जुम्लाः प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताएका छन् । प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै बुधबार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थाल्नु खुसीको कुरा रहेको बताए ।
उनले भने -‘राकम कर्णालीमा सय शय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ ।’ प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक थप सेवासुविधामा उपलब्ध सरकार प्रतिबद्ध रहेको बताए । प्रतिष्ठानको परिकल्पनादेखि नै आफू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेको उनको भनाइ थियो ।
‘अभिभावकको लगानी, आशा र विश्वासका साथै तपाईंहरूको मेहनत र लगावका कारण आज यो सफलता हासिल भएको छ । दीक्षित विद्यार्थीहरूलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्नुहने मैले विश्वास लिएको छु । यस सफलतालाई दूरदराजका जनताको गुणस्तरीय स्वास्थ्य सेवा दिन लाग्नुहोस्’-उनले भने ।
दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीको आग्रह थियो,-‘म खुसी व्यक्त गर्न चाहन्छु, कर्णाली अगाडि बढ्दैछ । कर्णाली र सुदूरपश्चिमका गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।’
संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्राडा क्रिस्टिन मसेङ्गर प्रमुख अतिथि रहेको समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन पूरा गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए । समारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झालगायत सहभागी थिए ।