पटाका पड्काउँदा स्वास्थ्यमा गम्भीर खतरा, सचेत रहन चिकित्सकहरुको सुझाव

    • स्वास्थ्य पेज

  • १७ कार्तिक २०८१, शनिबार

काठमाडौं : हिन्दु नेपालीहरुले दशैं पछि मनाउने सबैभन्दा ठुलो चाड हो तिहार । यो पर्वमा चारैतिर झिलीमिली बत्ति बाल्ने, देउसी–भैलो खेल्ने र खासगरी तराईका जिल्लामा पटाका पड्काएर मनाउने चलन छ। धेरैजसो जिल्लामा प्रशासनले पटाका पड्काउन निषेध गरेको भएपनि पटाका पड्कने क्रम भने रोकिएको देखिदैन ।

रमाइलोका लागि पड्काइने यी पटाका खासगरी स्वास्थ्यका दृष्टिकोणले सही मानिदैन । तिहारको बेलामा पड्काइने पटाका , झिरझिरे, भुइँचम्पा जस्ता आतिसबाजी गर्दा स्वास्थ्यलाई गम्भीर असर पुर्याउने चिकित्सकहरु बताउँछन् । पटाका पड्काउँदा त्यसबाट निस्कने हानिकारक रसायन र ठूलो आवाजले आँखा, कानसहित विभिन्न स्वास्थ्य समस्या हुन सक्छ ।

पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवनमा दीर्घकालीन हुने गर्दछ। मानिस र प्रकृतिका लागि आवश्यक स्वच्छ हावाको गुणस्तर खस्काउने मात्र नभई मानिसको जिउधनमा नै क्षति पुर्‍याउने खालका हानिकारक रसायन पटाकाजन्य पदार्थमा हुन्छ। एकछिनको रमाइलोमा प्रयोग हुने रसायनले वातावरण क्षयीकरणसँगै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी क्यान्सरजन्य रोगको प्रभाव बढाइरहेको हुन्छ ।

पटाका पड्काउँदा निस्कने ठूलो आवाजका कारण कान नसुन्ने, केमिकलका कारण आँखामा समस्या हुने, निमोनिया, श्वासप्रश्वासमा समस्या, मुटुमा र फोक्सोमा समस्या हुने र छालामा एलर्जी समेत हुने गर्छ । पटाकामा विष्फोटको स्वरले मात्र नभएर यसबाट निस्किने विभिन्न विषाक्त ग्यास, रसायन, प्रदूषण र सूक्ष्म कणहरूले मुटुको रक्तनलीमा अवरोध भएका वा हृदयघात भएकाहरूमा अचानक समस्या उत्पन्न हुन सक्छ ।

मानव स्वास्थ्यका लागि हानिकारक रसायन हावाको माध्यमबाट मानव शरीरको सम्पर्कमा आएपछि त्यसले क्यान्सरलगायतका रोगको घर बढाउने गर्छ। छालाको क्यान्सर, स्वासप्रश्वासको क्यान्सर, घाँटीलगायतका क्यान्सर गराउँछ । विभिन्न अध्ययनले दमका रोगीलाई त पटाकाको धुवाँ विष नै हो भन्ने पुष्टि भएको छ । आँखा पाक्ने रोगको प्रकोप पनि पटाकायुक्त वायुले बढाउँछ।

पटाकामा भएको रसायनले आँखाको कालो र सेतो दुवै भागलाई नकारात्मक असर गर्छ। पटाका जस्तै बम र रकेट पड्केर आँखा फुटेको कारण आँखाबाट रगत र आँखाको भित्री भाग समेत बाहिर निस्कने गर्छ। पटाकाले गर्दा आँखामा जटिल चोट लाग्ने र सधैंको लागि आँखा बिग्रिने सम्भावना भएकोले यसबाट बच्चादेखि युवासम्मले आफूलाई बचाउनु नै उत्तम विकल्प भएको भिजन आँखा अस्पताल नेपालगन्जका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.प्रचण्ड गौतम बताउँनुहुन्छ ।

  • १७ कार्तिक २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech