नेपालगन्ज: बाँकेको खजुरामा झाडाबान्ताबाट एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडाबान्ता हुँदा एक जनाको मृत्यु भएको हो ।
गएराती ८ बजेतिर पुरी र तरकारी खाएका केशवराम अहिरका परिवार विरामी परेका हुन् । झाडाबान्ताले ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको छ । अहिरको अटोरिक्सामा राखेर स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।
५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जिना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव विरामी परेका छन् । विरामी सबैको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ ।
मृतकसहित गम्भीर विरामी भएका सबैलाई ‘फुडप्वाइजन’ भएको आशंका गरिएको छ । घटनाबारे बुझ्न स्वास्थ्य कार्यालयको टोली त्यसतर्फ गएको छ ।