पेन्क्रियाज ग्रन्थी सानो आन्द्राको सुरुको ‘डुवोडेनम’ नजिकै अवस्थित हुन्छ । यो हेर्दा लाम्चो आकारको बोसोको डल्लो जस्तो देखिन्छ । वयस्क पुरुष र महिलामा करिब ५-६ इन्च लामो आकारको हुन्छ । पेनक्रियाजको बनावटअनुसार टाउको, मध्यभाग र पुच्छर तीन भागमा वर्गीकरण गरिएको छ ।
पेन्क्रियाजले के गर्छ ?
पेन्क्रियाजले खाना पचाउन रसायन (पेन्क्रियाटिक जुस)को उत्पादन गर्छ । इन्सुलिन र ग्लुक्यान उत्पादन गर्छ । यसको काम भनेको शरीरमा ग्लुकोज (चिनी)को मात्रालाई नियन्त्रित गर्नु हो । इन्सुलिनले हामीले खाएको खानालाई ऊर्जामा रूपान्तरण गर्न मद्दत गर्छ ।
कुनै कारणवश सो पेन्क्रियाज ग्रन्थीमा संक्रमण भएमा यसलाई पेन्क्रियटाइटिस भनिन्छ । जसलाई हामी पेन्क्रियाजको क्यान्सर भन्छौं ।
यो क्यान्सरमा पेन्क्रियाजका कोषिकाहरु हुर्किने, बढ्ने क्रम र विभाजित हुने प्रक्रियामा त्रुटि र खराबी आउँछ ।
कारक तत्व
– चुरोट र सुर्तीजन्य पदार्थको सेवन गर्ने बानी
– मधुमेह र पुरानो पेन्क्रियाटाइटिस भएको अवस्था
– मोटोपन तथा परिवारमा अन्य सदस्यलाई क्यान्सर पुष्टि भएको अवस्था
– वंशाणुगत सम्बन्धित रोगहरुको लक्षण (जस्तो- एमईएन, सिन्ड्रोम, एचएनपीसीसी जस्ता सिन्ड्रोम ।)
के कस्ता लक्षण देखिन्छन् ?
क्यान्सरको सुरुको अवस्थामा लक्षण नदेखिन सक्छ । केही समयपछि भने केही लक्षण देखाउँछन् । ती हुन् ।
– पेटको मध्य तथा माथिल्लो भागमा दुखाइ
– जन्डिस (छाला र आँखाको पहेंलोपन)
– गाढा रंगको पिसाब जानु
– सेतो रंगको दिसा हुनु
– भोक नलाग्नु, तौल घट्नु
– थकान
पहिचान
पेन्क्रियाजको क्यान्सरको पहिचान गर्न विभिन्न परीक्षण गरिन्छ ।
क्यान्सर स्टेजिङ : प्यान्क्रियाजभित्र र वरपरको क्षेत्रमा क्यान्सरको कोषिकाहरु फैलिएको छ कि भनेर पत्ता ल्याउने प्रक्रियालाई क्यान्सर स्टेजिङ भनिन्छ ।
क्यान्सर स्टेजिङ धेरै प्रकारका हुन्छन् ।
सीबीसी, एलएफटी : यसअन्तर्गत शरीरमा एचबी, डब्लुबीसी, पेटलेट, बिलुरुविन र कलेजोको रसायनहरु एलटी, एसटी, एलपी लगायत परीक्षण गरिन्छ ।
ट्युमर मार्कर : टयुमर मार्कर जस्तै सीए-१९-९ र सीइएको परीक्षण गरिन्छ । प्यान्क्रियाजको क्यान्सरमा यी तत्व बढेका हुन्छन् ।
एमआरआई : यो प्रविधिमा चुम्बकीय तरंग यन्त्रबाट छिराएर पेटभित्रको प्यान्क्रियाजको मांसपेशीको बनावट र रोगको अवस्था हुबहु देखाउन सक्छ । यसमा नजिकका अरु सबै अंगको बारेमा स्पष्ट थाहा हुन्छ ।
सिटीस्क्यान : यो प्रविधिले क्यान्सरका दाग, घाउ र गाँठो पलाएको छ वा कुन ठाउँमा कस्तो अवस्थामा छ भन्ने देखाउँछ । साथै, क्यान्सरको आकार, संख्या, वर्ग, गहिराइ र संलग्न अंगबारे महत्त्वपूर्ण जानकारी लिइन्छ ।
अल्ट्रा सोनोग्राफी : भिडियो एक्स-रे मार्फत ध्वनि तरंगको प्रयोगबाट प्यान्क्रियाजबारे सामान्य जानकारी लिन सकिन्छ । यो ध्वनि तरंग प्रविधिले मानव शरीरलाई कुनै हानि नोक्सानी गर्दैन । यो पूर्ण सुरक्षित छ ।
पेटको सिटीस्क्यान : यो प्रविधिमा विकिरणयुक्त चिनी (फलुओरोडी अक्सिग्लुकोज)को प्रयोगसँगै सिटीस्क्यान गरिन्छ । यसबाट शरीरमा लुकेर बसेका क्यान्सर र क्यान्सर कोषिकाहरूले प्रभावित पारेका अंगहरुको पहिचान हुन्छ ।
इन्डोस्कोपिक अल्ट्रासाउन्ड : यो प्रक्रियामा एउटा सानो मसिनो ट्युब कलेजोबाट पित्तथैलीमा र त्यहाँबाट आन्द्रासम्म पसाएर निरीक्षण गरिन्छ । प्यान्क्रियाजको क्यान्सरले यदि पित्त बग्ने बाटो छेकेको भए त्यसलाई खुलाइन्छ । त्यहींबाट क्यान्सर कोषिकाको नमुना पनि लिइन्छ ।
परक्युटानियस ट्रान्सहेप्टीक कोलानगियोग्राफी : यो प्रक्रियामा पेटमाथिबाट छालामा मसिनो सुई पसाएर कलेज, पित्त र प्यान्क्रियाजसम्मको परीक्षण गरिन्छ ।
ल्याप्रोस्कोपी : यो प्रक्रियामा पेटको छालामाथिबाट भित्रसम्म तीनदेखि चारवटा प्वाल पारिन्छ । भिडियो क्यामरा सहितको उपकरण पेटमा छिराई नमुना लिएर विस्तृत रूपमै निरीक्षण गरिन्छ ।
बायोप्सी : झिकिएको क्यान्सरको मांसपेशीको नमुनालाई दूरबीनको सहायताले प्रत्यक्ष परीक्षण गरिन्छ । यसबाट क्यान्सरको वास्तविक निदान हुन्छ ।
क्यान्सरका चरण
चरण शून्य : असामान्य कोषिकाहरु प्यान्क्रियाज ग्रन्थीभित्र भेटिन्छन् । यो कोषिका भविष्यमा पूर्ण रुपमा क्यान्सरमा परिणत हुनसक्छन् ।
पहिलो चरण : चार सेन्टिमिटर आकारको टयुमर प्यान्क्रियाजभित्र फेला पर्छ, जुन पूर्ण रुपमा क्यान्सर हुन्छ ।
दोस्रो चरण : चार सेन्टिमिटर भन्दा ठूलो आकारको टयुमर वा कुनै पनि आकारको टयुमर नजिकैको गाँठोमा सरेको हुन्छ ।
तेस्रो चरण : कुनै पनि साइजको ट्युमर बन नजिकैको चार भन्दा धेरै गाँठोहरुमा र रक्तनली तथा पित्तथैलीसम्म सरिसकेको हुन्छ ।
चौथो चरण : कुनै पनि आकारको ट्युमर जुन अन्य अंगमा फैलिएको अवस्थालाई जनाउँछ । जस्तै- फोक्सो, कलेजो, पेटको भित्री भाग । यो अवस्थालाई मेटास्टाटिक क्यान्सर पनि भनिन्छ ।
उपचार विधि
शल्यक्रिया : प्यान्क्रियाज ग्रन्थीको टाउको, पित्तको थैली र आमाशय, सानो आन्द्राको केही भाग र पित्तनली काटेर फालिन्छ । यो शल्यक्रियापछि पनि बाँकी रहेका प्यान्क्रियाजको भागले इन्सुलिन र खाना पचाउने रसायनको स्राव गरिरहन्छ ।
टोटल प्यान कियाटेकटोमी : यो शल्यक्रियामा प्यान्क्रियाज ग्रन्थी पूर्ण रुपमा काटेर झिकिन्छ ।
डिस्टल प्यान्कियाटेक्टोमी : यो शल्यक्रियामा प्यान्क्रियाज ग्रन्थीको बीचको अंश र पुच्छर काटेर झिकिन्छ । यदि क्यान्सर फियोमा फैलिएको छ भने त्यसलाई पनि झिकिन्छ ।
यदि शल्यक्रियाबाट पूर्ण उपचार सम्भव नहुने अवस्था छ भने विलियरी बाइपास राख्नुपर्ने हुन्छ ।
रेडिएसन थेरापी : यो प्रविधिको प्रयोगबाट विकिरण तरंगद्वारा क्यान्सरका कोषिकाहरुलाई नष्ट गरिन्छ ।
केमोथेरापी : क्यान्सरको घाउ, गाँठो र कोषिकाहरुलाई विषालु औषधिको प्रयोगबाट नष्ट गरिन्छ । यो औषधि उपचार एड्भान्स क्यान्सर अर्थात् फैलिसकेको क्यान्सर विरुद्ध गरिन्छ ।
टारमेटेड थेरापी : यी औषधिहरुले क्यान्सर कोषिकाहरुका आधारभूत संरचना इकाईलाई ध्वस्त पारेर क्यान्सरलाई नियन्त्रण वा नष्ट गर्छन् । यी औषधि केमोथेरापी भन्दा फरक र महंगा हुन्छन् ।
प्यालिएटिभ थेरापी : पूर्ण रुपमा उपचार गर्न नमिल्ने क्यान्सरको दुखाइ नियन्त्रण गरिन्छ । क्यान्सरको असर कम गर्न औषधि दिइन्छ ।