गर्भावस्थाको तेस्रो महिना पुग्यो ? यदि त्यसको नजिक हुनहुन्छ भने यो महिनामा के के परिवर्तन हुन्छ ? कस्तो सावधानी अपनाउने ? जान्नु आवश्यक छ ।
गर्भावस्थाको नौ महिनालाई तीन भागमा विभाजन गरिएको छ । पहिलो तीन महिनालाई पहिलो त्रैमासिक, त्यसपछिको तीन महिनालाई दोस्रो त्रैमासिक र अन्तिम तीन महिनालाई तेस्रो त्रैमासिक भनिन्छ ।
पहिलो तेस्रो महिनासम्म पुग्नु भनेको पहिलो त्रैमासिकको अन्त्यसम्म पुग्नु हो । यो महिनामा पुग्दा महिलामा केही लक्षण पहिलाकै बसिरहेको हुन्छ र केही नयाँ लक्षण थपिन्छन् । यो समयमा वाकवाक हुने समस्या कम हुँदै गएको पनि हुनसक्छ ।
यति बेला भ्रूण पनि पहिलेको भन्दा परिपक्व र तीव्र रूपमा विकास भइरहेको हुन्छ ।
के कस्ता लक्षण देखिन्छ ?
योनीस्राव (भजाइनल डिस्चार्ज) – शरीरमा बढ्दो रगतको आपूर्ति र हर्मोनल परिवर्तनले योनीस्राव गराउन सक्छ । जुन हेर्दा सेतो र गन्धहीन हुन्छ । यस्तो समस्या भए सुतीको पेन्टी लगाउनुपर्छ ।
बिहान वाकवाक लाग्ने – गर्भावस्थाको तेस्रो महिनामा पनि केही महिलालाई बिहानीपख वाकवाकी लाग्न सक्छ ।
थकान – हर्मोनल परिवर्तनका कारण शरीरमा थकान महसुस हुनसक्छ । त्यसैले यो समय सामान्य अवस्थाको भन्दा बढी आराम चाहिन्छ ।
बारम्बार पिसाब लाग्नु – बढ्न थालेको पाठेघरले पिसाबथैलीमा दबाब दिन्छ । जसकारण पिसाब लागिरहेको अनुभव हुन्छ ।
मुड परिवर्तन – हर्मोनल उतारचढावले मुड परिवर्तन, चिडचिडापन हुनसक्छ ।
खानाको लालसा र घृणा – यो महिनामा पनि गर्भवती महिलाले केही खानेकुराहरूको तीव्र लालसा हुनसक्छ । कसैलाई भने पहिले मनपर्ने खानेकुराप्रति घृणा अनुभव गर्न सक्छन् ।
कब्जियत – हर्मोनल परिवर्तन र बढ्दो पाठेघरको दबाबले पाचनलाई क्षमता सुस्त गराउँछ । जसले कब्जियत गराउँछ ।
हरेक महिलाको गर्भावस्थाको अनुभव फरक हुनसक्छ । केही महिलाले तेस्रो महिनामा गर्भावस्थाका लक्षण अनुभव नगर्न सक्छन् ।
यदि गर्भावस्थाको बारेमा चिन्तित वा गम्भीर लक्षणहरू देखिएको अनुभव हुन्छ भने चिकित्सकलाई भन्न हिच्किचाउनु हुँदैन ।
आमामा देखिने शारीरिक परिवर्तन
– यो समयमा स्तनको छाला गाढा हुन थाल्छ । किनकि तीन महिनाको अवधिमा मेलानिन हर्मोन बढ्छ । पेटमा पनि स्ट्रेच मार्क गाढा रङ देख्न सकिन्छ । यसको मतलब पेटको आकार बढ्दै छ भन्ने हो ।
– तीन महिनामा स्तनको आकारमा पनि वृद्धि हुन थाल्छ । स्तनको टुप्पो (निप्पल) गाढा हुँदै बाहिर आउँछ । स्तनमा दूध उत्पादन हुन सुरु हुन्छ ।
– गर्भाशयको आकार र शरीरकै वजन बढ्न थाल्छ । तर मर्निङ सिकनेस भएको महिलाको तौल कम पनि हुनसक्छ ।
बच्चाको अवस्था कस्तो हुन्छ ?
अंगहरू बन्ने : तेस्रो महिनाको अन्त्यसम्ममा मुटु, फोक्सो, कलेजो, मिर्गौला र पाचन प्रणाली लगायतका मुख्य अंगहरू र शरीरका प्रणालीहरू बन्छन् ।
खुट्टाको विकास : बच्चाको खुट्टा बढ्दै र लम्बिने क्रम जारी रहन्छ । औंला र नङहरू बन्न थाल्छन् ।
अनुहार : बच्चाको अनुहारका अंगले रुप रेखा लिन्छन् ।
प्रजनन अंग : तेस्रो महिनाको अन्त्यमा बच्चाको प्रजनन अंग बन्न थाल्छ । जसकारण यो अवधिसम्म अल्ट्रासाउन्ड मार्फत लिङ्ग पहिचान गर्न सकिन्छ ।
मांसपेशी विकास : मांसपेशीहरुको विकास र हलचल यो महिनाबाट सुरु हुन्छ । तर आमाले महसुस गर्न भने अझै केही महिना कुर्नुपर्छ ।
स्नायु प्रणालीको विकास : बच्चाको मस्तिष्क द्रुत गतिमा विकास हुन थाल्छ ।
यो क्रममा बच्चा दुई इन्च लामो हुन्छ ।
तेस्रो महिनामा कस्तो खानपान ?
गर्भावस्थाको तेस्रो महिनामा फलफूल, हरियो सागपात, ड्राइफ्रुट, सम्पूर्ण अन्न, प्रोटिन, डेरी उत्पादन, माछा मासु खान सकिन्छ । यी सबै खानेकुरा कति खाने ? भन्ने कुरा चिकित्सकले सुझाउँछन् ।
खानेकुरा भने दिनको चारदेखि पाँच पटक मात्रा मिलाएर खानुपर्छ । बजारीया खानेकुरा र पेय सकेसम्म खानु हुँदैन । जबर्जस्ती टन्न र एकदमै कम पनि खानु हुँदैन । त्यस्तै, चिकित्सकले खान दिएको फोलिक एसिड अनिवार्य खानैपर्छ ।
स्वास्थ्य परीक्षणमा के गराउने ?
तेस्रो महिनामा केही स्वास्थ्य परीक्षण चिकित्सकले सुझाउन सक्छन् ।
– हेमोग्लोबिन, ब्लड सुगर, हेपाटाइटिस बी, एचआईभी र थाइराइड परीक्षण हुनसक्छ ।
– महिलाको स्वास्थ्य अवस्थाको आधारमा जेनेटिक्स टेस्ट हुनसक्छ । जसबाट बच्चामा के कस्तो जटिलता छ कि भनेर हेरिन्छ ।
– चिकित्सकले स्क्रिन टेस्टको फाइदा र जोखिमबारे परामर्श दिन्छन् । जसमा न्युकल ट्रान्स्ल्यसुसेन्सी टेस्ट, सेल फ्री डीएनए टेस्ट, कोरियोनिक भिलस स्याम्पलिङ पर्छन् ।
– यो समय शिशुको धड्कन पनि सुन्न सकिन्छ ।
– शरीर सुन्निएको छ भने वाटर रिटेन्सन टेस्ट गराउनुपर्ने हुनसक्छ ।
– यो बेला कस्तो व्यायाम गर्ने भन्ने सल्लाह लिन सकिन्छ ।
– यो समयमा बच्चाले पनि सुन्न सक्ने हुँदा सङ्गीत बजाउन र मिलेर सुन्न सकिन्छ । भनिन्छ, यसले सन्तानमा सकारात्मक उर्जा प्रदान गर्छ ।
सावधानी
– बोलाएको बेलामा चिकित्सकलाई भेट्ने ।
– काँचो र दूषित खानेकुरा नखाने ।
– सरसफाइमा ध्यान दिने ।
– दैनिक पर्याप्त मात्रामा झोलिलो खानेकुरा र पानी पिउने ।
– मध्यम खालको व्यायाम गर्ने ।
– पर्याप्त आराम लिने र रातमा ८ घण्टा सुत्ने ।
– धुम्रपान, रक्सी र लागूपदार्थबाट टाढा रहने ।
– तनाव कम गर्ने वा सो व्यवस्थापन गर्ने तरिका खोज्ने ।
– विषाक्त पदार्थ जस्तै रसायनहरू, प्रदूषक तत्वबाट बच्ने र जथाभावी औषधि नखाने ।
– लामो दूरीको यात्रा नगर्ने ।
– मोटरबाइकमा सडक अवरुद्ध भएको ठाँउमा यात्रा गर्नु हुँदैन ।
– गर्भावस्थाको दौरान महिलाले स्वास्थ्यको निकै ख्याल राख्नुपर्छ ।
स्वस्थ आहार, तनावरहित वातावरणमा रहने, सकारात्मक सोच राख्ने र हल्का खालका शारीरिक व्यायाम पनि गर्नुपर्छ । यसबाहेक छुटाउन नहुने भनेको स्वास्थ्य परीक्षण पनि हो ।