भेरी अस्पतालमा डा.निराजनका दुई महिनाः यस्ता छन् महत्वपूर्ण उपलब्धी

    • प्रियास्मृति ढकाल

  • ९ मंसिर २०८१, आईतवार

नेपालगन्जः भेरी अस्पतालमा डा.निराजन सुवेदी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हालेको आज दुई महिना पूरा भएको छ । यो दुई महिनाको अवधिमा डा.सुवेदीले महत्वपूर्ण निर्णयहरु गर्दै अस्पताललाई सुधारको संकेत देखाएका छन् ।

‘अस्पताल विकास समिति र अग्रज चिकित्सकहरुको रायसुझावका आधारमा हाम्रा निर्णयहरु अस्पतालका सेवाहरुलाई बिरामीमैत्री बनाउने र संस्थागत सुधारलाई केन्द्रमा राखेर भइरहेका छन्’–उनले स्वास्थ्य पेजलाई भने ।

प्रमुख कन्सल्टेन्ट सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा.सुवेदी आफ्नो विषय विज्ञतामा अव्वल त हुँदै हुन् प्रशासकीय क्षमतालाई समेत भेरीमा प्रमाणित गरिरहेका छन् । प्रशासकीय नेतृत्वका हिसाबले यो उनको अग्नी परीक्षा हो । उनी यसअघि वीर अस्पतालको ग्याष्ट्रो सर्जरी विभागमा विभागिय प्रमुखको जिम्मेवारीमा थिए । भेरी अस्पतालको नेतृत्व सम्हालेलगत्तै डा.सुवेदीले अस्पसतालमा पिजी कार्यक्रम ल्याए ।

सिकलसेलका बिरामीका लागि छुटै् वार्ड स्थापना गरे भने जलनका बिरामीको लागि पनि वार्ड छुट्याए । अस्पताल फार्मेसीमा सुधारको प्रयास प्रारम्भ गरेका छन् । तत्काल नेपाली सेनासँगको सहकार्यमा हेल्प डेस्क निर्माणको तयारी गरेका छन् । लाइनलाई व्यस्थित बनाउन विभिन्न विकल्पहरुमा परामर्श प्रारम्भ गरिरहेका छन् ।

उनले गरेका केही महत्वपूर्ण काम
१– एमडी/एमएस अध्ययनको ढोका खुल्योः २०८१ असोज ९ गते डा.निराजन सुवेदीले भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी सम्हाले । त्यसको दुई दिनमै भेरी अस्पतालमा पोष्ट ग्य्राजुयट (पिजी) कार्यक्रम संचालनका लागि नेशनल एकेडमी अफ मेडिकल साइन्स (न्याम्स)सँग सम्झौता गरे । असोज २० गते न्याम्सको सिनेटले भेरी अस्पताललाई फ्याकल्टी (शिक्षक) दरवन्दी स्वीकृत ग¥यो । भेरी अस्पतालमा अव अर्को वर्षदेखि एमडी/एमएस पढाइ सुरु हुनेछ ।

भेरी अस्पतालका कन्सल्टेन्ट चिकित्सकहरुले अव तत्काल फ्याकल्टी पोष्ट प्राप्त गर्नेछन् । शैक्षिक एकेडेमीका हिसाबले यो भेरी अस्पतालका लागि सबैभन्दा महत्वपूर्ण उपलब्धि त हो नै चिकित्सक र बिरामीका लागि पनि ठूलो उपलब्धी हो । ‘भेरी अस्पतालको गुणस्तरीय सेवा प्रवाहलाई सकारात्मक प्रभाव पार्नका निमित्त पनि अस्पतालमा शैक्षिक गतिविधिलाई बढाउन आवश्यक छ उनले भने–‘यो सम्झौताले मापदण्ड पूरा गरेका कन्सल्टेन्ट चिकित्सकहरुले प्राध्यापक, सह–प्रध्यापक लगायतका पोष्टहरु पाउनेछन् ।’

त्यसैको आधारमा न्याम्सले एमडी÷एमएस अध्ययनका लागि भेरी अस्पताललाई विद्यार्थी संख्या पठाउने छ । भेरी अस्पतालले अर्थोपेडिक, मेडिसिन, सर्जरी, गाइने र रेडियोलोजीमा फ्याकल्टी पाउने छ । फ्याकल्टी पोष्ट प्राप्त गर्नका लागि चिकित्सकसँग सोधपत्र र अनुभव दुवै अनिवार्य हुनुपर्छ । तर चिकित्ससँग अनुभव भएपनि सोधपत्र नभएका कारण भेरी अस्पतालले फ्याकल्टी गुमाउनुपर्ने अवस्था छ ।

२–सिकलसेल बिरामीका लागि छुटै् वार्डः पश्चिम तराइका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि डा.सुवेदीकै पहलमा भेरी अस्पतालमा छुट्टै वार्ड स्थापना हुँदैछ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्तिक १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको सिकलसेल एनिमियाको उपचारका लागि छुट्टै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गरे । मन्त्री पौडेललाई यो निर्णय गराउन दवाव दिए डा.सुवेदीले ।

डा.सुवेदीलाई भेट्न थारु समुदायको केही व्यक्तीहरु भेरीमा आए । उनीहरु आक्रोसितमुडमै थिए । उनीहरुको अरु ठूलो माग केही थिएन् । सिकलसेलका बिरामीको उपचारका लागि छुटै् वार्ड हुनु पर्छ भन्ने थियो । चार पटक आइसक्दा पनि माग सम्वोधन नभएपछि उनीहरु आक्रोसित थिए । डा.सुवेदीले उनीहरुलाई थम्थमाएर पठाए ।

सिकलसेल समस्याले थारु समुदायलाई पारेको प्रभाव र सरकारी अस्पतालबाट दिन सकिने सेवाबारे मन्त्रीसँग कुरा राखे । मन्त्री पोजेटिभ भए । थारु समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरी स्वास्थ्यमन्त्री पौडेलले भेरी अस्पतालमा छुट्टै वार्ड स्थापनाको निर्णय गरिदिए ।

सिकलसेल एनिमियाका बिरामीका लागि ६ बेडको ‘डे केयर’ सञ्चालनमा रहेको बताउँदै उनले भने तत्काल १० बेडको हेमोग्लोबिनोप्याथी वार्ड सञ्चालन गरिने बताए । ‘सिकलसेल एनिमिया र थालेसिमिया रोगका बिरामीको उपचारलाई सहज बनाउन छुट्टै वार्ड सञ्चालन गर्न दक्ष जनशक्ति व्यवस्था गरी मंसिर मिहनाभित्रै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ उनले भने ।

३–अस्पताल फार्मेसीमा सुधारः भेरी अस्पतालको आफ्नै अस्पताल फार्मेसी छ । एकातिर वीमाका बिरामीहरुले अस्पताल फार्मेसीबाट पाउनुपर्ने औषधि नपाएको गुनासो सुनाउँदै आएका थिए । अस्पताल फार्मेसीको औषधिको गुणस्तरमा पनि गुनासो आउने गरेका थिए । अर्कोतर्फ अस्पताल फार्मेसी अस्पतालको आयस्रोतसँग पनि जोडिन्छ ।

यही कुरालाई दृष्टिगत गरी अस्पताल फार्मेसीलाई व्यवस्थित गराउने प्रयास प्रारम्भ गरिएको डा.सुवेदी बताउँछन् । क्यान्सर र आयुर्वेद वाहेक अन्य सबै औषधिहरु अव अस्पताल फार्मेसीबाट पाइने उनले बताए । बिरामीहरुले अव अस्पताल फार्मेसीबाट अत्यन्तै सस्तो र गुणस्तरीय औषधि खान पाउने व्यवस्था मिलाइएको उनले बताए ।

त्यसका लागि मेडिसिन विभाग प्रमुख समेत रहेका अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेलाई जिम्मेवारी नै तोकिएको छ । प्रत्येक विभागले आवश्यक औषधिको सिफारिस गर्नेछन् । तिनै औषधि अस्पताल फार्मेसीमा पाइनेछ । बिरामीले सस्तोमा पनि औषधि पाउने र गुणस्तरीय पनि हुने डा.सुवेदीको भनाइ छ । अस्पताल फार्मेसीलाई व्यवस्थित गर्न जनशक्तिको समेत हेरफेर गरिएको उनले बताए । अस्पताल फार्मेसीको जिम्मा अहिले उदयवीर शाहीलाई दिइएको छ । यसअघि यो जिम्मेवारी पदम अर्यालले हेर्दै आएका थिए ।

४–नयाँ भवनबाट ओटी सेवाः नयाँ भवनबाट ओटी सहितको सेवालाई नियमित बनाउने अन्तिम तयारी छ । त्यसका लागि कामहरु भइरहेको छ । डा.प्रकाश थापा निमित्त मेसु हुँदा नै नयाँ भवनबाट ओटी सेवा प्रारम्भ भएको थियो । तर अक्सिजन लिकेजका कारण नयाँ भवनबाट ओटी सेवा नियमित हुन सकिरहेको थिएन् ।

डा.सुवेदीले डे वान देखिनै ओटी सेवालाई नियमित बनाउन प्रयास जारी राखेका छन् । तर भवन पूर्णरुपमा हस्तान्तरण नभएका कारण जटिलताहरु छन् । तथापी डा.सुवेदीले ओटी कक्षलाई पूर्णता दिएर सेवा नियमित गराउने अन्तिम प्रयासमा छन् । सम्भवतः यो एक दुई हप्ताकै बीचमा सेवा नियमित हुनेछ ।

ओटी कक्षको सेन्सर ढोका लगायतको बाँकी काम सुरु भएको छ । नयाँ भवनबाट ओटी सेवा सुरु भए हालको अप्रेसन भन्दा दोब्बर सेवाग्राहीले सेवा पाउनेछन् । अहिले पुरानो भवनमा ५ वटा अप्रेशन टेवल छन् । अप्रेशन टेवल कम भएका कारण शल्यक्रियाका लागि महिनौ दिन पालो कुर्नुपर्ने अवस्था छ ।

५–जलनको उपचारः सरकारले उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेसँगै भेरी अस्पतालले पनि त्यसलाई कार्यान्वयन प्रारम्भ गरेको छ । जलनको उपचार हुने किर्तिपुरमा जनशक्ति पठाएर दक्ष बनाउने तयारी भइरहेको छ । कस्मेटिकबाहेकको जलन उपचार अवदेखि भेरीमा निःशुल्क हुनेछ ।

  • ९ मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech