सडकमा जथाभावी स्वास्थ्यजन्य फोहोर फोलेपछि हरि ॐ मेडिकललाई ५ हजार रुपैयाँ जरिवाना

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०८१, मंगलवार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही गरिरहेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई निरुत्साहित गर्ने उद्देश्यले कारबाही थालिएको हो । मंगलवार विहान मात्रै सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि एक मेडिकललाई जरिवाना गराइएको छ ।

त्रिभुवनचोक सदरलाइनस्थित हरि ॐ मेडिकल हललाई सडकमा जथाभावी स्वास्थ्यजन्य फोहोर फोलेपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताए । स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि ‘नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम मेडिकल हलका प्रोप्राइटर विनोद कुमार गुप्तालाई जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताए ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, नगर प्रहरी प्रमुख बोगटी, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली विहान अनुगमनमा गएको थियो । यसअघि पनि एक साता अघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाले सडकमा फोहोर फालेको पाइएपछि भेरी अस्पताल अगाडि रहेको अंकित मेडिकल हल तथा अंकित अल्ट्रासाउन्डलाई ५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

त्यसअघि मंसिर पहिलो साता सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशिर्बाद पेन्ट्स प्रालिलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको थियो । नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कारबाही समेत गर्न थालेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए ।

  • १८ मंसिर २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech