यक्रिया कक्ष सञ्चालमा आएको बताए । उनले अब हप्ताको सात दिन प्रसुति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउने जानकारी दिए । सञ्चालनमा ल्याइएको नयाँ शल्यक्रिया कक्षमा एक वटा शल्यक्रिया कक्ष तथा दुईवटा ठूलो शल्यक्रिया कक्ष रहेको अस्पतालका मेसु ढकालले जानकारी दिए । मेसु ढकालले छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसुति सेवा थप गुणस्तरीय र सहज हुने बताए ।

अस्पतालबाट विगत तीन वर्षदेखि बार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब प्रसुतिका लागि छुट्टै शल्यक्रिया कक्षा बनेपछि ३३ प्रतिशतले शल्यक्रियाको सेवा वृद्धि हुने अस्पतालले जनाएको छ । मेसु ढकालले अस्पतालमा पर्याप्त भौतिक संरचनाको अभाव, उपकरण तथा जनशक्ति नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी बाहेक अरु विरामीलाई महिनौंपछि आउनेगरी पालो लगाउनु पर्ने बाध्यता अव कम गर्नेतर्फ अस्पताल लागेको पदाधिकारीहरुको भनाइ छ ।

अस्पतालको तथ्यांकअनुसार पछिल्लो आर्थिक वर्ष २०८०–८१ मा ९ हजार ७ सय ६५ शल्यक्रियामध्ये चार हजार ५४७ वटा शल्यक्रिया प्रसुति सेवातर्फको रहेको छ । अस्पतालमा प्रसूति सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये सात हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा बिस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।

पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट तीन लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य उपचार सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसुति तर्फको शल्यक्रिया कक्ष बिस्तार गरेसँगै अव महिनौं पालो कुर्नुपर्ने समस्या धेरै समाधान हुने अस्पतालको दाबी छ । अस्पतालका अनुसार शल्यक्रिया कक्ष बिस्तारसँगै विगतमा सातामा दुई दिन हुने हाडजोर्नीसम्बन्धी शल्यक्रिया अब सातामा तीन दिन हुनेछ ।

सोहीअनुसार शल्यक्रियातर्फ नाक, कान, घाँटीसम्बन्धि शल्यक्रियाका लागि पनि सातामा तीन दिन पालो आउने छ । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउन अस्पताललाई थप प्रतिवद्ध बनाउने गरी काम भइरहेको बताए । सेवाग्राहीको चाप अस्पतालमा बढी रहेको बताउँदै श्रेष्ठले सकेसम्म सीमित श्रोत साधनबाट भए पनि सेवालाई गुनासोरहित बनाउने प्रयासमा आफूहरु रहेको बताए ।

  • २४ मंसिर २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech