नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्रा.डा. मरहठ्ठा नियुक्त

    • स्वास्थ्य पेज

  • २३ कार्तिक २०८१, शुक्रबार

काठमाडौंः नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन्। काठमाडौं विश्वविद्यालयले प्रा.डा.मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो । विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेएका डा. मरहठ्ठालाई शुक्रबार कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराएका थिए ।

कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्रा.डा.अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा. मरह्ठाले महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गरे। पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्रा.डा. मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझाब अनुसार अगाडी बढ्ने बताए ।

कलेजका अस्पताल निर्देशकका रुपमा रहेर काम गर्दा हासिल गरेको अनुभव र सिकाईलाई प्रिन्सिपलको भूमिकामा काम गर्दा उपयोग गर्दै अधिकतम कलेजको हित र श्रीवृद्धिका लागि आफू लागिपर्ने उनको प्रतिबद्धता छ । त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसकेका डा. मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत भएर सफलतापूर्वक कार्य गरेको अनुभव छ ।

कलेज व्यवस्थापनले प्रिन्सिपल पदका लागि तीन जनाको नाम विश्वविद्यालयलाई सिफारिस गरेकोमा विश्वविद्यालयले प्रा.डा. मरहठ्ठालाई प्रिन्सिपल नियुक्त गरेको हो । काठमाडौं विश्वविद्यालय अन्तरगतका कलेजहरुमा विश्वविद्यालयले नै प्रिन्सिपल नियुक्त गर्ने प्रावधान छ । यसअघि प्रा.डा.प्रमोदकुमार क्षेत्रीले ६ वर्ष कलेजको प्रिन्सिपलको भूमिकामा थिए । पारिवारिक कारणले उनले राजिनामा दिएपछि नयाँ प्रिन्सिपल नियुक्त गरिएको हो ।

  • २३ कार्तिक २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech