नेपालगन्जः दन्त उपचार सेवामा बाँके अब्बल बन्दै गएको छ । नेपालगनज, कोहलपुर लगायतका क्षेत्रमा दन्त उपचारका लागि सुविधा सम्पन्न क्लिनिकहरु खुल्दै गएसँगै बिरामीहरुले स्तरीय सेवा पाउन थालेका छन् । अढाई दशक अघिसम्म दाँतको सामान्य उपचार पाउन बिरामीहरुलाई सकसपूर्ण नै थियो । अहिलेजस्तो बिरामीहरुकालागि विकल्प थिएन । नेपालगन्जका पहिलो दन्त चिकित्सक डा. निर्माण बहादुर शाह अढाईदशक अघिको स्मरण गर्दै भन्छन्–‘यसक्षेत्रकै सबैभन्दा पूरानो भेरी अस्पतालमा समेत दन्त उपचार सेवा प्रभावकारी थिएन ।’ वि.सं. २०५७ सालतिर उनी भेरीमा जागिर प्रारम्भ गर्दा दन्त विभाग त थियो । तर, वन्द अवस्थामा ।
आइएनएफको सहयोगमा केही उपकरण भेरीलाई सहयोग प्राप्त भएको रहेछ । विदेशी डाक्टरहरु केहीदिनका लागि भेरीमा आउने दन्त उपचार सेवा दिने र फर्किने गर्दा रहेछन् । उनीहरुले दाँत भर्ने निकाल्ने जस्ता सेवा दिएका रहेछन् । तर, डा.शाह भेरीमा नियुक्त हुँदा भने उनीहरु आउन छाडिसकेका थिए । बन्द रहेको विभाग डा.शाहकै नेतृत्वमा नियमित भयो । जो अहिलेपनि जारी छ । एक्लै दन्त विभाग सम्हाल्दै आएका डा.शाहको विभागमा अहिले कन्सल्टेन्ट दन्तचिकित्सक डा. श्याम चौधरी, डा.वसन्त न्यौपाने, डा.कमल विक लगायत छन् । दाँतको उपचारका लागि भारत वा काठमाडौं जानुपर्ने बाध्यात्मक अवस्थालाई भेरीको यो टिमले भरथेग गर्दै आएको छ ।
जटिल खालका शल्यक्रिया समेत भइरहेको डा.शाह बताउँछन् । ‘बंगारानै मिलाउने सर्जरीका लागि काठमाडौं वा भारत जानुपर्ने अवस्था होला नत्र नेपालगन्जमै पनि ठूल्ठूला सर्जरी भइरहेको छ,’उनी भन्छन्–‘प्राइभेटमा समेत कन्सल्टेन्ट चिकित्सक बसेर सेवादिन थालेपछि बिरामीलाई धेरै सजिलो बनाएको छ ।’ शाहकै नेतृत्वमा ६० को दशकमा नेपालगन्ज डेन्टल क्लिनिक स्थापना भयो । त्यसपछि क्रमशःडेन्टल क्लिनिकहरु खुल्दै गए । अहिले नेपालगन्जमा दर्जनौ सुविधा सम्पन्न डेन्टल क्लिनिकहरु छन् ।
कसरी बच्ने दाँतको समस्याबाट ?
दन्तचिकित्सक डा.निर्माणको अनुभवमा अहिले पनि पहाडको तुलनामा तराईका नागरिकमा दाँतको समस्या बढी छ । पहाडमा धेरै दिनसम्म दाँत नमाझ्ने समस्या रहेको छ भने तराईमा गुट्खा, पान, सुपारी र सुर्ती सेवन मुख्य समस्या रहेका छन् । कतिपयले दाँत माझ्ने तरिका नजानेर पनि दाँतको समस्या रहने गरेको उनले बताए । तराई–मधेसमा दाँते किरा, गिँजा र मुखको क्यान्सरको समस्या देखिने गरेको उनले बताए । पहाडमा भने ३–४ दिनको फरकमा दाँत माझ्ने र पाउडर प्रयोग गरेर दाँत माझ्ने गरिएकाले दाँतमा समस्या आउने गरेको उनले बताए ।
पछिल्लो समय बालबालिकाहरुमा दाँतको समस्या बढ्दै गएकोप्रति उनको चिन्ता छ । चकलेट, जंकफुड जस्ता खानेकुराले बालबालिकाहरुको दाँतमा किरा लाग्ने समस्या छ । यसले तत्काल दुखाउँदैन । दाँतको नसा भेटेपछि दुख्न सुरु हुन्छ । त्यतिबेलासम्म ढिला भइसकेको हुन्छ । त्यसैले उनीदाँतको सरसफाई र सचेतनाबारे विद्यालयबाटै जानकारी दिन आवश्यक रहेको ठान्छन् । हरेक दिन दुईपटक ब्रस गर्ने, ब्रस गर्दा पाउडर प्रयोग नगरेर पेस्टको प्रयोग गर्ने, कम्तीमा ४ देखि ५ मिनेट ब्रस गर्ने तथा बच्चाहरुलाई राती सुत्नु अघि अनिवार्य ब्रस गराउन उनले सल्लाह दिन्छन् ।
गुट्खा, पानर सुर्ती सकेसम्म नखाने, विशेषगरी चप्कने पदार्थ नखाने गरेमा दाँतको समस्या कम हुने उनी बताउँछन् । दाँत माझ्दा प्रेसर दिएर दाँत माझ्न नहुने उनको सल्लाह छ । बालबालिकालाई चकलेट दिँदा दाँतमा नचप्कने चकलेटमात्र खान दिन पनि उनले सल्लाह दिन्छन् । गुट्खा, चुरोट र सुर्तीले ‘सिनर्सिस्टिक इफेक्ट’ हुने भएकाले त्यसैका कारण क्यान्सर हुन सक्ने डा. निर्माणको चेतावनी छ । त्यसैले उनी कम्तीमा ६–६ महिनामा विशेषज्ञ चिकित्सँग दाँत उपचारबारे परामर्श लिन आमसर्वसाधरणलाई सुझाउँछन् ।
को हुन् दन्तचिकित्सक डा.निर्माण ?
डा. शाह नेपालन्जका स्थायीबासिन्दा हुन् । वि.सं. २०२९ सालमा वुवा योगेन्द्र बहादुर शाह र आमा उषा शाहको कान्छो छोराका रुपमा निर्माण जन्मिए । उनका एक जना दाजु छन् । नेपाली सेनामा कार्यरत दाजु सेवा निवृत्त भइसकेका छन् । निर्माणका श्रीमती, एक छोरा र छोरी छन् । नेपालगन्जको बुलबुललियामा जन्मेर त्यसैको पेरिफेरिमा हुर्केका निर्माणले स्थानीय एमपी (मंगलप्रसाद) स्कुलबाट प्राथमिक शिक्षा प्राप्त गरे ।
कक्षा ५ सम्म एमपीमा अध्ययन गरेका उनले माध्यमिकतह भने भारतको लखनउबाट उत्तीर्ण गरेका थिए । लखनउबाट मेट्रिक गरेर बैंगलोरबाट उच्च शिक्षाप्राप्त गरे । बैंगलोरकै किम्सबाट डेन्टल सर्जनको कोर्ष पनि पूरा गरे । सन् १९९५ मा डेन्टल कोर्ष पुरा गरेपछि नेपालगन्जमा उनले दिन थालेको दाँतको उपचार सेवा अहिलेपनि निरन्तर जारी छ । नेपालगन्जमा बसेर बाँकेको ढकेरीमा खेतीपाती गर्ने परिवारमा जन्मेका तिनै निर्माणले यतिबेला नेपालको पश्चिम क्षेत्रकै नाम कहलिएका चिकित्सकका रुपमा आफूलाई स्थापित गरेका छन् । निर्माण आफ्नो पढाई सकेर नेपालगन्ज फर्किए । करिव वि.सं.२०५३–०५४ सालमा लायन्स डेन्टल अस्पतालबाट सेवा दिन सुरु गरे । स्व. अच्युत प्रसाई, स्व. राम नारायण श्रेष्ठ, शेम शाक्य, मदुसुदन शर्मालगायतको पहलमा लायन्स क्लवले लायन्स डेन्टल अस्पताल स्थापना भयो ।
उनीहरुकै आग्रहमा उनले लायन्स डेन्टल अस्पतालमा रहेर सेवा दिए । एक वर्ष लायन्समा सेवा दिएका उनले एक वर्षकै अवधिमा नेपालगनजमा नाम कमाउन थालिसकेका थिए । त्यसपछि उनले नर्सिङ होममा करिव ६ महिना दन्त उपचार सेवा दिए । स्थानीय पनि भएकाले उनीसँग दाँतको उपचार गर्न आउनेको भिड नै लाग्न थाल्यो । त्यही लोकप्रियताका आधारमा उनले तत्कालीन भेरी अञ्चल अस्पतालको विकास समिति अन्तर्गत करारमा सेवादिन सुरु गरे । त्यतिबेला भेरी अस्पतालका मेसु डा. अरुण कोइराला थिए ।
वि.सं. २०५६ सालमा ६ महिना करारमा काम गरे लगत्तै आन्तरिक परीक्षाबाट अस्थायी नियुक्ति लिएर ८ वर्ष बिताए । ८ वर्षपछि स्थायी भएका निर्माणले भेरी बाटै २४ वर्षदेखि अनवरत दाँतको सेवा दिइरहेका छन् । उनी हालै नवौंतहमा बढुवा भएका छन् । तत्कालीन मध्य र सुदूरपश्चिमका हजारौं नागरिकलाई उनले दाँतको सेवा दिएका छन् । बाँके र बर्दियाका अधिकांश गाउँहरुमा उनले दाँतको शिविर चलाएका छन् । उनले गणतन्त्र आइसकेपछि पनि निरन्तर प्रजातन्त्र दिवसका अवसरमा कुनै न कुनै ग्रामीण बस्तीमा नि–शुल्क दाँतको शिविर राख्दै आएका छन् । कोरोनाको कारणले २ वर्ष नराखेको शिविर उनले पुनः निरन्तरता दिन थालेका छन् ।
डा. निर्माणलाई अन्य विषयमा एमडी गर्ने, इन्जिनियर वा डिग्री हासिल गर्नमा कुनै कमी थिएन । तर, उनले नेपालगन्जमा सानै उमेरमा गुट्खा, पान र सुर्तीखाएर दाँत ध्वस्त बनाएका धेरैं साथीहरुको संगत गरेका कारण उनलाई डेन्टिस्ट बन्न मन लाग्यो । तराईमा सानै उमेरमा प्रयोग हुने गुट्खा, पान र सुर्तीका कारण अधिकांश नागरिक दाँतको समस्यामा पर्ने गर्दछन् । निर्माणले पान र गुट्खाले दाँत बिग्रेका धेरैको समस्या नजिकैबाट देखेका थिए । उनलाई उच्च शिक्षामा अध्ययन गरिरहेकै बेला दाँतको डाक्टर बन्न मन लाग्यो र उनले दाँतकै विषयमा विज्ञता हासिल गरे । डाक्टर निर्माण दुईवटा कारणले आफू डेन्टिस्ट भएको बताउँछन् ।
पहिलो, उनले पढ्ने बेला नजिकै मेडिकल कलेजको ब्यवस्था नभएकाले बुवाआमाले उनलाई मेडिकल साइन्स पढाउन टाढा पठाउन नचाहेकाले अन्य विषयमा अध्ययन गर्न पाएनन् । दोस्रो, उनी आफंैलाई दाँतको उपचारमा रुची भएकाले अन्य विषय पढ्न मन लागेन । घरको कान्छो छोरा भएकाले लामो समय बाहिर पढ्न नपठाउने अभिभावकको मनोभावनाकै कारण आफू डेन्टिस्ट भएको उनले बताए । उनी खेलाडी पनि हुन् । लङटेनिसका बाँके जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य पनि हुन् ।