अछाम अस्पतालमा पहिलोपटक एपेन्डिसाइटिसको शल्यक्रिया

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०८१, बुधबार

नेपालगन्जः जिल्ला अस्पताल, अछाममा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ । ५० वर्षीय एक पुरुष पेट दुख्ने समस्या बढ्दै गएपछि जिल्ला अस्पताल बाजुरामा पुगेका थिए । त्यहाँका चिकित्सकले एपेन्डिसाइटिस शंका गरेर अछाम अस्पताल रेफर गरेको त्यहाँ कार्यरत डा। अधिराज आचार्यले जानकारी दिए ।

‘पहिलो पटक अछाम अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको छ’, डा. आचार्यले भने, ‘अब यहाँको नागरिकले एपेन्डिसाइटिस हर्निया लगायत शल्यक्रियाका लागि तल (नेपालगन्ज, धनगढी) झर्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।’ यसअघि यस्तो सेवा लिन लागि सुर्खेत, नेपालगन्ज, धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो ।

एमडीजीपी विशेषज्ञ डा.कमलेशप्रसाद यादवको नेतृत्वमा डा.अधिराज आचार्य, एनेस्थेसियामा गंगा बूढाक्षेत्री र दीपेन्द्र शर्मा, अप्रेसन थिएटर नर्सिङ ममता शाह र सहयोगी चक्र लुहार संलग्नतामा एपेन्डिाइटिसको शल्यक्रिया भएको थियो । योसँगै अछाम अस्पतालमा एमडीजीपी चिकित्सकले गर्नसक्ने मेजर शल्यक्रिया एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सुरु हुने भएको छ । यसअघि शल्यक्रियाबाट बच्चा निकाल्ने सेवा मात्रै सञ्चालन हुँदै आएको थियो ।

‘बच्चा जन्माउने शल्यक्रिया मात्रै हुँदै आएको थियो । त्यही ओटीको सेपअपमा प्रयोग गर्दै एपेन्डिसाइटिसलाई चाहिने सामान लिएर शल्यक्रिया गरेका हौं’, उनले भने । अछाम अस्पतालमा हाल दैनिक ७०-८० जनाले ओपीडी सेवा लिने गरेका छन् । एमडीजीपी, हाडजोर्नी विशेषज्ञ गरी सात जना चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका छन् । जिल्ला अस्पतालमा १५ शय्याको मात्रै स्वीकृति रहेकामा बिरामीको चाप र जिल्ला अस्पतालले प्रदान गर्ने सेवाका आधारमा २५ बेडबाट सेवा दिइरहेको छ ।

पछिल्ला दिनमा सेवा बिस्तार भएसँगै अछामका मात्रै नभई बाजुरा, दैलेख लगायत छिमेकी जिल्लाका बिरामीलाई पनि सहज हुने डा। आचार्यले बताए । तर छात्रवृत्ति करारबाट हाडजोर्नी विशेषज्ञ कार्यरत भएपनि उपकरण अभावले हाडजोर्नी सेवालाई सञ्चालनमा ल्याउन नसकिएको चिकित्सक बताउँछन् ।

पाँच दशकअघि स्थापना भएको जिल्ला अस्पताल अछाममा भवनलगायत भौतिक संरचना जीर्ण हुँदा स्वास्थ्य सेवा प्रभावित भइरहेको उनले बताए । अस्पताल भवन जीर्ण भएकाले शल्यक्रिया, बिरामी भर्ना, आपतकालीन कक्षलगायतका वर्षायाममा पानी चुहिने गरेको डा। आचार्यले बताए ।

अस्पतालमा पर्याप्त ठाउँ नहुँदा अव्यवस्थित रूपमै भए पनि बेड राख्नुपर्ने बाध्यता भएको उनले गुनासो गरे । ‘जस्ताको छानो चुहिने भएकाले पानी गरेको दिनमा इमर्जेन्सी वार्ड, ओपीडी कक्षमा बसेर काम गर्न सकिंदैन । बिरामीलाई भर्ना गरेर सेवा दिन समेत मुस्किल हुन्छ’, डा. आचार्यले भने, ‘सुविधासम्पन्न भवनका लागि वर्षौंदेखि ठेक्का लागेको भनिए पनि काम सुरू भएको छैन ।’

सरकारले १५ बेडको अस्पताललाई ५० बेडको बनाउने लक्ष्यसहित आर्थिक वर्ष २०७९/०८० मा ठेक्का प्रक्रिया अगाडि बढाएको थियो । तर बजेटको स्रोत सुनिश्चित नभएको भन्दै प्रक्रिया नै अगाडि बढ्न सकेको छैन ।

  • १२ मंसिर २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech