नेपालगन्जमा डेंगी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न बायोपेस्टिसाइड छर्किन सुरु

    • स्वास्थ्य पेज

  • २७ कार्तिक २०८१, मंगलवार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न बायोपेस्टिसाइड छर्किन सुरु गरेको छ । समुदायस्तरमा डेंगी महामारीका रुपमा फैलिएपछि त्यसको नियन्त्रणका लागि नगरका २३ वटै वडामा लामखुट्टेनाशक जैविक विषादी छर्किन सुरु गरिएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । नगर प्रहरीलाई सबै वडाका पानी जम्ने स्थानहरुमा बायोपेस्टिसाइड छर्किने गरी परिचालन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । त्यसका लागि नगर प्रहरीलाई अभिमुखीकरण गरिएको छ ।

त्यसक्रममा नगर प्रमुख विष्टले प्रभावकारी ढंगले काम गर्न नगर प्रहरीलाई निर्देशन दिए । नगर प्रहरी युनिटमा नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा ४२ जना छन् । नेपालगन्ज उपमहानगरपालिकाले निरन्तररुपमा डेंगी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ । सचेतना प्रबद्र्धनका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन भइरहेको जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताए ।

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले डेंगी नियन्त्रणका लागि लार्भा नष्ट गर्ने कार्यलाई नेपालगन्ज उपमहानगरपालिकाले अभियानकै रुपमा अगाडि बढाएको बताए । विश्व स्वास्थ्य संगठनले परीक्षण गरी प्रयोग अनुमति दिएको तथा नेपाल सरकारबाट समेत अनुमति प्राप्त ब्याक्टो पावर बिटिआई वातावरणमैत्री र जैविक साथै हानिकारक विषादीमुक्त जैविक कीटनाशक औषधि हो । यसले लामखुट्टेको प्रजनन तथा विस्तारलाई रोक्दछ । ब्याक्टो पावर बिटिआईले मानव स्वास्थ्य र जीवजन्तुमा नकारात्मक असर नगर्ने जनस्वास्थ्य निरीक्षक रिमालले बताए ।

  • २७ कार्तिक २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech