स्वास्थ्य मन्त्रालयले भन्यो-सरकारी अस्पतालमा हाजिर गरेर हिँड्ने कर्मचारीलाई कारबाही हुन्छ

    • स्वास्थ्य पेज

  • २ मंसिर २०८१, आईतवार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाजिर गर्ने तर कार्यकक्षमा नबस्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।

मन्त्रालयले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म दुई सिफ्टमा सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) सञ्चालन गरिरहेको र उक्त समयमा सम्बन्धित कर्मचारीहरू अनिवार्य रूपमा उपस्थित हुनुपर्ने बताएको छ ।

विशेषगरी सरकारी अस्पतालका चिकित्सक हाजिर गरेर निजी अस्पतालमा काम गर्ने गरेको गुनासो बढ्दै गएको छ । केही चिकित्सकले सरकारी अस्पतालमा शल्यक्रियाका लागि महिनौंको प्रतीक्षा सूची राख्ने तर निजी अस्पतालमा मोटो रकम लिएर तुरुन्तै सेवा दिने गरेको पाइएको छ ।

‘उक्त समयमा कुनै पनि चिकित्सक वा स्वास्थ्यकर्मीले निजी प्राक्टिस गर्न पाउने छैनन् । बिरामी नभए पनि कार्यरत संस्थामा अनिवार्य उपस्थित हुनुपर्छ,’ मन्त्री प्रदीप पौडेलले भने ।

सेवाग्राहीहरूले स्वास्थ्य सेवा विभाग, केन्द्रीय सरकारी अस्पतालमा कार्यरत कर्मचारी हाजिरी रेकर्डमा देखिए पनि कार्यकक्षमा भेटिन नसकेको गुनासो गर्दै आएका छन् । यस्ता गुनासोलाई सम्बोधन गर्न मन्त्रालयले कडा अनुगमन थालेको छ ।

मन्त्री पौडेलले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको सेवा सुविधामा सुधार र सुरक्षाको प्रत्याभूति पनि आवश्यक रहेको स्वीकार गरे । तर कार्यालय समयमा निजी प्राक्टिस गर्ने कार्यलाई भने कुनै हालतमा स्वीकार नगरिने र यस्तो प्रवृत्तिको अनुगमन गरेर अन्त्य गरिने उनले बताए ।

  • २ मंसिर २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech