कोहलपुरमा समलिङ्गी विवाह दर्ता

    • स्वास्थ्य पेज

  • २० मंसिर २०८१, बिहीबार

कोहलपुरः बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । जाजरकोटकी ३० वर्षीय सञ्जु विक र कोहलपुर–१४ की २९ वर्षकी रिचा सुनारले वडा नम्बर १४ को कार्यालयमा पुगेर समलिङ्गी विवाह दर्ता गराएका छन् । कोहलपुर नगरपालिका–१४ का वडाध्यक्ष नमबहादुर आलेमगरले वडा कार्यालयले नगरभित्रै पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको बताए। विवाह गर्ने जोडीको परिवारसँग समेत कुराकानी गरेर दुवैको राजीखुसीमा विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडाध्यक्ष मगरले जानकारी दिए ।

वडा कार्यालयले विवाह दर्ता गरेपछि खुसी हुँदै सञ्जु र रिचा दुवै जनाले नगरपालिकालाई धन्यवाद दिए । समलिङ्गी विवाह दर्ता गर्न राष्ट्रिय परिपत्र तथा पञ्जीकरण विभागले गत वैशाख १२ गते सबै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो । वडा सचिव हरिकृष्ण चौधरीले विभागको परिपत्र अनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए ।

वडा सचिव चौधरीले कोहलपुरमा समलिङ्गी विवाह दर्ता भने पहिलो पटक गरेको बताए । उनले भने-‘धेरै विवाह दर्ता गराएँ, समलिङ्गी विवाह दर्ता गरेको भने यो नै पहिलो पटक हो । नयाँ सिकाइ भयो ।’

विवाह दर्ता गराउन मायाको पहिचान नेपालले अगुवाइ गरेको जनाएको छ । मायाको पहिचान नेपालको पहलमा उनीहरूको विवाह दर्ता हुन सफल भएको सो संस्थाका सचिव सुरेन्द्र पाण्डेले बताए ।

  • २० मंसिर २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech