नेपालगन्जः बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नयाँ सिटि स्क्यान मेसिन जडान गरी सेवा गरिएको छ । गत वर्षको फागुनमा आगलागी भएर विद्युतीय लाइन अवरुद्ध भएका कारण अस्पतालको सिटी स्क्यान सेवा बन्द थियो । १२८ स्लाईसको नयाँ सिटी स्क्यान मेसिन जडान गरेर सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहले बताए । नयाँ सिटी स्क्यान मेसिन खरिद गरेर सेवा सुचारु गराइएको साहले बताए ।
सामान्य विद्युतीय वायरिङमा आगलागीले क्षति पुगेको बताइए पनि आगलागी भएको ८ महिनासम्म पनि सिटी स्क्यान मेसिन सञ्चालनमा आउन सकेको थिएन । पुरानो सिटी स्क्यान मेसिन पनि सञ्चालनमा आइसकेको अस्पतालका निर्देशक डा. साहले बताए । सिटि स्क्यान सेवा बन्द हुँदा अस्पतालले बिरामीहरुलाई नेपालगन्ज पठाउँदै आएको थियो । अहिले नयाँ मेसिनमार्फत सेवा सुचारु गरिपछि अब बिरामीलाई अस्पताल बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य भएको निर्देशक डा. साहले बताए ।
सो अस्पतालमा लामो समयदेखि सिटी स्क्यान सञ्चालनमा आउन नसकेसँगै बहुप्रतीक्षित क्यान्सर उपचारको मुख्य प्रविधि लिन्याक मेसिन जडान भएर पनि सञ्चालनमा आएको थिएन । अहिले सिटी स्क्यान सञ्चालनमा आउँदा तयारी अवस्थामा रहेको लिन्याक मेसिन भने जनशक्तिका कारण सञ्चालन गर्न नसकिएको निर्देशक साहले बताए । अस्पतालसँग लिन्याक चलाउने रेडियो थेरापी टेक्निसियन नहुँदा सो मेसिन सञ्चालन आउन नसकेको हो ।