मिर्गौलामा समस्या आएपछि त्यसको कारण खोज्न चिकित्सकहरुले प्राय अल्ट्रासाउन्ड गराउन बिरामीलाई सुझाउँछन् । अल्ट्रासाउन्डबाट पनि रोगको पहिचान हुन नसके सीटी स्क्यान वा एम.आर.आई समेत गर्नु पर्ने अवस्था आउन सक्छ । मिर्गौलामा समस्या आउनुका विभिन्न कारणहरु हुन सक्छन् । र, रोग पनि विभिन्न हुन सक्छन् । कुनै–कुनै बिरामीमा मिर्गौलामा पानीका फोकाफाकी देखिन सक्छन् । मिर्गौलामा फोकाफोकी देखिने वंशाणुगत रोग हो पोलिसिस्टिक किड्नी डिजिज (पीकेडी) । मिर्गौलाको दीर्घरोगको पछाडिको चौथो मुख्य कारण मध्ये पीकेडी पर्छ ।
प्रभाव
–वंशाणुगत पीकेडीमा दुईवटै मिर्गौलामा सिस्ट (पानीले भरिएका फोका) देखिन्छ ।
–पीकेडीमा फोकाको आकार फरक जस्तै (एउटा थोप्लो देखि १० सेन्टिमिटर वा त्यो भन्दा बढी व्याससम्म ) हुन्छ ।
–समयसँगै फोकाको आकार बढ्छ र बिस्तारै यसले मिर्गौलाका स्वस्थ तन्तुहरूलाई क्षति पुर्याउँछ ।
–यस्तो क्षतिले रक्तचाप बृद्धि गर्नुका साथै पिसाबमा प्रोटिन बढाउँछ । जसले गर्दा मिर्गौलाको कार्यक्षमता कम गराई दीर्घरोग निम्त्याउँछ ।
–लामो अवधिमा मृगौलाले काम गर्न छोड्छ र अन्तिम चरणमा पुगी डायलाइसिस वा प्रत्यारोपण अत्यावश्यक हुन जान्छ ।
लक्षणहरु
यो वंशाणुगत रोग भएकाले धेरै मानिसहरूमा तत्काल कुनै पनि लक्षण नदेखिन सक्छ । तर मानिसहरुको उमेर ३० वर्ष पार गर्न थाल्यो भने यसका प्रारम्भिक लक्षणहरु देखिन थाल्छन् । जस्तैः
–रक्तचाप हुनु ।
–ढाड दुखाइ, कम्मर भन्दा माथिको भाग दुखाइ तथा पेट सुन्निनु ।
–पेट भित्र ठूलो वस्तु भएजस्तो अनुभव हुनु ।
–पिसाबमा रगत वा प्रोटिन देखिनु ।
–मूत्रनली संक्रमण र मिर्गौलामा पत्थरी ।
–मिर्गौलाको दीर्घरोगका लक्ष्यणहरु देखा पर्नु ।
–मष्तिस्क, कलेजो, आन्द्रामा जस्तै शरीरका अन्य भागमा फोका आउनु ।
पहिचान
–मिर्गौलाको अल्ट्रासाउन्ड
–सीटी स्क्यान वा एम.आर.आई
–पारिवारिक जाँच (वंशाणुगत रोग हुनाले)
रोकथाम
पीकेडीमा फोका उठ्न नदिन वा कम गर्न खासै कुनै उपचार छैन । जीवनशैली र खानपिनमा अनुशासन अपनाउनुनै यो रागको उपचार हो । यो वंशाणुगत रोग भएकाले बाबु वा आमालाई छ भने छोराछोरीमा सर्ने सम्भावना ५० प्रतिशत हुन्छ । त्यसैले परिवारका सदस्यहरुले यसको अनिवार्य परीक्षण गर्न आवश्यक छ ।
(लाइफलाइन हस्पिटल नेपालगञ्जमा कार्यरत डा.श्रेष्ठ मिर्गौला रोग विशेषज्ञ हुन् )