हेमोफेलियाका बिरामीलाई भेरीमै निःशुल्क औषधि, के हो हेमोफेलिया ?

    • प्रियास्मृति ढकाल

  • १६ मंसिर २०८१, आईतवार

नेपालगन्जः ‘हेमोफेलिया’ अर्थात् ‘जेनेटिक ब्लड डिसअर्डर’का बिरामीहरुका लागि आवश्यक पर्ने निःशुल्क औषधि अव भेरी अस्पतालमै पाइने भएको छ । हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ भेरी अस्पतालमै निःशुल्क पाइने भएको हो । यसअघि यो सेवाका लागि बिरामीहरु काठमाडौं जानुपर्ने बाध्यता थियो ।

भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले आजदेखि हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ भेरी अस्पतालमै निःशुल्क रुपमा पाइने व्यवस्था मिलाइएको बताए । भेरी अस्पतालमा यो सेवा सुरु भएसँगै पश्चिम नेपालका हेमोफेलियाका बिरामीका लागि उपचारमा सहजता र सुविधा पुगेको छ ।

अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन समेत रहेका डा. पाण्डेले हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने फ्याक्टर–८ र ९ भेरी अस्पतालबाटै पाइने भएपछि बिरामीलाई निकै सहज भएको बताए । उनले भने–‘काठमाडौंमा मात्रै पाइने यो सुविधा नेपालगन्जमै पाइने भएपछि बिरामीलाई संघीय राजधानी आउने जाने समय र बिरामीको अन्य खर्च पनि जोगिन्छ ।’

विश्व हेमोफेलिया महासंघ (डब्लुएफएच) का सदस्य समेत रहेका प्रा.डा विशेष पौडेलको पहलमा हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने फ्याक्टर–८ र ९ नेपालमा निःशुल्क सम्भव भएको हो । विदेशबाटै आयात गर्नुपर्ने भएकाले यो अत्यन्तै महंगो छ । एउटै भायलको कम्तिमा चार लाख बढी मुल्य पर्छ ।

२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा ३ हजार हेमोफिलियाका बिरामी छन् । तर अहिले ८ सय १४ जना सम्पर्कमा आई उपचार गराइरहेको हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्द घिमिरेले बताए । हेमोफिलियाको उपचार महँगो हुँदा सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको उनको भनाइ छ ।

रगत जमाउने आवश्यक तत्वको कमीका कारणले लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ । हेमोफेलिया रगतजन्य आनुवंशिक रोग हो । यो एक वंशाणुगत समस्याका रूपमा बढी देखिएको डा. पााण्डे बताउँछन् । राज्यले यस रोगबाट प्रभावित व्यक्तिको निदान, हेरचाह र उपचारका लागि केही बजेट छुट्याउने गरेको छ । तर पर्याप्त छैन ।

समयमै रोग पहिचान हुन नसक्दा हेमोफेलिया भएका व्यक्तिहरूले दुःख पाएको, हेरचाह र उपचारमा समस्या भइरहेको छ । हेमोफेलियाले पुरुष धेरै प्रभावित हुने गरेका छन् । महिलाको जिनका कारण हेमोफेलियाले धेरै असर नगर्ने हुँदा कमै मात्र लाग्ने डा. पाण्डे बताउँछन् । उनकाअनुसार हेमोफेलियालाई एक्स क्रोमोजोम रिसेसिभ डिसअर्डर मानिन्छ ।

अर्थात् हेमोफेलियाको जिन एक्स क्रोमोजोममा हुन्छ, महिलामा दुईवटा एक्स क्रोमोजोम हुने भएकाले उनीहरूलाई हेमोफेलियाले असर गर्दैन । यद्यपि, महिला हेमोफेलियाका वाहक हुन सक्ने डा. पाण्डे बताउँछन्  ।

  • १६ मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech