चिकित्सा शिक्षा आयोगको बैठक आइतबार बस्दै

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०८१, शुक्रबार

नेपालगन्ज: चिकित्सा शिक्षा आयोगको पन्ध्रौं बैठक आइतबार बस्दैछ । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा ९ वटा एजेन्डामा छलफल हुने भएको छ । आयोगका एक उच्च कर्मचारीका अनुसार बैठकमा आर्थिक वर्ष २०८०-८१ को कार्यप्रगति समीक्षादेखि शिक्षण संस्था गाभ्ने कार्यविधिसम्मका विषयमा छलफल हुनेछ ।

त्यस्तै आयोगको लोगो स्वीकृति, प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन र आगामी आर्थिक वर्षको बजेट संशोधनबारे पनि छलफल हुने कार्यसूचीमा छ।विद्यार्थीको चासोको विषय बनेको स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकको निर्वाह भत्ता र पिजी सिट विषय भने कार्यसूचीमा परेको छैन। यद्यपि निजी मेडिकल कलेजहरूको छाता संस्थाका प्रतिनिधिले बैठकमा यो विषय उठाउने तयारी गरेका छन्।

आयोगले पिजी अध्ययनरत चिकित्सकलाई आठौं तहको तलब बराबर निर्वाह भत्ता दिने निर्णय गरेपछि कलेज सञ्चालकले विरोध गर्दै पिजी कक्षा सञ्चालन नगर्ने जनाएका छन् । उनीहरूले आयोगमा सेल्फ अप्रेजल फर्मसमेत नभरेका कारण पिजी कक्षा अन्योलमा परेको छ।

बैठकमा छात्रवृत्ति सञ्चालन खर्चको मापदण्ड, शिक्षण संस्थाको स्वामित्व हस्तान्तरण र छात्रवृत्तिमा अध्ययन गरी बीचैमा पढाइ छाडेका विद्यार्थीका विषयमा समेत छलफल हुने कार्यसूचीमा उल्लेख छ।

  • ७ मंसिर २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech