‘पोषण’ सुधार्न लुम्बिनीमा विशेष कार्यक्रम

    • स्वास्थ्य पेज

  • २१ मंसिर २०८१, शुक्रबार

रुपन्देहीः कुपोषण लयायतका स्वास्थ्य समस्या निदान गर्न लुम्बिनीमा विशेष कार्यक्रम सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य मन्त्रालयले यो कार्यक्रमलाई १२ जिल्लामा लागू गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिँदै विशेष कार्यक्रम अघि बढाएको जानकारी दिए ।

दाङको भालुबाङमा आयोजित प्रदेशस्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रीय पोषण विषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै विशेष कार्यक्रम लागू गरिएको बताएका हुन् ।

‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन विशेष कार्यक्रम लागू गरेका छौँ’ मुख्यमन्त्री आचार्यले भने, ‘मातृ शिशु मृत्युदरलाई घटाउँछौँ । पोषणको अवस्थालाई सुधार गर्छौँ । बाल मृत्युदर घटाउँछौँ । सरकारले यी क्षेत्रमा उपलब्धि हासिल गर्ने गरी कार्यक्रम अघि सारेको छ ।’

लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागू गरेको हो । यो कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । तथ्यांकगत रूपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्ने गरी विशेष कार्यक्रम लागू गरिएको सरकारले जनाएको छ ।

‘तथ्यांक हेर्दा हाम्रा सूचकहरु कमजोर छन् । यी कमजोर सूचकहरूलाई माथि उठाउनेगरी लक्षित गरेर कार्यक्रम केन्द्रित गरिएको छ । अबको तीन वर्षमा यी सूचकहरुमा सुधार आउनैपर्छ’मुख्यमन्त्री आचार्यले भने,‘परम्परागत मूल्यमान्यतालाई पनि सुधार गर्दै सामाजिक जागरण र सशक्तीकरणको अभियान चलाउन जरुरी छ ।’

विभिन्न बहानामा अझैँ पनि बालविवाह हुने गरेको, जसले गर्दा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषणजस्ता समस्या देखा परेको भन्दै मुख्यमन्त्री आचार्यले सबै पक्ष गम्भीर हुनुपर्ने बेला आएको बताए ।

‘बालविवाह नगर्ने, गरेको खण्डमा कानुनी कारबाही हुने सम्मको व्यवस्था छ । तर, अझैँ यो समस्या समाधान हुन सकेको छैन’ उनले भने, ‘बनेका कानुनको कार्यान्वयन गर्दै सामाजिक जागरण र सचेतना अभिवृद्धिको कार्यक्रम व्यापक बनाउन जरुरी छ ।’

स्वास्थ्य क्षेत्र सुधार गर्न साझा प्रयास र प्रयत्नको खाँचो पर्ने भनाई उनको छ । दातृ निकायसँग साझेदारी गरेर कार्यक्रम अघि बढाउनुपर्ने भन्दै त्यसका लागि लगानी केन्द्रित गर्न उनले आह्वान गरे ।

प्रदेशका १२ जिल्लालाई आधार मानेर स्वास्थ्य मन्त्रालयमार्फत कार्यक्रम कार्यान्वयनमा लगिएको छ । आरआरएनको आयोजनामा रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिका पोषण सुधार परियोजना लागू भएको थियो । जुन परियोजनाले हासिल गरेको अनुभव तथा सिकाई आदानप्रदान गरिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारका लागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गीता नेपालीले ११ बुदे ज्ञापनपत्रसमेत बुझाएकी थिइन् । प्रदेशस्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुनर्स्थापना कार्यक्रम लागू गर्नुपर्नेलगायतका माग समेटिएका छन् ।

  • २१ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech