नेपालगन्ज: सरकारी जागिरे जीवनबाट निवृत्त भएपछि धेरैले बाँकी जीवन आरामदायी तरिकाले विताउन चाहन्छन् । घरपरिवारसँग रमाउने, नयाँनयाँ ठाउँ घुम्ने र कतिपयले त अझ आफूलाई आध्यात्मिक बाटोमा डोर्याउँदै मनलाई प्रफुल्ल पार्न प्रयासरत हुन्छन् । तर, ६८ वर्षीय वरिष्ठ बालरोग विशेषज्ञ डा.विनोद खेतानको सेवा निवृत्त जीवन भने सरकारी जागिरे जीवन प्रारम्भ गर्दाका जुन दिन थिए अहिले त्यो भन्दा बढ्ता व्यस्त र धपेडीमा वितिरहेका छन् ।
बिरामीप्रतिको लगाव उस्तै छ । खटाई त्यो भन्दा बढ्ता । ‘भेरी अस्पतालमा काम गर्दा ड्युटी निश्चित समय हुन्थ्यो, इमर्जेन्सी कल आउँदा मात्रै रातविरातमा कुद्नुपर्ने हुन्थ्यो,’ उनी भन्छन्–‘अहिले म चौबिसै घण्टा अस्पतालमा बस्छु ।’ उनको आफ्नै अस्पताल छ । भेरी अस्पतालमै छँदा उनी अस्पताल अघिको समय र पछिको समयमा क्लिनिकमा बस्थे । वि.सं. २०७३ सालमा भेरी अस्पतालबाट सेवा निवृत्त भएपछि उनले क्लिनिकलाई विस्तार गर्दै बनाए यशोदा अस्पताल । यही अस्पतालमा उनको अधिकांश समय वित्छ, बिरामी बालबालिकाहरुको हेरचाहमा ।
रिटायर्ड जीवनमा पनि यति व्यस्तता किन ? प्रश्न मुखबाट खस्न नपाउँदै उनले भने–‘डाक्टर कहिल्यै रिटायर्ड हुन सक्दैन र हुँदैन पनि ।’ उनीसँगैका अधिकांश सारथीहरु सेवा निवृत्त जीवनलाई आरामदायी तवरले विताइरहेका छन् । डा.खेतानलाई पनि आरामदायी जीवन विताउने रहर नभएको भने होइन । तर, उनलाई खोज्दै बिरामी बालबालिकाहरु ल्याएर अस्पतालमा आउने अभिभावकहरुका अनुहारले उनका ब्यक्तिगत चाहना र रहरलाई अहिलेसम्म छोपिरहेको छ ।
३९ वर्षको पेशागत जीवनमा उनले कति वालबालिकाको उपचार गरे थाहा छैन । मृत्युको मुखमा पुगेका कति बालबालिकाको प्राण फर्काए त्यो पनि थाहा छैन । तर, लुम्विनी, कर्णाली र सुदूरपश्चिमका लाखौं अभिभावकहरुले डा.खेतानको नाम सम्झिरहन्छन् । ‘बालबालिकाहरुको सबैभन्दा सुरक्षित घर आमाको पेट हो । त्यसपछि आमाको काख,’ उनी भन्छन्–‘स्वस्थ वातावरण, दूध अनि माया बालबालिकाहरुको सबैभन्दा सुरक्षित आधार हुन् । अरु त सेकेन्डरी कुरा हुन् ।’ उपचारका लागि ठूल्ठुला उपकरण नचाहिने उनको अनुभव छ ।
तर, सफल चिकित्सकमा शक्तिशाली विचार हुनुपर्ने डा.खेतानको मत छ । सही समयमा सही निर्णय लिन सक्ने क्षमता डाक्टरमा हुनुपर्नेमा उनको जोड छ । उनले तीन वर्ष अघिको एउटा बिरामीको कथा सुनाए । रुपैडिहाबाट त्यहाँका चिकित्सकले एक जना बिरामी बालकलाई थप उपचारका लागि नेपालगञ्ज पठाए । अभिभावकले बालकलाई नेपालगञ्जका प्रायः सबै अस्पतालमा पुर्याए । तर, अवस्था जटिल भएकाले भर्ना गरेर उपचार गर्ने आँट कसैले गर्न सकेनन् । अन्तिममा ती बालकलाई मध्यराती यशोदा अस्पतालमा पुर्याइयो ।
डा.खेतानले ८/९ वर्षका ती बालकको नाडी समाए । चलेको थिएन । नसा पत्ता लगाउनै सकस प¥यो । शरीरमा रगत नै थिएन । एक थोपा रगत निकाल्नै मुश्किल । तर, डा.खेतानले यो केसलाई निकै चलाखीपूर्ण तरिकाले हेन्डिलिङ गरे । र, बच्चाको प्राण फर्काए । उनले यस्ता केसहरुलाई सफलता भन्दा पनि पेशागत जीवनमा प्रेरणाका रुपमा लिने गर्छन् । ‘पेशागत जीवनका उपलब्धिहरु मेरा लागि प्रेरणाका स्रोत हुन्,’ उनी भन्छन्–‘समस्यासँग भाग्ने भन्दा पनि समाधान खोज्नेमा ध्यान दिने गरिएकाले पनि यो अवस्थासम्म आएको हो कि भन्ने लाग्छ ।’ उनको जीवनमा अनगिन्ती चोटहरु छन् ।
२३ वर्ष अघि जीवन संगिनी सुनिता खेतानले प्राणघातक क्यान्सर रोगबाट ज्यान गुमाइन् । छोरी खुस्वु र छोरा शिवमलाई आफैं हुर्काए । छोरी खुस्वु अहिले डाक्टर छिन् । उनको विहेवारी भइसक्यो । शिवम पनि डाक्टर हुन् । उनी नेपालगञ्ज मेडिकल कलेजमा पिजी गर्दैछन् । केही महिनापछि उनले पीजी पूरा गर्नेछन् । जीवन संगिनी गुमाउनु पर्दाको त्यो पीडा । छोराछोरी हुर्काउनु पर्दाको अभिभावकीय दायित्व डा.खेतानलाई राम्रोसँग थाहा छ । तर, उनले बालबालिकाको उपचार गर्न भने कहिल्यै छाडेनन् ।
ती सबै पीडा र चोटहरु उनले आफूले उपचार गरेर जब बालबालिकाहरु हँसिलो अनुहार लिएर फर्किन्थे, त्यसैमा भुलाइदिन्थे । सन् १९५६ मा तत्कालीन विरगञ्ज नगरपालिका हाल महानगरपालिका–७ रेशमकोठीमा पहिलो सन्तानको रुपमा डा.खेतानको जन्म भयो । गिरीधारी लाल खेतान र सुन्दरी खेतानको कोखबाट जन्मिएका खेतानका दुई भाई र दुई बहिनी छन् । बुवा विजनेशम्यान थिए । पढ्नमा मेधावी डा.खेतानले स्कुल लेभलको पढाई त्रिभुवन हनुमान हाइस्कुलबाट पूरा गरे । वि.सं. २०२८ सालमा उनले प्रथम श्रेणीमा एसएलसी पास गरे । त्यतिबेला प्रथम श्रेणीमा एसएलसी पास गर्ने उनी नारायणी अञ्चलका एक्ला छात्र थिए ।
वि.सं. २०३२ सालमा उनले ठाकुरराम बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरे । त्यतिबेला डाक्टर पढ्न अहिले जस्तो सजिलो थिएन । नेपालमा पढाई हँुदैनथ्यो । डाक्टर पढ्न भारत जानु पथ्र्यो । भारतले नेपालका लागि निश्चित कोटा पठाउँथ्यो । सन् १९७५ का लागि शिक्षा मन्त्रालय अन्तर्गत नेपाललाई भारतले ६ वटा कोटा पठाएको थियो । खेतानले आवेदन दिए । दोस्रो नम्वरमा नाम निकाले । जवाहरलाल नेहरु मेडिकल कलेज (तत्कालीन भागलपुर मेडिकल कलेज) बाट सन् १९८२ मा एमबीबीएस उत्तीर्ण गरे । उनले दुई वर्ष जवाहरलाल नेहरु मेडिकल कलेजमै रेजिडेन्टको रुपमा काम गरे । त्यसपछि उनी नेपाल फर्किए ।
वि.सं.२०४२ सालमा कान्ति बाल अस्पताल काठमाडौंमा मेडिकल अधिकृतको रुपमा दुई वर्ष काम गरे । त्यसको दुई वर्षपछि वि.सं.२०४४ सालमा स्थायी भए । उनको पहिलो पोष्टिङ थियो, सिन्धुपाल्चोकको चौतारा जिल्ला अस्पताल । करिब दुई वर्ष चौतारा जिल्ला अस्पतालमा विताएपछि उनको भेरी अस्पताल नेपालगञ्जमा सरुवा भयो । वि.सं. २०४६ सालमा भेरी अस्पताल आएका डा.खेतान त्यसपछि भने अहिलेसम्म निरन्तर पश्चिम नेपालका जनताको स्वास्थ्य सेवा र उपचारमा अनवरतरुपमा खटिइरहेका छन् ।
नेपालगञ्जकै माटोमा उनले स्वास्थ्य सेवारुपी मिहिनत र पसिना बगाइरहेका छन् । आफ्नो चिकित्सकीय कर्ममा निरन्तर रमाइरहेका छन् । त्यतिबेला भेरीमा डा.गोपाल श्रेष्ठ, डा.निनु श्रेष्ठ, डा.दुर्गा प्रधान, डा.उषा शाह, डा.एम. किदवाई, डा.सुरेश कनोडिया लगायत थिए । करिब ५० को त्यो दशक । भेरी अस्पतालको अवस्था के थियो होला ? न भौतिक पूर्वाधार, न त पर्याप्त जनशक्ति । न त उपकरण । ‘प्रत्येक दिन दुई तीन सय बिरामी आउने भेरीमा एक्सरे मेसिन त एउटा थियो’–उनी सम्झन्छन् । डा.गोपालसँग उनी ओपिडीमा बस्थे ।
उपचारका लागि बालबालिकाहरु लिएर आउने अभिभावकहरुसँग गरेको उनको त्यो काउन्सिलिङले डा.गोपाल प्रभावित थिए । डा. गोपालले ओपिडीमा बालबालिका आए डा.खेतानलाई नै हेर्ने जिम्मा दिन्थे । ‘डा.गोपालले नै एक दिन तिमी मायालु पनि छौ, डिसिएच नै गर भनेर सुझाए,’ डा.खेतान सम्झन्छन्–‘त्यसपछि वि.सं. २०५३ सालमा डिसिएच अर्थात् डिप्लोमा इन चाइल्ड हेल्थ पूरा गरें अनि बालरोग विशेषज्ञता हासिल गरें । त्यतिबेला अहिले जस्तो एमडी भन्ने थिएन ।’ भेरी अस्पतालमा पेडियाट्रिक विभागको स्थापना गर्ने श्रेय डा.दुर्गा प्रधान र डा.खेतानलाई जान्छ ।
प्रधान र खेतानले नै एनआइसीयु सेवा विस्तार गरे । प्रधान सेवा निवृत्त भएपछि डा.खेतानले नै वि.सं. २०६०–०६९ सम्म भेरी अस्पतालमा पेडियाट्रिक विभाग एक्लै चलाए । विभाग मात्र होइन, उनले प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट भएर पनि भेरी अस्पतालको प्रशासकीय नेतृत्व सम्हाले । ‘जीवनको उर्जाशील समय यस क्षेत्रका बिरामीहरुको सेवा, अस्पतालको श्रीवृद्धिमा खर्चिएँ,’ उनी भन्छन्–‘सीमित स्रोत साधनका बीच स्तरीय सेवा दिने प्रयास गरियो ।’ जन्मथलो वीरगञ्ज भएपनि कर्मथलो नेपालगञ्ज बनाएका डा.खेतान शालिन, भद्र र सरल चिकित्सकका रुपमा परिचित छन् ।
यहाँका अधिकांश बालरोग विशेषज्ञहरु उनलाई अभिभावकका रुपमा लिन्छन् । उमेरले करिब ७० को दशकमा पाइला चाल्दै गरेका डा.खेतानको अरु कुनै ठूलो योजना छैन, छ त केबल अब बाँकी जीवनलाई प्रकृतिसँग अन्तरघुलन गर्न । ‘मैले आफ्नो सम्पूर्ण जीवन बिरामीको सेवामा विताएँ,’ उनी भन्छन्–‘बाँकी जीवन प्रकृतिसँग रमाएर विताउन चाहन्छु ।’ तर कहिले ? पंक्तिकारको जबाफ फर्काउँदै छोरा शिवमप्रति उनी संकेत गर्छन् अनि आशातीत भावमा भन्छन्–‘अबको ६ महिनापछि ।’ छोरा शिवमले अबको केही महिनापछि पीजी पूरा गर्दैछन् ।
अनि उनले जब बुवाको पदचाप पछ्याउँदै काँधमा जिम्मेवारी लिनेछन्, डा. खेतानलाई आफ्नो नित्य कर्मबाट विश्रांति मिल्नेछ । शिवमले बालरोगमा विशेषज्ञता हासिल गरिसकेपछि डा.बिनोद खेतानको प्रकृति प्रेममा लतपतिने चाहना सायद पूरा हुनेछ ।