सुशील कोइराला प्रखर क्यान्सर अस्पताल: बिरामीका लागि बरदान, सरकारको सधै उपेक्षामा

    • प्रियास्मृति ढकाल

  • १९ कार्तिक २०८१, सोमबार

मुठी दान गरेर संघीय अस्पतालका रूपमा स्थापना भएको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका क्यान्सर प्रभावित बिरामीका लागि बरदान जस्तै बनेको छ । यो लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै एक मात्र क्यान्सर अस्पताल हो । विशेषज्ञ चिकित्सक सहितको गुणस्तरीय सेवा दिइरहेको यस अस्पतालले क्यान्सर सम्बन्धि उपचारका लागि उपचारात्मक र निदानात्मक सेवा सञ्चालन गरिरहेको छ ।

वि.सं. २०६५ माघमा धनधान्याञ्चल महायज्ञ सञ्चालन गरेर जनस्तरबाट यो अस्पतालको आधारशीला खडा गरिएको थियो । वि.सं. २०७३ साल फागुनमा स्थापना भयो । २०७४ असारदेखि यसले ओपिडी सेवा सुरु गरेको थियो । २०७७ मंसिरमा अपरेशन थियटर र २०७९ माघमा आइसियु सेवा आरम्भ गरिएको थियो । यस अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक–कान–घाँटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाब थैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

बाल क्यान्सरको उपचार सेवा पनि यो अस्पतालले दिइरहेको छ । क्यान्सरका सम्भावित विरामीहरुको गन्तब्य अस्पताल र रेफरल सेन्टरका रुपमा समेत शुशील कोइराला क्यान्सर अस्पताल विकास भएको छ । केमोथेरापी, शल्य चिकित्सा, पाठेघरको भित्री सेकाई लगायतका सेवाहरु निरन्तर संचालनमा रहेको अस्पतालका कार्यकारी निर्देशक डा.प्रकाश प्रसाद साहले जानकारी दिए । सुरुवाती चरणमा सीमित सेवाबाट सुरु गरिएको अस्पताल अहिले विस्तारित अवस्थामा प्रवेश गर्ने क्रममा छ । पश्चिम नेपालकै एक मात्र पोजेटिभ प्रेसर आइसीयु, चौबिसै घण्टा सञ्चालनमा रहने अत्याधुनिक ल्याब तथा एक्सरे सेवा सहितको सेवा अस्पतालबाट प्रवाह भइरहेको छ ।

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

सिटी स्क्यान, मेमोग्राफी जस्ता केही अत्यावश्यक उपकरणहरु बन्द हुँदा बिरामीलाई केही समस्या परेको छ । तर, ती समस्या तत्काल सम्वोधनको अवस्थामा छन् । गत चैत १८ गते अस्पतालको रेडियोलोजी भवनमा आगलागी हुँदा सिटी स्क्यान र मेमोग्राफीको वायरिङ जलेर नष्ट हुनुका साथै अन्य विद्युतीय उपकरणमा ठूलो क्षति भएको थियो । आगलागीबाट भिडियो एक्स–रे र एक्स–रे मेसिनमा समेत क्षति पुगेको थियो । मर्मत सम्भार गरेर भिडियो एक्स–रे र एक्स–रे सञ्चालनमा आए पनि विद्युतीय उपकरण जडानमा समय लागेकाले सिटी स्क्यान र मेमोग्राफी सेवा भने नियमित गराउन केही समय लाग्ने देखिएको छ ।

विद्युतीय उपकरण खरिदका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रक्रिया पूरा गर्न समय लागेको अस्पतालका कार्यकारी निर्देशक डा.साह बताउँछन् । ‘टिप्पणी उठाउने, निर्णय गर्ने, टेण्डर खोल्ने र सम्झौता प्रक्रिया पूरा गर्दा नै चार महिना लाग्यो’ उनले थपे । सबै प्रक्रिया पूरा गरेर अहिले अस्पताल प्रशासनले बिरामी जाँच्ने उपकरणहरू पुनः सञ्चालनका लागि ब्याट्री, युपिएस लगायतका आवश्यक विद्युतीय उपकरण खरिद गरेर आइसकेको र जडान कार्य भइरहेकाले सिटी स्क्यान र मेमोग्राफी चाँडे सञ्चालनमा आउने उनको विश्वास छ ।

२०७३ सालमा स्थानीयवासीबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरे पनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल सञ्चालन हुँदै आएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल बताउँछन् । बिरामीको चाप र आवश्यकताका आधारमा अस्पताललाई ७० बेडबाट १०० बेड बनाउनुपर्ने, अस्पतालको वार्डहरू सञ्चालन गर्न थप भवन तथा चिकित्सक र कर्मचारीको आवासका लागि अर्को भवन अति आवश्यक रहेको उनी बताउँछन् ।

अस्पताललाई आवश्यक पर्ने जनशक्तिको दरबन्दी स्वीकृतिका लागि २०७२ सालदेखि नै लगातार अस्पताल प्रशासनले माग गर्दै आए पनि मन्त्रालयले बेवास्ता गर्दै आएको उनको भनाई छ । स्वास्थ्य मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्न आएका प्रदीप पौडेलले अस्पतालको सेवा प्रवाहको अवस्थाबारे जानकारी पनि लिइसकेका छन् । अस्पताल विकास समितिले क्यान्सर अस्पतालको सम्भावना, समस्या र समाधानका उपायबारे मन्त्री पौडेलको ध्यानाकर्षण पनि गराइसकेको छ ।

‘स्वास्थ्य क्षेत्र सुधारको हुटहुटी मन्त्रीज्यूमा देखिएकाले यो पटक हाम्रा मागहरुको सम्वोधन हुने आशा पलाएको छ,’ अस्पताल विकास समितिका अध्यक्ष मल्ल भन्छन्–‘यस क्षेत्रका लाखौं बिरामीहरुको आस्था र विश्वासको धरोहरका रुपमा रहेको क्यान्सर अस्पताललाई केन्द्रीय सरकारको सहयोग महत्वपूर्ण छ ।’

  • १९ कार्तिक २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech