तिहारमा प्रयोग गरिने भाइमसलाका के छन् फाइदा ?

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८१, आईतवार

यमपञ्चकको पाँचौं दिन आज भाइटीका । आजका दिन आफ्नो दाजुभाइलाई टीका लगाएपछि दिदीबहिनीले बाह्र मसलाको मिश्रण दिन्छन् । भाइटिकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टिका लगाइसकेपछि भाइमसला उपहार स्वरुप दिने चलन छ ।

खासगरी काजु, किसमिस, बदाम, पेस्ता, नरिवल, छोकडा, ल्वाङ, सुकुमेल, सुपारी, मखना लगायत मसलाहरु भाइमसलाका रुपमा प्रयोग गरिन्छन् । दाजुभाइलाई दिइने यस्ता मसलाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छन् । खाँदा पनि निकै स्वादिष्ट हुने यस्ता मसलाहरुको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा निकै सहयोग पुग्छ ।

साथै रोगनिरोधक क्षमता बढ्छ । यी मसाला खाएर दाजुभाइमा रोगप्रतिरोधात्मक क्षमता बढोस् र उनीहरू बलियो होउन् भन्ने कामनाका साथ भाइमसला दिइने प्रचलन रहेको छ ।

विभिन्न प्रकारका यी मसलाहरुको प्रयोगले हाम्रो स्वास्थ्यमा के कस्ता फाइदा पुर्याउँछन् त ?

ओखर 

भाईमसलामा प्रयोग गरिने मसाला भित्र ओखर पर्दछ । ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । त्यसो त ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ । यसमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन मद्धत मिल्दछ । यसमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ । साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट समेत जोगाउँछ ।

बदाम

बदाम प्रोटिनको श्रोत मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ। जुनसुकै मौसममा बदाम खान सकिन्छ।शरीरको वृद्धि विकासका लागि प्रोटिन नभइ नहुने तत्व हो। बदाममा फाइबर, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्स प्रचुर मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । नियमित रूपमा बदाम सेवनले सुख्खा छालालाई नरम बनाउन निकै सहयोग गर्छ । यसको सेवनले स्मरण शक्ति तेज राख्न, तौल नियन्त्रण गर्न, मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

काजु 

ड्राइ फ्रुट्स मध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ। यसलाई ड्राइ फ्रुट्सको राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो । काजु खाँदा हुने फाइदा अनेकौँ छन्। काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ।

काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो। दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र म्याग्नेसियमको कमी हुँदैन। काजु खाँदा हड्डी बलियो हुन्छ, शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा रहन्छ । जो मानिसले दैनिक सीमित मात्रामा काजु खान्छ, उनीहरुको पाचन क्रिया राम्रो हुन्छ।

काजु खाँदा फाइबर हुन्छ, जसले ग्यास र कब्जियतको समस्या पनि हटाउँछ। यसको सेवनले तौल नियन्त्रणमा पनि मद्दत पुग्छ।

पिस्ता

पिस्ता उच्च फाइबर र प्रोटिनको भण्डार हो । यसले वजन व्यवस्थापन गर्नमा ठूलो भूमिका खेल्छ । पिस्तामा हुने एन्टिअक्सिडेन्टहरू लुटेन र जेक्सान्थिनले आँखालाई स्वास्थ्य राख्न सहयोग गर्छ । यो ड्राइफ्रुट्समध्ये सबैभन्दा कम क्यालोरी दिने तर पोषण दिने खानेकुरा हो ।

किसमिस

किसमिस पनि भाइमसलामा प्रयोग गरिन्छ । अंगुर सुकाएर बनाइने किसमिस निकै फाइदाजनक मानिन्छ। क्याल्सियम, फाइबर र आइरनको स्रोत मानिने किसमिसले रक्तअल्पता तथा कब्जियत हटाउन मद्दत पुर्‍याउँछ।

नरिवल 

नरिवलमा भिटामिन ए, बी, सीका साथै क्याल्सियम, प्रोटिन लगायत पाइन्छ। भाइमसलामा नरिवलको प्रयोग अनिवार्य जस्तै छ । नरिवल स्वास्थयका दृष्टिले अत्ति उपयोगी फल हो। खाना नपच्ने, पिसापसम्बन्धी रोग, रक्त विकारलगायत समस्याका लागि यो उपयुक्त मानिन्छ।

छोकडा

छोकडाको सेवनले शरीरमा धेरै फाइदा हुन्छ । यसको नियमित सेवनले पेट सम्बन्धी समस्याहरु कम हुन्छ । त्यस्तै खोकी लाग्दा पनि यसलाई हल्का पोलेर सेवन गर्नाले खोकी निको हुन्छ । छोकडामा आइरन, मिनरल, क्याल्सियम, फस्फोरस लगायत तत्वहरु प्रचुर मात्रामा पाइन्छ । छोकडाको प्रयोगले स्वास्थ्य तथा सुन्दर बन्न सहयोग पुग्छ ।

मखना
मखनाको सेवनले शरीरमा धेरै फाइदाहरु हुन्छन् । मखना सेवन गर्नाले तनाव कम हुन्छ साथै राम्रो निद्रा पनि लाग्छ । राति सुत्नु अगाडि मखनालाई दुधसँग सेवन गर्नाले निद्रा नलाग्ने समस्या कम हुन्छ ।

(भाईटिकाको सबैमा शुभकामना)

 

 

 

 

  • १८ कार्तिक २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech