भेरी अस्पतालमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको पहिलो पटक सफलतापूर्वक शल्यक्रिया

सिटि स्क्यानमा मस्तिष्कमा पानी जमेको पाइएपछि भेरी अस्पतालको न्यूरो विभागको टिमले शल्यक्रियाको निष्कर्ष निकालेको थियो ।


    • प्रियास्मृति ढकाल

  • ३ मंसिर २०८१, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा हाइड्रोसेफलसबाट पीडित १५ महिने बालकको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । चिकित्सकीय भाषामा यसलाई भेन्ट्रिकुलोपरिटोनियल (भिपी) शंट शल्यक्रिया भनिन्छ ।

सल्यान वागचउर नगरपालिका–७ सानागाराकोटका १५ महिने कृष्ण परियार खेल्नेक्रममा दुई महिना अघि घरको पेटीबाट लडेर घाइते भएका थिए । खाना खाने वित्तिकै वान्ता हुने र आँखा समेत नदेख्ने समस्या भएपछि सल्यानबाट थप उपचारका लागि उनलाई नेपालगन्ज ल्याइएको थियो ।

सिटि स्क्यानमा मस्तिष्कमा पानी जमेको पाइएपछि भेरी अस्पतालको न्यूरो विभागको टिमले शल्यक्रियाको निष्कर्ष निकालेको थियो । सोही अनुसार उनको कार्तिक ८ गते न्यूरोजर्सन डा.सुवोध गौतम नेतृत्वको टिमले शल्यक्रिया गरेको थियो ।

मस्तिष्कको भेन्ट्रकल्सबाट मेरुदण्डसम्म पुग्नु पर्ने तरल पदार्थ मस्तिष्क भित्र असामान्य अवस्थामा जम्मा हुनुलाई हाइड्रोसेफलस भनिन्छ । मस्तिष्कको भेन्ट्रकल्सबाट मेरुदण्डसम्म पुग्नु पर्ने यो तरल पदार्थले मस्तिष्कको लागि पोषक तत्व वितरण र फोहोर हटाउने प्रणालीको रुपमा काम गर्दछ ।

कतिपयलाई वंशाणुगत रुपमा नै हाइड्रोसेफलसको समस्या देखिन्छ भने कतिपयलाई चोटपटक लाग्दा, तरल पदार्थ वग्ने नलीमा टयुमर हुँदा पनि हाइड्रोसेफलसको समस्या हुन सक्ने न्यूरोसर्जन डा. गौतम बताउँछन् । टाउकोमा चोट लागेका ती बालकको उपचारका क्रममा इन्फेक्सन भएको अनुमान गरिएको छ ।

‘उपचारका क्रममा कहिलेकाही त्यही इन्फेक्सनले मस्तिष्कमा पानी जमेको हुन सक्छ डा.गौतम भन्छन्–‘बच्चाको सबै हिष्ट्री बुझ्दा र सिटिस्क्यान रिपोर्ट हेर्दा मस्तिष्कमा पानी जम्मा भएको देखियो ।’

‘यो एकदमै ठूलो शल्यक्रिया होइन डा.गौतम भन्छन्–‘तर १५ महिनाको बालकको शल्यक्रिया गरिनु नै जोखिमपूर्ण र जटिल मानिन्छ । हाम्रो टिमले सफलतापूर्वक भेरी अस्पतालमा १५ महिनाको बालकको पहिलो पटक शल्यक्रिया गरेका छौं ।’

शल्यक्रिया मार्फत् ती बालकको मस्तिष्कमा जम्मा भएको अतिरिक्त सेरेब्रोकस्पाइनल तरल पदार्थको सहज निकास गरिएको डा.गौतमले बताए । गएको कार्तिक २८ गते डिस्चार्ज भएका ती बालकको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बुवा बालाराम परियारले स्वास्थ्य पेजलाई जानकारी दिए ।

न्यूरो सर्जन डा.गौतम, एजेस्थेसियोलोजिष्ट डा. अभिषेक मदानवाल, असिस्टेन्ट एजेस्थेसियोलोजिष्ट डा. सन्तोष ठाकुर, नर्सिङ स्टाफ सोनिया र अस्मितालगायतको टोलिले शल्यक्रिया गरेको हो ।

भेरी अस्पतालको विशिष्टिकृत सेवालाई भिपी शंट शल्यक्रियाले थप उचाइ दिने काम गरेको छ । तर अस्पतालसँग सिटी स्क्यान मेसिनको अभावले भने विशिष्टिकृत सेवा प्रवाहमा बाधक बन्ने गरेको छ । अस्पतालमा सिटी स्क्यान मेसिनको अभावले न्यूरोसर्जिकल र लगायतका सेवामा नकारात्मक प्रभाव पारेको छ ।

  • ३ मंसिर २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech